पाल्पामा पनि पैचोको कारोवार सुरू

0 200

कृष्ण पोखरेल,पाल्पा

सदमुकाम तानसेनमा पनि पैचो पसल प्रा. लि.ले कारोवार सुरु गरेको छ । गुल्मीको वलेटक्सारमा मुख्य कार्यालय रहेकोे पैचो पसलले सोमवार एक औपचारिक कार्यक्रमका बीच नवौं शाखाको रुपमा तानसेनमा कारोवार सुरु गरेको हो । तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहीले रिवन काटेर पैचोको शाखा शुभारम्भ गरे ।

कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष, नेपाल पत्रकार महासंघका पदाधिकारी, विभिन्न सरकराी एवं गैरसरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुले पहाडका किसानको उत्पादनलाई केन्द्रमा राखेर खोलिएको पैचो पसलको अभियान सफल बन्ने विश्वास व्यक्त गरेका थिए ।
तानसेनमा खोलीएको पैचो पसलमा पैचोका आफ्नै उत्पादनहरुसंगै स्वदेश तथा बिदेशमा उत्पादित गुणस्तरीय दैनिक उपभोग्य सामाग्री, रेडिमेड, कपडा, गिफ्ट तथा श्रृङ्गारका सामान, जुत्ता चप्पल, स्टेसनरी र पहाड तथा उच्च पहाडका फलफुल तरकारी उपलब्ध रहेका छन् । पैचो पसलले शहरमा बसोबास गर्दै आएका उपभोक्ताहरु लाई गाउँघरको उत्पादन खुवाउदै आएको छ ।

बसे पनि शहर गाँउकै खाने रहर’ भन्ने मुल मन्त्रलाई आत्मासाथ गर्दै अढाई वर्ष पहिले गुल्मीको बलेटक्सार गाउँबाट सुरु गरिएको पैचो पसल आफ्ना खाद्य उत्पादनसहित राजधानी काठमाडौं, पोखरा, नेपालगन्ज, धनगढी, महेन्द्रनगर, नारायणगढ, हेटौंडा, भैरहवा—बुटवलमा यसअघि नै पुगिसकेको छ ।

राष्ट्यि युवा प्रतिभा पुरस्कार विजेता पैचो पसलले विगत डेढ वर्षदेखि गुल्मीको रिडीमा पैचो प्रशोधन उद्योग स्थापना गरेर स्थानीय उत्पादनलाई प्रशोधन गर्दै आएको छ  । स्थापनाकालदेखि नै हाते प्रविधि प्रयोग गरेर अचार, चुक, दाल लगायतका खाद्य वस्तुको परीक्षण उत्पादन गरी बुटवलमा बिक्रि गर्दै आएको पैचो पसलले गत बैशाखदेखि अत्याधुनिक प्रशोधन कारखानामार्फत २७ प्रकारका खाद्य वस्तु उत्पादन गर्दैआएको छ ।

पैचो पसलले हाल  पैचो अचार, पैचो टोमेटो केचअप, पैचो भेनेगर, पैचो सोया सस, पैचो जाम, विभिन्न प्रकारका जुसहरु, पैचो होल कर्न कर्नल, पैचो फापरको पिठो, पैचो कोदोको पिठो, परम्परामा सीमित सिन्की मस्यौरा जस्ता उत्पादनहरु आफै उत्पादन गरी बजारमा ल्याएको छ । यस्तै, जुम्लाको सिमी र पहाडी जिल्लाका मकैको आटो (च्याँख्ला) खाद्य वस्तुहरु प्याकेजिङ गरी बजारमा ल्याएको छ । पहाडी क्षेत्र र उच्च पहाडी क्षेत्रमा उत्पादन कम हुन्छ भन्ने भ्रमलाई पैचो पसलमा जोडिएका किसानले तोडिदिएका छन् । किसानको सम्पूर्ण उत्पादन बजारीकरणको ग्यारेन्टी  पचौ पसलले गरेको जनाएको छ ।

Comments
Loading...