पाल्पामा पनि मनाइयो घण्टाकर्ण, यस्तो छ जान्नैपर्ने किवंदन्ती

0 22

पाल्पामा पनि घण्टाकर्ण पर्व मनाइएको छ । लोप हुँदै गइरहेको संस्कृतिको संरक्षणमा प्रतिबद्ध देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठानले प्रत्येक वर्ष जस्तै यस वर्षको घण्टाकर्ण तानसेनको शितलपाटी चौकमा राखि परम्परालाई निरन्तरता दिएको छ । दिनभर आफनो ग्रह दशा कटाउने भनेर सो बाटोमा हिडने अधिकांश मानिसहरुले घण्टाकर्णलाई स्वेच्छाले दक्षिणा चढाएका थिए । साँझपख सो घण्टाकर्ण सेलाउन जानु अगाडि टाउकोमा राँको बालि ढलाई लतारेर लगी खोल्सामा फालि विसर्जन गरिएको थियो ।


पारम्परिक संस्कृति लोप नहोस भनेर प्रतिष्ठानले प्रतियोगितात्मक घण्टाकर्ण प्रदर्शन पनि राखेको थियो । तर यसमा जम्मा ३ टोल मात्र सहभागी थिए । मखनटोल सडक, नारायणटोल तथा मेहलधारालाई प्रतिष्ठानले पुरस्कृत गर्ने जनाएको छ ।


घण्टाकर्ण चतुर्दशीका बारेमा एउटा किंवदन्ती प्रचलित छः


नेपालमा परापूर्व कालमा एउटा यस्तो राक्षस थियो जसलाई देवताको नाम र धर्मकर्मका कुरा पटक्कै मन पर्दैन थियो । धार्मिक र आध्यात्मिक कुरा गर्ने मानिसलाई त्यस राक्षसले मारिदिने गर्दथ्यो । धार्मिक र आध्यात्मिक कुरा सुन्नुपर्ला भनेर ऊ सँधै चिन्तित रहने गर्दथ्यो ।


त्यस राक्षसलाई त्यतिबेला गठामुङ्गल भन्ने गरिन्थ्यो । त्यस राक्षसले आफ्नो चिन्ता निवारणका लागि उसका दुबै कानमा सोह्र सत्र धार्नीका घण्टा झुण्ड्यायो । त्यो घण्टाको आवाजले देवताको नाम र धर्मकर्मका कुरा कानमा नपर्ने भएपछि ऊ ढुक्क भयो । कानमा घण्टा झुण्ड्याएको हुनाले त्यस राक्षसको नाम पनि घण्टाकर्ण रहन गयो । उसले सुनलाई होइन फलामलाई मन पराउँथ्यो र धनीमानी र सम्मृद्धका तुलनामा मगन्तेहरू उसका मन पर्ने मानिसहरू हुन्थे । ऊ देवता र सज्जनलाई मन पराउँदैनथ्यो र दुःख दिन्थ्यो। दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खान्थ्यो । बाटामा हिँड्नेसँग जगात (कर) माग्थ्यो र कर नतिर्ने मानिसलाई त्यही निउँमा उसले मारिदिने गर्दथ्यो ।


त्यस नरभक्षी राक्षसले बाटामा हिंड्ने महिला र बालिकालाई बलात्कार गर्ने गर्थ्यो । आतङ्क उसको दिनचर्या जस्तै बनेको थियो । एकदिन उसलाई साह्रै भोक लागेको बेला ऊ आहाराको खोजीमा चौबाटोमा निस्कियो र उसको एउटा भ्यागुतोसँग भेट भयो । भ्यागुतोसँग उसले मानव बस्ती कहाँ छ भनेर सोध्यो । भ्यागुतो पनि राक्षसदेखि रिसाएको थियो । उसले मौका यही हो भन्दै धाप (भासभएको जमिन)तर्फ बाटो देखाउँदै त्यहीँ मानिसको बस्ती छ भनेर देखायो। राक्षस भ्यागुतोले देखाएको ठाउँतिरै लाग्यो । त्यस ठाउँमा पुग्नासाथ ऊ धापमा ग्वाम्मै खस्यो । उसले आफ्नो विशाल शरीरलाई त्यस भासबाट प्रशस्त उपाय गर्दा पनि निकाल्न सकेन ।

साँझको समय भएकाले ऊ रातभर त्यही भासमा फँस्यो । भोलिपल्ट बिहान गाउँलेहरूले ढुंगाले हानेर उसलाई मारे । कतैकतै भ्यागुतोले घण्टाकर्णलाई कुवामा खसाएर मारेको कथा पनि सुन्न पाइन्छ । रुद्रयामलतन्त्रमा एक जना तान्त्रिकले भ्यागुतोको रुप लिई राक्षसलाई मारेको कथा उल्लेख छ । त्यसैले त्यही घण्टाकर्णको कुकृत्य फेरि नदोहोरियोस् भनेर प्रत्येक वर्षको श्रावण महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन एकाबिहानै काठमाण्डौ उपत्यका र नेवार समुदायमा हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाएर दोबाटो, चौबाटोमा उभ्याइन्छ । बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफासुग्घर बनाइन्छ ।


केटाकेटीहरु त्यस दिन बिहानैदेखि बाटोमा डोरी टाँगेर वा तघारो तेर्स्याएर घण्टासुरको जगात माग्दै बस्छन् । देशका विभिन्न ठाउँमा घण्टाकर्ण अर्थात गठेमंगल पर्व मनाईंदैछ । यो पर्व नेवार समुदायमा महत्वका साथ मनाउने गरिन्छ । मान्छे मार्ने घण्टासुर राक्षसलाई मारेको सम्झनामा राक्षसको प्रतिमा बनाई जलाउने र सेलाउन चलन छ । पौराणिक कथन अनुसार दुवै कानमा घण्ट झुण्ड्याई आहाराको खोजीमा निस्कने घण्टासुर राक्षसलाई मार्न एक जना तान्त्रिकले भ्यागुताको रुप लिएर धाप भएतिर बाटो देखाईदिंदा राक्षस धापमा गाडिएको र सबैजना जम्मा भई त्यसलाई मारेको सम्झना स्वरुप घण्टाकर्णको प्रतीकका रुपमा नर्कटको प्रतिमा बनाईन्छ । यस्तै मान्छेलाई पनि घण्टाकर्णको प्रतीकका रुपमा विभिन्न रंगले रंगाएर पनि राख्ने चलन छ । बेलुकी घण्टाकर्णको पुत्ला घिसार्दै नजिकैको खोलामा लगेर जलाउने गरिन्छ । घण्टाकर्णलाई सेलाएपछि घरका दैलामा फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औंठी लगाउने चलन छ । भक्तपुरमा मल्लकालीन नगरका दोबाटो र चौबाटोमा हाँडीमा दही च्यूरा, सम्यबजी राखेर भूतप्रेत मन्छाउने चलन पनि छ ।

Comments
Loading...