पाल्पामा बाँझो जोत्नेलाई रोपनीको ५ हजारसम्म अनुदान

0 190

पाल्पा । लकडाउनको समयमा जिल्लाका बिभिन्न स्थानीय तहहरुले लोककल्याणकारी कार्यक्रमलाई अगाडि बढाएका छन् । जिल्लाका १० वटै स्थानीय तहहरुले किसान र उत्पादनमैत्री कार्यक्रमहरुलाई प्राथमिकता दिएका छन् ।

यो अवधिमा जिल्लाका ३ वटा स्थानीय तहहरुले बाँझो खेतबारी जोत्नेहरुका लागि अनुदानको ब्यवस्था गर्ने निर्णय समेत गरिसकेका छन् ।


रैनादेवी छहरा गाउँपालिकाले जिल्लामै पहिलो पटक अनुदान कार्यक्रमको निर्णय गरेको हो । यो गाउँपालिकाले बाँझो जमिनमा खेती गर्नेहरुलाई अनुदान दिने निर्णय गरेको छ । बाझो जमिनमा अन्नबाली र तरकारी खेती गर्नेलाई प्रतिरोपनी ३ हजार र बाँझो जमिनमा कागती, सुन्तला र फलफूल रोपे प्रतिरोपनी २ हजार रुपैयाँ दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत खेतबहादुर खत्रीले बताए । यसप्रकारको अनुदानले बाझो रहेका खेतबारी जोतिने र कृषि उत्पादन समेत बढ्ने गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्कीको भनाई छ ।


रामपुर नगरपालिकाले पनि बाझो जग्गामा खेती गर्नेहरुका लागि प्रतिरोपनी ३ हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले बताए । नगरपालिकाले दुई वर्षभन्दा बढी समय बाँझो रहेको जग्गामा खाद्यान्न र तरकारी खेती गर्ने किसानलाई अनुदान दिने उनले बताए । बाँझो जमिन जोतेर मकै रोपे प्रतिरोपनी ३ हजार रुपैयाँ र मौसमी तरकारी खेती गर्नेहरुलाई प्रतिरोपनी ५ हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।

उत्पादन बढाउन र खाद्य संकट नहोस् भन्नका लागि कार्यपालिकाले यो निर्णय गरेको रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले बताए ।

त्यस्तै माथागढी गाउँपाालिकाले पनि खेतीयोग्य बाँझो जमिनमा खेती गर्नेलाई अनुदान घोषणा गरेको छ । २ वर्ष अघिदेखि बाँझो रहेको खेतीयोग्य जमिनमा खेती गर्ने किसानले अनुदान पाउने गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताए । बाँझो जग्गामा पुन खेती गर्नेहरुलाई प्रतिरोपनी ३ हजार अनुदान दिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए । स्थानीय तहहरुको यो निर्णयले बिबिध कारणले बाझो रहेका जग्गाहरु पुनः खन जोत गर्न किसानहरुलाई हौसला मिल्ने बताइएको छ । तस्बिरः गुगल

Comments
Loading...