पाल्पामा रातारात कालो बजारी बढ्योःअनुगमन भएन

0 644

कोरोना महामारीको समयमा बजार मुल्य आकाशिन थालेको छ । बजार अनुगमन भएको छैन । ब्यापारीहरुले मनोमानी गर्न थालेका छन् । बजारमा लामो समयसम्म पसल ब्यवसाय नखुल्दा सामान धेरै स्टक रहेका छन् र ती सामान नै अहिले ब्यापारीहरुले बेचिरहेका छन् । जसमा पहिले ल्याएको सामानको समेत बर्तमान मुल्यमा बिक्री भइरहेको छ । अर्कोतिर म्याद गुज्रेका सामानहरु समेत बिक्री बितरण भइरहेको गुनासो आइरहेको छ । कोरोनाको मौका पारेर ब्यापारीहरुले मुल्य सूची राख्न छाडेका छन् जसका कारण पाल्पाका उपभोक्ताहरु मर्कामा परेका छन् । केही बर्ष अघिसम्म जिल्ला प्रशासन कार्यालयले घरेलु तथा कार्यालयसितको समन्वयमा अनुगमन गथ्र्यो, अहिले स्थानीय तहहरुले बजार अनुगमन कार्य बिधि नै बनाएर अनुगमन गर्ने बताएका छन् तर अनुगमन हुन सकेको छैन । मुख्य बजार रहेको तानसेन बजारमा तानसेन नगरपालिकाले अनुगमन गर्ने भएपनि अहिले नगरपालिकाका जनप्रतिनिधिमा कोरोना देखिएपछि नगरपालिकाको कार्यप्रवाह प्रभावित भएको छ । त्यसैले अहिलेको अवस्थामा अनुगमनको नेतृत्व जिल्ला प्रशासनले नै गर्नुपर्छ ।

केही दिनमै प्याज, आलु लगायत आयातित खाद्य सामाग्रीको मुल्य आकाशिएको छ । प्याजको मुल्य त दैनिक बढ्दो गतिमा छ । पाल्पाको सन्दर्भमा हेर्ने हो भने ब्यापारीहरुले स्टक प्याजकै मुल्य बढाएका छन् । यसकारण पनि अलि गतिलो अनुगमन यहाँ आवश्यक छ । अनुगमनको क्रममा ल्याएको मिति र रकमसहितको बिल र अहिले बिक्री गर्र्दै गरेको मुल्य बीचको फरक निकाल्न सकियो भने पनि यहाँ कालाबजारीको रहस्य खुल्छ । यसका लागि हल्ला गरेर लौ अनुगमन आउँदैछन् भनेर ब्यापारीहरुले २ घण्टा अघि नै सूचना पाउने गरि हैन आकस्मिक अनुगमन हुनुपर्छ । अनुगमन अधिकारीहरु क्रेताको रुपमा छुट्टा छुट्टै निस्कन सक्ने हो भने अझै प्रभावकारी हुन सक्छ ।

अतः बजारमा अत्यन्तै कालोबजारी बढेको छ । यो बेला खास अनुगमन हुनुपर्छ । उपभोक्ता मर्कामा पर्नु हुँदैन । कोरोनाको बेला उपभोक्ता उल्टै ठगिएका छन् । यसबारे जिल्ला प्रशासन र प्रहरीको ध्यान जानुपर्छ । यसर्थ तत्काल अनुगमन सुरु गरौं । अनुगमन गर्ने सच्याउन अनुरोध गर्ने मात्रै हैन कालो बजारी गर्नेको नाम ठोगाना र पसलको नाम सार्वजनिक गरिदिउ, अनुगमनमा मिडियाको सहभागिता गराऔं त्यसो भयो भने गल्ती गर्नेहरुको प्रचार हुन्छ । अन्य ब्यापारीहरु सच्चिन्छन् र कालोबजारी केही हदसम्म भएपनि न्युनीकरण हुन सक्छ । तस्बिर गुगल

पाल्पा समाचारपत्र बर्ष १० अंक १२ को सम्पादकीय

Comments
Loading...