पाल्पामा लकडाउनलाई थप कडाई गरिदैंः के गर्न पाइन्छ के गर्न पाइदैन ? (पुरा निर्णय सहित पढ्नुहोस्)

0 187

पाल्पा । छिमेकी जिल्लाहरुमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि पाल्पामा लकडाउनलाई थप कडाई गरिदैछ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणलाई थप प्रभावकारी बनाउन गठित जिल्ला स्तरीय समितिको मंगरबार बसेको बैठकले देशभर लकडाउन (बन्दाबन्दी)को जेठ २० गतेसम्म बढाउने निर्णय भएअनुसार पाल्पा जिल्लाभर उक्त अवधिसम्म लकडाउनलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने निर्णय गरेको छ ।


बैठकले छिमेकी जिल्लाहरुमा कोभिड – १९ को बढ्दो संक्रमण र देशभर फैलिदै गएको यसको प्रभावलाई मध्यनजर राखी अत्यावश्यक आवश्यकताका वस्तुहरुको ढुवानी (खाद्यान्न, औषधी, खानेपानी, पशुपन्छीको आहार, ग्याँस र पेट्रोलियम पदार्थ), एम्बुलेन्स, शव वाहन, दमकल, मृत्युसंस्कार, विद्युत, सञ्चार, सुरक्षाकर्मीले प्रयोग गरेका र पास लिएका सवारी साधन, निर्माण सामग्री बोकेका ढुवानीका साधन तथा राजमार्गमा गुड्ने सवारी साधनहरु (जिल्ला भित्र ओर्लिन र चढ्न नपाउने गरी) बाहेकका सबै प्रकारका सवारी साधनहरु र मानिसहरुको एक जिल्लाबाट अर्को जिल्लाको आवगमनमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए ।


जिल्ला भित्र तरकारी, दुध, फलफूल, खाद्यान्न लगायतका पसलहरु, बैँक तथा वित्तिय संस्थाहरु यस अघिका निर्णय बमोजिम नै खुल्ने । ती बाहेकका सबै पसलहरु पूर्ण रुपमा बन्द रहने , जिल्ला भित्र खाद्यान्न, तरकारी, दुध लगायतका आत्यावश्यक आवश्यकताका बस्तुहरुको ढुवानी बिहान ७ बजे देखि ११ बजेसम्म संचालन गर्ने, जिल्ला भित्र निर्माण सामाग्री बोकेका सवारी साधनहरु बेलुका ६ बजेदेखि ९ बजेसम्म संचालन गर्ने निर्णय भएको उनले बताए ।

स्तै बैठकले जिल्ला बाहिरबाट खाद्यान्नको ढुवानी गर्दा मालबाहक ट्रकबाट मात्र ढुवानी गर्ने । त्यसरी ढुवानी गर्दा बिहान ७ बजे भित्र दोभान पुगीसक्ने गरी र बेलुका ७ः३० बजे भित्र दोभानबाट भित्रीसक्ने गरी ढुवानी गर्ने निर्णय गरेको छ । जिल्ला बाहिरबाट सार्वजनिक निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्री बोकेका ढुवानीका साधनहरु सोमबार, बुधवार र शनिवार सञ्चालन गर्ने निर्णय भएको प्रजिअ सुवेदीले बताए ।


जिल्लामा सञ्चालित औद्योगिक उत्पादनहरु उत्पादन क्षेत्र र ढुवानी हुने सम्बन्धित स्थानीय तहको सिफारिस सहित सञ्चालनको लागी माग भएमा उत्पादनका सामग्रीहरु जिल्ला भित्रैका ढुवानीका साधन र जिल्ला भित्रकै जनशक्तिबाट उत्पादनस्थल देखि जिल्ला भित्र कै राजमार्गको नजीकसम्म ढुवानी गर्न अनुमती दिने, त्यसरी उत्पादन र ढुवानी गर्दा सामाजिक दुरी लगायत नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पूरा गरेको हुनुपर्ने,सर्वसाधारण नागरिकहरु अत्यावश्यक काम र बिरामी भएको अवस्थामा बाहेक अन्य अवस्थामा घरबाट बाहिर ननिस्कने निर्णय गरिएको उनले बताए ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त भएका आरडिटिबाट पहिलो चरणमा स्थानीय तहको सिफारीसमा तोकिएका व्यक्ति, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी र पत्रकार महासंघबाट सिफारीस भई आएका सञ्चारकर्मीहरुको परिक्षण गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत रमा श्रेष्ठले जानकारी दिइन् ।

Comments
Loading...