पाल्पालीका लागि खुशीको खबर, पाल्पामै सुरु भयो अक्सिजन प्लान्ट

अक्सिजन अभावमा मान्छे मर्नुपर्दैनः अध्यक्ष पाण्डे

0 2,537

पाल्पा । पाल्पामा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । पाल्पा अस्पतालमा बिहीवारबाट अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो । यो सँगै जिल्लाका कोरोना संक्रमितहरुको उपचारका लागि बाहिरी जिल्लाबाट अक्सिजन ल्याउनुपर्ने समस्या समाधान भएको छ । बिश्लेषकहरुले अव तेस्रो भेरियन्स समेत आउन सक्ने चेतावनी दिइरहेका बोल यो अक्सिजन प्लान्ट पाल्पा सहित छिमेकी जिल्लाहरुका लागि पनि सहयोगी हुने बिश्वास गरिएको छ ।

गत २०७८ जेठ ४ गते नेपाल सरकारले अक्सिजन प्लान्ट सञ्चालन गर्न एक करोड ५० लाख बजेट विनियोजन गरेको थियो । सोही बजेटबाट बोलपत्र आह्वान गरि १ करोड २८ लाखमा अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरेर जडान पछि प्लान्ट संचालनमा ल्याइएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष नेत्र पाण्डेले बताउनुभयो । यो अक्सिजन प्लान्टले दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन गर्ने उहाँले बताउनुभयो ।

हामीले यो बिचमा अक्सिजन आवश्यक हुदा बाहिरी जिल्लाहरुबाट ल्याउने क्रममा धेरै समस्या भोग्नुपर्यो, अव यही अक्सिजन प्लान्ट सुरु भयो । यो सबै पाल्पालीहरुका लागि खुशीको कुरा हो । अध्यक्ष पाण्डेले भन्नुभयो । उहाँले यहाँ उत्पादित अक्सिजन अव अस्पताललाई चाहिने भन्दा बढी भएमा कोरोना बाहेक अन्य बिरामीहरुका लागि पनि रिफिल गरि घर घरमा लैजान दिइने, ब्यवसायिक क्षेत्रका लागि पनि न्युनतम शुल्कमा रिफिल गर्ने ब्यवस्था मिलाइने उहाँले बताउनुभयो ।

प्लान्ट मार्फत एकातिर खाली सिलिण्डर रिफिल गर्ने र अर्को तिरबाट सिधै अस्पतालमा पाइपलाइनबाट लैजाने ब्यवस्था समेत मिलाइएको छ । अक्सिजन प्लान्ट सेटिङमा खट्नुभएका इन्जिनियर देवेन्द्र श्रेष्ठले आवश्यक परेको बेलामा केही उपकरण थप गरेर दैनिक एक सय सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने बताउनुभयो ।

जिल्लामै अक्सिजन प्लान्ट संचालनमा आएपछि जिल्लाभित्रका विभिन्न अस्पताललाई आवश्यक पर्ने अक्सिजन समेत वितरण गर्न सकिनेछ । पाल्पा अस्पलताललाई कोरोना महामारीको बेला दैनिक १५ सिलिण्डर आवश्यक थियो । ‘अहिले अवस्था सहज भएका बेला दैनिक ३,४ सिलिण्डर आवश्यक रहेको पाल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश कुँवरले भन्नुभयो । अन्य उत्पादित अक्सिजन अरु अस्पतालहरुलाई पनि दिन सकिने उहाँले बताउनुभयो ।
अक्सिजन प्लान्ट निर्माणका लागि युवा नवराज बस्यालको अध्यक्षतामा समिति नै बनाएर काम अगाडि बढाइएको थियो । यो समितिको तदारुकताका कारण प्लान्ट संचालन सहज भएको बताइएको छ ।

पाल्पा अस्पतालको अध्यक्षको रुपमा युवा नेता नेत्र पाण्डे चयन भएसँगै अस्पतालमा धेरै सुधारका काम भएका छन् । कोरोनाका बिरामीहरुको खोजी खोजी उपचारमा पाण्डे नेतृत्वको टिम लागिपरेको छ । अस्पतालको ब्यवस्थापन चुस्त बनाउन उहाँ लागिपर्नुभएको भन्दै स्थानीय खुशी भएका छन् ।

Comments
Loading...