पाल्पाली करुवा बढी माग हुन्छ तर कम बन्छ

0 150

पाल्पा । पाल्पा भित्रिने जो कोहीले पनि आफ्नो रोजाईमा करुवा पनि पार्छन् । पाल्पाली करुवा उपहारको रुपमा होस् या घरमा सजाउनका लागि महत्व पूर्ण मानिन्न तर उचित कच्चा पदार्थ र दक्ष जनशक्तिको अभावमा नेपाल भर प्रख्याती कमाएको पाल्पाली करुवाको मागको तुलनामा उत्पादन हुन भने सकेको छनै ।

तानसेन टक्सारटोलमा १० वर्ष अघिसम्म आधा दर्जनबढी करुवा उद्योग सञ्चालन हुँदै आएपनि यतिबेला करुवा उद्योगको संख्या ३ वटा मात्रै रहेको छ । माग अनुसार करुवा उत्पादन हुन नसक्दा जिल्ला भित्रिने आन्तरिक तथा बाह्य पर्यटकहरु मन खिन्न बनाएर रित्तो हात फर्कन बाध्य भएको स्थानीय ब्यापारीहरुको भनाई छ ।

पुरानो कासलाई गालेर परम्परागत रुपमा हातबाट मात्र उत्पादन हुने हुदा पाल्पाली करुवा बलियो र आर्कषक हुने भएकाले माग अत्याधिक रहेको छ । ग्राहकको माग अनुसार करुवा उत्पादन गर्न नसकिएको न्यू तानसेन करुवा उद्योग तानसेनका संचालक मनिन्द्र प्रसाद बज्राचार्यले बताए । “कच्चा पदार्थ मंहगो छ भनेको समयमा कामदार पाइदैन पाइएले पनि निकै धेरै ज्याला दिनुपर्छ आफ्नो लगानी समेत उठाउन समस्या छ ।” बज्राचार्यले भने ।

एउटा सामान्य करुवाको मूल्य २ हजार रुपियाँदेखि माथि किलोग्राम अनुसार फरक हुने बताउँदै बज्राचार्यले पाल्पाली करुवाको मूल्य अन्यत्र बनेको करुवाको तुलनामा झण्डै दोब्बर बढी हुँदा पनि माग उत्तिकै बताए । नेपालका बिभिन्न जिल्लाका साथै भारत, जापान, कोरिया, अमेरिका, बेलायत लगायतका देशहरुमा पाल्पाली करुवा निकै लोकप्रिय छ । पाल्पाली करुवाको पुरानो ख्यातीका कारण देशी विदेशी पाहुँनाले समेत पाल्पाली करुवाको माग गर्ने गरेको अर्का करुवा उद्यमी उत्तम बज्राचार्यको भनाई छ । पाल्पाली करुवाको लोकप्रियताको बढ्दो अनुपातको तुलनामा उत्पादन गर्न नसकिँदा करुवा उद्योग नै धारासायी बन्न पुगेको उनले बताए ।

माग प्रशस्त आउदा समेत उद्योगहरुले उत्पादन दिन नसक्दा पाल्पाली करुवाको नाममा बजारमा नक्कली करुवाको बिक्री हुन थालेको छ । जसका कारण पाल्पाली करुवाको अस्तित्व समेत लोप हुने अवस्थामा पुगेको स्थानीयको गुनासो छ ।

Comments
Loading...