पाल्पा आएपछि ढाका नकिनि मनै मान्दैन

0 162

पाल्पा । पाल्पाली ढाका देश भित्र र बाहिरबाट आएका पर्यटकहरुका लागि बिशेष आर्कषणको केन्द्र बनेको छ । प्रत्येक दिन बिहान तानसेन मखनटोल तथा लहरेपिपल आसपासमा आन्तरिक तथा बाह्य पर्यटकहरुको बाक्लो भीड देखिन्छ । मखनटोल आसपासमा संचालित आधा दर्जनबढी ढाका पसलहरुमा ढाका किन्नेहरुको उस्तै भीड लाग्छ । त्यस्तै चहलपहल तानसेनका अन्य एक दर्जनबढी ढाका पसलहरुमा समेत पाइन्छ । अर्थात् पाल्पा आउनेहरुले ढाकाबाट निर्मित केही न केही सामग्री किन्छन् नै ।

उपहारको रुपमा होस् या मौलिक पहिचानको रुपमा पाल्पाली ढाकाको बेग्लै पहिचान छ । पाल्पामा धेरै वर्ष अगाडि देखि घरायसी र काम चलाउको रुपमा मात्रै ढाकाका वस्तुहरु प्रयोग गरिदै आएको पाइन्छ । वि.सं २०१५ साल देखि मात्रै व्यावसायिक रुपमा ढाका ब्यवसाय फस्ट्याउन सुरु भएको हो । यहा“को ढाकाको विकास र विस्तार पाल्पाली ढाका उद्योगका उद्यमी गणेशमान महर्जन र उनकी धर्मपत्नी पूर्णमाया महर्जनले गरेका हुन् । पूर्णमाया अहिले पनि ढाका उत्पादनमा सक्रिय छन् ।

पाल्पामा अहिले १९ वटा ढाकाका उद्योगहरु छन । जसमध्ये प्रत्येक उद्योगहरुमा ४० देखि १०० को हाराहारीमा हातले बुन्ने ढाकाका तान छन् । त्यस्तै बिद्युतीय मेसिनहरु हाण्डलुम जेकार्डहरु समेत जडान गरिएका छन् । समय अनुसार पाल्पाली ढाका उद्योग समेत परिमार्जित भएका छन् । सुरुमा तानको सहायताले हातैले ढाका बुन्ने गरेकोमा बिस्तारै बिद्युतीय मेसिनको समेत प्रयोग हुन थालेको छ । पाल्पाली ढाकाबाट बनेका वस्तुहरु यतिबेला स्थानीयलाई भन्दा आन्तरिक र बाह्य पर्यटकहरुलाई रुचिकर र हितकर बस्तु बनेको पाल्पाली मदनपोखरा ढाका पसलका संचालक कमल भण्डारीले बताए । विदेशीहरु घुम्न पाल्पा आउदा प्रायले ढाका टोपी किन्ने गरेको ढाका ब्यवसायी हरि रायमाझीले जानकारी दिए । नेपालीलाई भन्दा बढी विदेशीहरुलाई बढी ढाकाटोपी मन पर्ने गरेको उनले बताए । पाल्पा भ्रमणकै लागि पोखराबाट सपरिवार आएका बिनोद शर्माले पाल्पा आएपछि ढाका नलिई जानै मन नलागेको बताए । उनले आफन्तीहरुलाई समेत ढाका उपहार लगिदिन लागेको बताए ।

पाल्पाली ढाका तथा यसबाट बनेका टोपी, पर्स, चोली, पछयौरी, टाई र आसकोट आदि जस्ता बस्तुले निकै महत्व र बजार पाएको पाइन्छ । यस्ता अनेक ढाकाबाट निर्मित बस्तुहरुले समय सापेक्ष अनुरुप आम जनताको उपभोग्य चाहना र क्षमतालाई परिपुर्ति गर्दै आएको छ तर पछिल्लो समय यसको माग अनुरुप उत्पादन हुन नसक्दा पाल्पाली ढाका उद्योगपति मात्रै होईन् सवैको चासो र सरोकारको विषय बनेको छ । माग अनुरुप उत्पादन हुन नसक्दा ब्यापारीहरुले अन्यत्रबाट ल्याएको ढाकालाई समेत पाल्पाली ढाकाको नाम राखेर बेच्दै आएका छन् ।

पाल्पा र पाल्पालीको पहिचानलाई थप बिशिष्ट बनाउने करुवा ढाका दुबैको माग समयअनुरुप बढ्दो छ । तर माग अनुरुप उत्पादन हुन नसक्दा कतिपय ग्राहकहरु चित्त दुखाएर फर्कन बाध्य भएको पाइन्छ । यसतर्फ राज्यले ध्यान दिन सके र उत्पादनलाई अझ बृद्धि गराउदै लैजान सके पाल्पालीको गौरव र पहिचान ढाकाले बिश्वबजारमा राम्रो प्रभाव पार्न सक्ने स्थानीय ढाका ब्यवसायीहरुको भनाई छ

Comments
Loading...