पाल्पा कांग्रेसको वडा तहसम्म जागरण अभियान सुरु हुँदै

0 27

पाल्पा । नेपाली कांग्रेस पाल्पाले जिल्ला, क्षेत्र, प्रदेश, गाउँपालिका हुँदै वडातहसम्म जागरण अभियान चलाउने भएको छ । वर्तमान सरकारका गलत क्रियाकलापको विरोध गर्नेदेखि कार्यकर्तालाई चलायमान बनाउनेसम्मका कार्यक्रम रहेको केन्द्रबाट खटिएका केन्द्रीय प्रतिनिधि तथा कांग्रेसका बैकल्पिक केन्द्रीय सदस्य बालकृष्ण पाण्डेयले बताए । उनले कांग्रेसले विभिन्न १४ उद्देश्यसहित तीन चरणमा देशभर जनजागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको बताए ।

पाल्पा कांग्रेसले पनि केन्द्रीय प्रतिनिधिको उपस्थितिमा पार्टी कार्यालय तानसेनमा भेला, छलफल र समीक्षा गर्दै अघि बढ्ने निर्णय गरेको छ । वैशाख ११ गते बुधबारबाट अभियान सञ्चालन हुने र यसले जिल्लाभर सन्देश लैजाने केन्द्रीय प्रतिनिधि पाण्डेयले बताए । उनले ‘हिमाल, पहाड, तराई मधेस–नेपाली कांग्रेस’ नारासहित देशैभर सुरु हुने जनजागरण अभियानले कार्यकर्तालाई क्रियाशील बनाउने बताए ।

केन्द्रीय प्रतिनिधि पाण्डेयका अनुसार कांग्रेसले तीन चरणमा कार्यक्रम गर्नेछ । पहिलो चरणको जागरण अभियान ११ वैशाखबाट ११ जेठसम्म हुनेछ । एकमहिने कार्यक्रम पाल्पाका सबै पालिका, वडासम्म सञ्चालन गरिनेछ । पहिलो चरणको कार्यक्रमका लागि केन्द्रीय प्रतिनिधि भएका पाण्डेयले मुलुकभर एकै पटक कार्यक्रम सुरु हुने बताए ।

अभियानमार्फत महासमितिबाट पारित विधानसहितका दस्ताबेजबारे कार्यकर्तालाई सुसूचित गर्ने पाल्पा सभापति बीरबहादुर रानाले बताउनुभयो । उहाँले नेता कार्यकर्ताबीच एकता बढोत्तरी गर्ने, जागरण अभिवृद्धि गर्ने, कांग्रेसको अगुवाइमा भएका राजनीतिक उपलब्धि जनताबीच सम्प्रेषण गर्ने कार्यक्रम रहने समीक्षा कार्यक्रममा बताए ।

कांग्रेसले पहिलो चरण यही ११ वैशाखदेखि ११ जेठसम्म ७७ वटै जिल्लामा गर्नेछ भने दोस्रो चरण आगामी २४ भदौदेखि ७ असोजसम्म ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा गर्ने घोषणा गरिसकेको छ । सभापति रानाका अनुसार केन्द्रीय परिपत्र अनुसार तेस्रो चरण आगामी ७ पुसदेखि १६ पुससम्म ७ सय ५३ वटै स्थानीय तहमा जागरण अभियान चल्नेछ । तर अहिले पनि ती सबै स्थानमा भेला, प्रशिक्षण, सरकारका गलत क्रियाकलापका विषयमा भण्डाफोर अभियान चल्ने छ ।

आगामी दिनमा मुलुकका सबै प्रदेश स्तरीय निर्वाचन क्षेत्रमा कार्यक्रम गरिनेछ । सो कार्यक्रममा समेत केन्द्रीय तहका नेताहरू सहभागी हुनेछन् । सबै स्थानीय तहमा जनजागरण अभियान सञ्चालन हुने र केन्द्रीय प्रतिनिधि पुगेर सोही अनुसार छोटकरीमा कार्यक्रम गर्ने योजना रहेको उहाँले बताउनुभयो । कांग्रेसले अभियानकै क्रममा सरकारका गलत क्रियाकलापविरुद्ध आफ्ना नेता कार्यकर्तासहितका मतदाताहरूलाई सचेत बनाउनेमा ध्यान दिने पार्टी उपसभापति देवराज ढकालले बताए । उनले कार्यकर्ताका मनोबल उच्च बनाउनेदेखि पार्टी सदस्यता समेत वितरण गर्नेसम्मको लक्ष्य लिएको बताए ।
अभियानमार्फत आममतदातालाई विकल्पमा रहेको जानकारी गराउने कांग्रेसले जनाएको छ । यसै बीचमा पार्टीको सदस्यता समेत वितरण गरिने छ । गत निर्वाचनमा पार्टीले बेहोरेको हारपछि कार्यकर्तामा देखिएको निराशालाई मत्थर पार्नसमेत जागरण अभियान फलदायी हुने पार्टी सचिव झपेन्द्र गहिरेले बताए ।

क्षेत्रीय सभापति रामबहादुर कार्की र कृष्णप्रसाद बस्यालले यस अभियानले पुनः कांग्रेसमा जागरण ल्याउने छ । कांग्रेसले अभियानका लागि आफ्ना भ्रातृ तथा शुभेच्छुक संस्थालाई पनि खटाउने जनाएको छ । जसअन्तर्गत महिला संघले महिला जागरण अभियान, तरुण दललाई सरकारको गलत कामका साथै भ्रष्टाचारविरुद्ध अभियान चलाउन जिम्मेवारी दिइएको छ । त्यस्तै, नेविसंघलाई ‘प्लस टु’ प्लसको जिम्मेवारी दिइएको छ ।

जसअन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीलाई कांग्रेसबारे बुझाएर पार्टीसँग जोड्ने लक्ष्य कांग्रेसले लिएको छ । यसैगरी, नेपाल दलित संघले सबैखाले विभेद अन्त्यका लागि अभियान चलाउनेछ । सरकारका गलत क्रियाकलापको विरोध गर्न, संविधान संशोधनमा जनमत खोज्न, आफ्नो अगुवाइमा भएका राजनीतिक उपलब्धि सम्प्रेषण गर्न, कार्यकर्तालाई विधान बुझाउन, पार्टी सदस्यता वितरण गर्न, संगठन सुदृढीकरण गर्न, नेता कार्यकर्तालाई चलायमान बनाउनका लागि यो अभियान प्रभावकारी हुने कांग्रेसले जनाएको छ ।

कांग्रेसले यस अभियानमार्फत २००७ सालदेखि २०१७, २०१७ देखि २०३६ र २०३६ देखि २०४६ सम्मका विभिन्न चरणका आन्दोलनमा सहभागी भएका आफ्ना नेताहरूको समेत खोजी गर्ने लक्ष्य लिएको छ । कांग्रेसले यसबीचमा हुने कार्यकममा दीर्घजीवी बिरुवा रोपेर र दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नेछ भने ब्याच वितरण गर्ने कार्यलाई समेत बन्देज लगाउनेछ । यस्तै, कार्यक्रमको सभापति र प्रमुख अतिथिबाहेक अन्यलाई एकैपटक आसन ग्रहण गराउनेछ । प्रमुख अतिथिपछि अन्य अतिथिलाई आसन ग्रहण गर्न भन्ने शब्दबाहेक कार्यक्रमलाई लम्ब्याउने गरी हुने आसन ग्रहण अभियानमार्फत नै हटाउने भएको केन्द्रीय प्रतिनिधि पाण्डेयले बताए ।

Comments
Loading...