पूर्ण संस्थागत सुत्केरी गराउनेमा पूर्वखोला प्रदेशमै पहिलो

0 50

डिल्लीराज पंगेनी । (पूर्वखोला) पाल्पा
पूर्वखोला गाउँपालिका प्रदेश नं. ५ कै पहिलो पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा भएको छ ।

बिहीवार पूर्वखोलामा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले गाउँपालिकालाई पूर्ण संस्थागत गाउँपालिका घोषणा गर्दै स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुनाले आमा र बच्चा दुबैको स्वास्थ्य राम्रो हुने भएकोले पनि यो अभियान सबैतिर चलाउनुपर्ने बताए । उनले पूर्वखोलाले पूर्ण संस्थागत सुत्केरी पालिकाको रुपमा आफूलाई विकास गरि प्रदेशमै नमुना सन्देश दिएको बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले पूर्वखोलाले यसअघि सबै वडामा वर्थिङ सेन्टर स्थापना गरेर स्वास्थ्य क्षेत्रमा फरक पहिचान बनाएकोमा अहिले फेरि पूर्ण संस्थागत सुत्केरी पालिका मार्फत प्रदेशमै राम्रो सन्देश दिएको बताए । उनले मानिसको लागि सबैभन्दा ठूलो सम्पत्ति उसको स्वास्थ्य हो भन्दै पूर्ण स्वास्थ्यका लागि स्वास्थ्य संस्थामै सुत्केरी हुनु आवश्यक रहेको बताए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले आर्थिक वर्ष २०७५।०७६ मा ३ सय १० सुत्केरी मध्ये १ सय ६९ जनाले पालिकाभित्रका स्वास्थ्य संस्थामा र १ सय ४१ जनाले अन्य अस्पतालमा प्रसुति सेवा लिएकाले गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको बताए । उनले यो अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत ब्यक्त गरे ।


कार्यक्रममा प्रदेशसभा सदस्य युवराज खनाल, जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्याल, नेपाल कम्युनिष्ट पार्टी नेकपाका कमल पाण्डेय, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल, गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक भोगबहादुर थापा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थी, नेकपाका देवीप्रसाद पंगेनी, स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख कल्पना पौडेल, रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्याल, माथागढीका स्वास्थ्य संयोजक यमबहादुर चिदी, सुआहाराका जिल्ला संयोजक ज्ञानदीप आचार्य, जनमार्ग माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामबहादुर दिश्वा, विद्यार्थी नेता नविन आचार्य लगायतले आआफ्नो धारणा राख्दै घोषणा पछिका दिनहरुमा समेत यसको निरन्तर फलोअप हुनुपर्नेमा जोड दिए ।


कार्यक्रममा पूर्वखोलाका स्वास्थ्य संयोजक श्रीराज आचार्यले गत वर्ष ३ सय १० जना सुत्केरी स्वास्थ्य संस्थामा सुत्केरी भएको र चालु वर्षको यो अवधिसम्म ९९ जना स्वास्थ्य संस्थामा गएर प्रसुति सेवा लिएको तथ्यांक प्रस्तुत गरे । गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक मोहन ढकालको सञ्चालन, उपाध्यक्ष भागिरथी भट्टराईको स्वागत र अध्यक्ष नुनबहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Comments
Loading...