पूर्वखोला गाउँपालिकाको आठौ गाउँसभाको निर्णय पत्रकार सम्मेलन गरि सार्वजनिक

0 97

पाल्पा । पूर्वखोला गाउँपालिकाको आठौ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले विपद, वातावरण, शिक्षा, स्वस्थ्य, खानेपानी, सुरक्षित आवास, सार्वजनिक जवाफदेहिता, सूचना तथा अभिलेख केन्द्रलगायतका १४ वटा ऐन, नियमावली र कार्यविधिहरु पारित गरेको गाउँपालिकाका प्रवक्ता निर बहादुर सारुले बताए । गाउँपालिकाका प्रवक्ता नीरबहादुर सारुले चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्ये हालसम्म १९ प्रतिशत बजेट खर्च भएको जानकारी गराए ।

आठौँ गाउँसभाबाट भएका निर्णयहरुको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले ऐन कानुनको निर्माण, जनशक्ति व्यवस्थापन र योजना सञ्चालनका आधारहरु तयार गरेपछि पालिकाको विकास निर्माणको गति बढेको बताए । उनले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जाल र कृषि क्षेत्रमा देखिने गरी फड्को मारेको बताउँदै अध्यक्ष थापाले विकासका लहरहरुलाई प्रचारप्रसारको आवश्यकता रहेको बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराईले चालु आर्थिक वर्षको कुल ४८ करोड ७९ लाख ६५ हजार रुपैँया बराबरको बजेटबाट ३६२ योजना प्रस्ताव गरिएकोमा यो ६ महिनाको अवधिमा १५ योजना निर्माण कार्य सम्पन्न र ८५ वटा कार्यान्वयनमा रहेको जानकारी दिइन् । पत्रकार सम्मेलनमा अध्यक्ष थापाले संस्थागत विद्यालयलाई सामुदायिक विद्यालयमा समायोजन प्रक्रिया चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी योजना बनाइएको बताइन् । शिक्षा नियमावली २०७७ जारी भएसँगै संस्थागत विद्यालयको नाममा रहेका जग्गा, भवन, फर्निचरलगायतका सामग्री सरकारको स्वामित्वमा ल्याइने र त्यसका लागि करिव पौने २ करोड लाग्ने अनुमान गरिएको उनले बताए । दुई वर्ष अगाडि निजी विद्यालयहरु सामुदायिक विद्यालयमा समायोजन घोषणा गरेको पूर्वखोलाले अंग्रेजी र नेपाली माध्यममा पठनपाठन गर्दै आएको छ ।

प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले अनलाइन घटना दर्ता, सुत्र प्रणाली लागू, सबै शाखामा विद्युतीय सफ्टवयर जडान गरिएको र पालिका देखि वडा स्तरसम्मको कामलाई प्रभावकारी र चुस्त बनाइएको बताएृ ।
कार्यक्रममा पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्यालले संस्थागत र सामुदायिक विद्यालयलाई एउटै बनाउने योजना कार्यान्वयन गरेर उदाहरणीय कार्य गरेको बताए । पत्रकारहरू किरण कौशल, माधव अर्याल, रेखीराम राना, मिलन बिश्वकर्मा, कृष्ण कार्की, मिलन विश्वकर्मा लगायतले सुझाव सहित जिज्ञाशाहरु राखेका थिए ।

Comments
Loading...