पृथ्वी बचाऔं

0 788

गोपालप्रसाद वश्याल
मानिस र प्रकृति विच नङ र मासुको जस्तै सम्बन्ध भएका कारण मानवजातिको सुन्दर भविष्यका लागि पृथ्वी जोगाइराख्नु अत्यन्त आवश्यक छ । त्यसैले प्राकृतिक सम्पतिको उपयोग गर्ने क्रममा आफ्ना सन्तान दरसन्तानका लागि पनि बचाइराख्नका लागि कसरी कम नोक्सानी गरी उपयोग गर्न सकिन्छ भन्ने बुद्धि पु¥याउनु आवश्यक छ । यसका लागि कतिपय वस्तुुको उपयोग कम गर्न आवश्यक छ ।

जस्तै इन्धनको खपत, यातायातका साधन र वन पैदावरको प्रयोग कम गर्न सकिन्छ । यसैगरी कतिपय ब्यवहारलाई रोक्न सकिन्छ । उदाहरणका लागि वन विनाश रोक्न र कम गर्नका लागि नीतिगत एवम् कानूनी ब्यवस्थाका आधारमा वन जोगाउने, नदी तलाउको संरक्षण गर्ने, वन्यजन्तु, जडिबुटी आदिको शिकार एवम् चोरी निकासी रोक्ने, खानी एवम् खनिज पदार्थको उत्खनन र निकासीमा नियन्त्रण गर्न सकिन्छ । खेतियोग्य जमिन जागाइराख्ने र बञ्जर क्षेत्रमा वस्ती विकास गर्न आवश्यक छ ताकि भावी सन्ततिका लागि समेत खाद्य सुरक्षाका लागि सुनिश्चितता गर्न सकियोस् ।

सरकारी एवम् निजी क्षेत्रको भौतिक पूर्वाधार वा संरचना निर्माणका क्रममा वातावरण स्वच्छ राख्ने र पृथ्वी बचाउने तर्फ ध्यान दिनु आवश्यक छ । हरियाली सडक निर्माणका अभियान सञ्चालन गर्नु आवश्यक छ । सडक निर्माणका क्रममा अचेल वस्ती एवम् ऐतिहासिक सम्पदासमेत पहिरो र बाढीको जोखिममा परेको देखिन्छ । सडक निर्माणका क्रममा उत्पादनमूलक क्षेत्रको विनाश पनि भएको छ । पहाडका ससाना बेंशी खेतहरू सडक निर्माणका क्रममा साँघुरिएका र उत्पादन घटेको देखिन्छ । भिरालो पहाडमा डोजर लगाई जबर्जस्ती बाटो खनिएका कारण पहिरो जाने र पानीका मूल सुक्ने, जमीन क्षयीकरण र मानवीय क्षतिको जोखिम बढिरहेको छ । पहाडी क्षेत्रमा पानीका मूल सुकेका र लिफ्टिङ खानेपानी परियोजनाहरू धेरै ठाउँमा सुरू भएका छन् । नदी खोला किनारमा भएको पानीको स्रोतबाट अहिले पानी तानिएको छ तर हिम पग्लनेर काला हिमाल देखिन थालेका छन् भने पहाडमा पानीका मूल सुकेका कारण केही वर्षपछि नदि र खोलामा समेत पानीको वहाव घट्ने जोखिम बढेको छ । यस सँगै नदी र खोला छेउका पानीका स्रोत सुकेर लिफ्टिङका लागि समेत पानी अभाव हुने देखिन्छ ।

यसैगरी सडक वा भवन निर्माणका क्रममा नदीजन्य पदार्थ जस्तै ढुंगा, गिट्टी, वालुवाको उत्खनन र निकासीका कारण खोला र नदिको बवाहमा प्रभाव परेको छ । नदि गहिरो भै वर्षामा अनियन्त्रित बाटो लिने खतरा बढेको छ भने नदि किनारका वस्ती जोखिममा परेका छन् । नेपालकै सेति नदिमा आएको बाढीका कारण ठूलो क्षति भएको थियो भने मेलम्चीमा आएको बाढीका कारण बजार विस्थापित हुन पुगेको थियो । तराईमा माथिल्लो भावर क्षेत्रमा भूमिगत पानी उपलब्ध हुन छाडेको छ । विशेषगरी चुरे क्षेत्रमा वन विनाश र खानी उत्खननका कारण जमीनभित्र पानी संकलन हुन सकेको छैन । पानी चुरेक्षेत्रमा संकलन हुननसकेपछि भावर तराईमा पानी पाउने कुरै भएन । अर्कोतर्फ तराईका सबै ठाउँको पानी पिउन योग्य छैन । त्यसैगरी वर्षामा होचो भाग डुबानमा पर्ने समस्या छ । अब्यवस्थित बसोबासका कारण नदि वा खोला किनारका होंचो भागमा रहेको वस्ती पहाडमा पहिरोले बगाउने र तराईमा डुवानमा पर्ने प्राकृतिक नियम हो तर मानिसहरूको मनपरीका कारण पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति ब्यहोर्नु परेको छ । वर्षेनी हुने जोखिम र क्षतिबाट पाठ नसिक्नु मानिसहरूको ठूलो भूल भएको छ । यसैगरी सरकारबाट भएका अदूूर्दर्शी र राष्ट्रघाती सन्धीसम्झौताका कारण मुलुकमा प्राकृतिक जोखिम बढेको प्रमाण कोशी नदि डुबानलाई लिन सकिन्छ । अन्य बाँध वरपरसमेत वर्षामा डुबान हुने र हिउँदमा छिमेकिकोमा हराभरा खेतिपाति उत्पादन भैरहेका बेला बाँझो खेत टुलुटुलु हेरेर बस्ने बाध्यता छ ।
वन विनाशका कारण धेरै ठूलो खतरा पैदा भएको छ । अहिले विश्वस्तरमा हेर्दा पनि अमेजन वन क्षेत्रको विनाश तीब्र गतिमा भैरहेको भनिन्छ । नेपालकै तराईमा केही वर्ष पहिले पूर्व—पश्चिम राजमार्गका कतिपय खण्डमा वन क्षेत्र भेटिन्थ्यो । तर अचेल वन क्षेत्रकै विचविचमा सहायक मार्ग बनेका र सहायक मार्ग छेउछाउमा समेत वस्ती विकास हुँदै जाँदा वन विनाश तीब्र रुपमा भैरहेको छ । वन विनाश गरेर वस्ती बसाउने क्रम बढेको छ । वन तथा सार्वजनिक जग्गा अतिक्रमण गरी वस्ती बसाउने र यसप्रकारका वस्तीको चलायमान भोटलाई राजनैतिक उद्देश्यका लागि उपयोग गर्ने होडबाजी देखिन्छ । सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरू निर्णायक बनेको धेरै उदाहरण छन् । सुकुम्बासी तथा अव्यवस्थित बसोबासको ब्यवस्थापनको नाममा सार्वजनिक जग्गा र वन विनाश निरन्तर भैरहेको छ । हामीले केही वर्ष पहिला सार्वजनिक जग्गा, वन, ताल तलाउ देखेको ठाउँमा अहिले ठूला भवनहरूको शहर बनेका छन् ।

नदि किनारका यसखाले वस्ती कुनैपनि समयमा बाढीले बढारिने खतरा छ भने सुरक्षित भूगोलका प्राकृतिक एवम् ऐतिहासिक सम्पति विनाशका कारण नियम कानून आफ्नो पक्षमा पार्नसकेका पद पैसा र शक्तिशाली पात्रहरूलाई राज्य वा नागरिकले केही नियन्त्रण गर्न सक्ने भएनन् । कालान्तरमा यी गतिविधिले वातावरणीय असन्तुलन निम्त्याउने निश्चित छ । “कुनै देश जस्ले यसको माटो नष्ट गर्छ त्यसले आँफैलाई नष्ट गर्दछ । वन हाम्रो भूमिको फोक्सो हो जस्ले हावालाई शुद्धिकरण गरेर हामीलाई ताजा शक्ति प्रदान गरिरहेको हुन्छ ।”, अमेरिकी राष्ट्रपति फ्रयाङकलिन डि रुजवेल्टले भनेका छन् । अर्थात् एउटा रुख काट्नु भनेको हामीले सयौं मानिसका फोक्सोहरू काटेको बराबर हो । के फोक्सो काटेर मानिसको जीवन सम्भव छ ?

तसर्थ मानिसले आफ्ना आवश्यकता वा विलासितालाई सिमित गर्दै प्राकृतिक सम्पतिको कममात्र उपभोग गर्ने र उपभोग गरिएको प्राकृतिक सम्पतिको पुनस्र्थापनाका लागि वैकल्पिक उपायको उपयोग गर्नु आवश्यक भएको छ । अन्यथा हामीले पृथ्वीलाई हाम्रा भावी सन्ततिका लागि बचाउन सक्दैनौं । मान्छेको पुस्तौंपुस्ताका लागि यही एउटा पृथ्वी जोगाइराख्नका लागि हरेक ब्यक्ति वा सरकारी वा गैरसरकारी संघसंस्थाबाट गरिने क्रियाकलाप पृथ्थ्वीको दिगोपनका लागि लक्षित हुनु आवश्यक छ ।

Comments
Loading...