प्राविधिक शिक्षाका लागि चापपानीको चन्द्र माविमा महायज्ञ हुने

0 52

पाल्पा । गाउँमै प्राविधिक शिक्षाका लागि चन्द्र मावि बगनासकाली गाउँपालिका ९ चापपानीमा आगामी माघ २ गतेबाट १ हप्ते महायज्ञ संचालन हुने भएको छ ।
महायज्ञमा बाल व्यास नारायण न्यौपानेको मुखारबिन्दबाट संगीतमय कथावाचन हुनेछ ।

विद्यालयमा आयोजित अभिभावक, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरुको भेलाले बगनासकाली गाउँपालिका स्तरीय प्राविधिक शिक्षा संचालन गर्ने गरि सहयोग संकलनार्थ महायज्ञ गर्ने निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज तिमिल्सिनाले बताए ।
भेलामा बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल, वडा अध्यक्ष थानेश्वर तिमिल्सिना प्रवक्ता लक्ष्मी प्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ, पुर्व अध्यक्ष यमलाल तिमिल्सिना, इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमुर्ति तिमिल्सिना, अभिभावक मोहन अर्याल, पत्रकार ओमप्रकाश गैरे लगायतले गाउँ ठाउँमै प्राविधिक शिक्षाको आवयकता रहेकोमा जोड दिए ।

महायज्ञका मुख्य बाचक बाल व्यास नारायण न्यौपानेले महायज्ञ मार्फत कथा सुनाउने, नाच्ने गाउने मात्रै नभएर सामाजिक सद्भाव र सहिष्णुता कायम राख्न तथा पछिल्लो समेत देखिएका सामाजिक बिकृतिहरुको अन्त्यका लागि पनि महत्वपुर्ण सहयोग पुग्ने बताए । विद्यालयका प्रधानाध्यापक लक्ष्मण अधिकारीले विद्यालयको समग्र अवस्थाबारे जानकारी गराएका थिए ।

२००७ सालमा प्रजातन्त्रसँगै यो क्षेत्रमा सार्वजनिक शिक्षाको आवश्यकता रहेको भन्दै आर्यभञ्ज्यांग सिंचासका फत्त बहादुर कँुवरले यो विद्यालयको स्थापनाका लागि महत्वपुर्ण भुमिका खेलेका थिए । २०५४ सालबाट माध्यमिक शिक्षा संचालन भइरहेको यो विद्यालय जिल्लाकै एक नमुना विद्यालयको रुपमा परिचित छ । हाल यहाँ कक्षा ११ र १२ मा ब्यवस्थापन र मानविकी संकायमा समेत अध्ययन भइरहेको छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज तिमिल्सिनाको अध्यक्षता र शिक्षक नारायण गैरेको संचालनमा सम्पन्न भएको थियो ।

Comments
Loading...