फोक्सिङ्गकोटमा बालमैत्री स्थानीय शासन अभिमुखीकरण सम्पन्न

0 248

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङ्गकोटमा एक दिने बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

रम्भा गाउँपालिकाको आर्थिक सहयोगमा संचालन गरिएको अभिमुखीकरण कार्यक्रममा फोक्सिङ्गकोटका विद्यालयहरुका शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष तथा जनप्रतिनिधीहरुको सहभागीता रहेको थियो । सानाहुँगी माध्यमिक विद्यालयमा संचालन गरिएको कार्यक्रममा बालमैत्री शासनको परिभाषा, बालमैत्री शासनका लागि तय गरिएका सुचक, विद्यालयले पूरा गर्नु पर्ने भूमिका, बाल हिंसा, बाल सहभागीता, बालमैत्री वातावरण निर्माणमा स्थानीय स्तरका भूमिका र प्रयासबारे छलफल चलाईएको थियो ।

कार्यक्रममा रम्भा गाउँपालिका स्वास्थ्य शाखा संयोजक महेशप्रसाद आचार्य तथा बालमैत्री स्थानीय शासन रम्भा गाउँपालिका कार्यदलका सदस्य कुश्माखर पाण्डेले सहजीकरण गरेका थिए । बालमैत्री विद्यालय घोषणा गर्नको लागि शिक्षा तथा स्वास्थ्य क्षेत्रका २७ वटा सूचकहरुका बारेमा कार्यक्रममा छलफल चलाईएको थियो ।

रम्भा गाउँपालिकाको नीति तथा कार्यक्रममा गाउँपालिकालाई २०७७ जेठ मसान्त सम्ममा बालमैत्री गाउँपालिका घोषणा गर्ने कार्यक्रम अनुरुप रम्भाका सबैवडामा सचेतना कार्यक्रम संचालन भईरहेको छ । फोक्सिङ्गकोटलाई २०७६ चैत्र मसान्त भित्र बालमैत्री वडा घोषणा तयारी गरिएको छ । समापन कार्यक्रममा प्रमुख अतिथि वडा नं. २ का वडा अध्यक्ष उमानसिं सारुले निर्धारित सूचकहरुलाई पूरा गरि बालमैत्री गाउँपालिका बनाउन सबैमा आव्हान गरे ।

रम्भा गाउँकार्यपालिका सदस्य भोवीसरा सारुले पालिकाको नीति तथा कार्यबmम अनुरुप तय गरिएको बालमैत्री शासन निर्माणमा सबैको महत्वपूर्ण भूमिका रहेकोले कार्यक्रम सफल बनाउन सहयोग गर्नुपर्ने बताए । ३४ जना शिक्षक तथा सरोकारवालाको सहभागीता रहेको कार्यक्रम सानाहुँगी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर गाहाको अध्यक्षतामा चलेको थियो । यसैगरि रम्भा गाउँपालिका–१ हुँगीका शिक्षकहरुलाई पनि बालमैत्री शासन सम्बन्धी एक दिने अभिमुखीकरण तालिम चलाईएको छ ।

हुँगी स्वास्थ्य चौकीको सभा हलमा संचालन गरिएको कार्यक्रममा ९३ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा रम्भा गाउँपालिकाका श्रोत व्यक्ति काशीराम बस्याल तथा स्वास्थ्य शाखा सह संयोजक शिवप्रसाद अर्यालले सहजीकरण गरेका थिए । कार्यक्रममा रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, वडा नं. १ का वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीको समेत उपस्थिती रहेको थियो ।

Comments
Loading...