एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङ्गकोटलाइ बालमैत्री वडा घोषणा गर्ने तयारी गरिएको छ । बालमैत्री स्थानीय शासन समितीका अध्यक्ष उमानसिं सारुको अध्यक्षतामा बसेको बैठकले फोक्सिङ्गकोटलाई माघ मसान्त भित्र बालमैत्री वडा घोषणा गर्ने र सो को लागि आवश्यक काम कारवाही तिव्र रुपमा अगाडि बढाउने निर्णय गरेको हो ।
वडामा रहेका ७ वटा सामुदायिक विद्यालय, फोक्सिङ्गकोट स्वास्थ्य चौकी तथा अन्य संघसंथालाइ क्रियाशील पारि घोषणा गर्ने तयारी गरिएको छ । यस अघि फोक्सिङ्गकोटका विद्यालयहरुलाई बालमैत्री विद्यालय घोषणा गरि सकिएको छ । गर्भवती तथा सुत्केरी महिलाको स्याहार, पोषण, बाल सहभागीता, बाल अधिकार, बाल संरक्षण, आधारभूत शिक्षामा पहुँच, खोपको सुनिश्चितता .लगायतका विषयमा भएका प्रगतिहरुको अभिलेखीकरण तथा आधिकारीक जानकारी गरि घोषणाको लागि आधार तय गरिएको छ ।
घोषणा कार्यक्रमलाई सफल बनाउन वडा अध्यक्ष उमानसिं सारुको अध्यषतामा १०२ सदस्यीय घोषणा सभा आयोजक समिति गठन गरिएको छ । फोक्सिङ्गकोट क्षेत्रमा बालविवाह तथा सबै बालबालिकाको जन्मदर्ता गरिने विषय चुनौतिपूर्ण रहेको छ । बैठकमा सुआहारा नेपालका अधिकृत कुश्माखर पाण्डेले सहजीकरण गर्दै विद्यालय, स्वास्थ्य संस्था, विभिन्न संजाल तथा सरकारी कार्यालयले उपलब्ध गराउनु पर्ने आधिकारीक प्रतिवेदनको बारेमा जानकारी गराएका थिए । बैठकमा फोक्सिङ्गकोटका सबै विद्यालयका प्रधानाध्यापक, बाल कल्ब सहयोगी शिक्षक, युवा संजाल, स्वास्थ्य कर्मी लगायतको उपस्थिती रहेको थियो ।