बंगुरपालनबाटै जमे ओम

0 459

पाल्पा । २०६३ सालमा कोरियाबाट फर्कदा ओम बहादुर बिदेशको कामबाट थकित भइसकेका थिए । त्यतिबेला उनँको उमेर २९ वर्ष मात्रै थियो । धेरै पैसा कमाउने र राम्रो घर बनाएर परिवारलाई सुखसित पाल्ने रहर बोकेर कोरिया पुुगेका ओम बहादुर घर फर्कदा उनमा फेरि विदेश जाने र पैसा कमाउने रहर मरिसकेको थियो ।
बगनासकाली, ९ चापपानी लिधिनडाँडा गाउँका ओम बहादुर सारु अहिले विदेशको सबै सपना भुलेर आफ्नै ब्यवसायमा रमाएका छन् । गाउँमै बंगुरपालन ब्यवसाय गर्न थालेका ओम बहादुर अहिले एउटा सफल किसान बनेका छन् । यसबाट उनको आम्दानी पनि राम्रो र सामाजिक प्रतिष्ठा पनि बढेको छ । अहिलेसम्म उनले आफू मात्रै सफल नभई आफू जस्तै विदेशबाट फर्केका एक दर्जन बढी ब्यक्तिहरुलाई सीप सिकाई सफल उद्यमी बनाएका छन् ।

ओम बहादुरकोमा अहिले १७ वटा बंगुर रहेका छन् । त्यस्तै ७ वटा जंगली बंगुर (बदेल) पनि छन् । उनले बंगुरको आहाराका लागि ३ रोपनी क्षेत्रफलमा ब्यवसायिक घास लगाएका छन् । बंगुर पालन ब्यवसायमा ७ लाख रुपियाँ बढी रकम लगानी गरिसकेका भएका ओम बहादुरले अहिलेसम्म ९ जना बंगुर पालकहरुलाई तालिम तथा सहयोग गरिसकेका छन् । जसका कारण उनीहरु पनि उद्यमशील भएका छन् । उनले २७ जना बंगुरपालक किसानहरुलाई भेटेनरी तालिम समेत संचालन गरिसकेका छन् । त्यस्तै ३० जना बंगुर पालक किसानलाई खोर निर्माण र ब्यवस्थापनको तालिम समेत दिएका छन् ।

श्रीमति छोराछोरी सहित ८ जनाको उनको परिवार अहिले बंगुर पालन ब्यवसायमै ब्यस्त छ । ओम बहादुरले अहिले गाउँमा बंगुर पैचो कार्यक्रम समेत चलाएका छन् । गाउँका उद्यमीहरुले ओम बहादुरकोबाट बंगुरको बच्चा पैचोमा लगेर पाल्ने र त्यही बच्चाले उत्पादन दिन थालेपछि उनीसँग लगेको बंगुरको बच्चा फर्काइदिन्छन् । जसका कारण पनि छिमेकीहरु ओम बहादुरसित औधीस खुशी छन् ।

ओम बहादुरको विदेशबाट फर्केर आएका युवाहरुलाई उद्यम तर्फ प्रेरित गराउने , केहि नगरी बसेका युवा तथा किसानहरुलाई बंगुर पाल्न हौसला दिने, १,२ बंगुर पाल्दै आएका उद्यमिहरुलाई थप बंगुर संख्या बढाउन लगाउने, ४,५ बंगुर पालि आई अलमलिएका उद्यमिहरुलाई फार्म दर्ता गराउन प्रेरित गर्ने, अन्य फार्महरुमा भन्दा केहि सस्तो मुल्यमा बंगुर पाठा पाठी उपलब्ध गराउने, अन्य उद्यम गरेका उद्यमी जस्तै  कुखुरा, बाख्रा पालन गरी बसेका उद्यमीहरुलाई पनि थप संख्या बढाउनुका साथै फार्म दर्ता गराउन प्रेरित गराउने, समुदायमा उद्यमशिल विकासका लागी एक जनाले मात्र विकास गरेर हुँदैन सबैले गर्नु पर्दो रहेछ भन्ने ज्ञान दिने उनको योजना
रहेको छ ।

उनले आफ्नो ब्यवासयको पवर्धनका लागि साइन्टिष्ट ज्यूको सल्लाह सुझाब अनुसार गर्भवती माउ बंगुर राख्ने खोर बनाउने योजना बनाएका छन् । पोखरा गई उन्नत जातको भाले बंगुर खरिद गरी ल्याउने, ब्ांगुरलाई चिउराको भुस मात्र खुवाइएको थियो अब देखि बंगुरको दाना मिसाई खान दिने, माउ बंगुरको संख्या बढाउने, बांगुरको खोर कोठा बढाउने, अन्य फार्म मा भन्दा केहि सस्तो मुल्यमा बंगुर बच्चा उपलब्ध गराउने, अन्य साथीहरुलाई पनि आफू जस्तै उद्यमि बन्न प्रेरणा दिने उनको आगामी योजना रहेको छ । दायित्व अभियानको सहयोगमा नयाँ घर र इनोभेसन एक्सन पाल्पाले संचालन गरेको इनोभेसन च्यालेन्ज २०१४ को उत्कृष्ठ दोस्रो पुरस्कारबाट पुरस्कृत भएपछि आफू थप उत्साही भएको उनले बताए ।

 

 

Comments
Loading...