बगनासकालीका जनप्रतिनिधिलाई कोभिडबारे सचेतना र जोखिम न्यूनीकरण तालिम

0 494

पाल्पा । बगनासकाली गाउँपालिकाका जनप्रतिनिधिहरुको लागि कोभिड १९ नयाँ स्वरुप सम्बन्धी सचेतना जोखिम न्यूनीकरण तथा ब्यवस्थापन तालिम बगनासकालीमा सम्पन्न भएको छ । ग्रामीण स्वाबलम्बन बिकास केन्द्र काठ्माण्डौको आयोजना, बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था लि. बगनासकाली ८ बरांगदीको ब्यवस्थापन, बगनासकाली गाउँपालिकाको समन्वय तथा माल्टेश्वर इन्टरनेशनल र जर्मन कोअपरेसनको आर्थिक सहयोगमा सञ्चालित तालिममा बगनासकाली गाउँपालिकाका जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर घर्ती सहित पत्रकार प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तालिममा स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख बिश्वनाथ न्यौपानेले कोभिड १९ पाल्पा जिल्लामा परेको प्रभाव र हालको अवस्था तथा यसको जाखिम न्यूनीकरणका लागि जनप्रतिनिधिहरुको भूमिका बिषयमा सहजीकरण गर्नुभएको थियो । बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले कोभिड १९ ले बगनासकाली गाउँपालिकामा परेको प्रभाव र पालिका अन्र्तगत भएका कामहरुको बारेमा जानकारी सहित सहजीकरण गर्नुभएको थियो । सुआहारा कार्यक्रमकी जिल्ला स्रोत ब्यक्ति अनिता श्रेष्ठले कोभिड १९ जोखिम न्यूनीकरणमा जनप्रतिनिधिहरुको भूमिका, ब्यक्तिगत रुपमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा मापदण्ड लगायतको बिषयमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन समारोहमा आफ्नो धारणा राख्दै बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले गाउँपालिकाले कोभिड १९ महामारी न्यूनीकरण र कोभिड प्रभावितहरुको लागि पालिकाले उचित कार्यक्रम बनाएर अगाडि बढेको बताउनुभयो । गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी दर्लामीले कोभिड अस्पताल निर्माण सँगै कोरोनाका बिरामीहरुलाई उपचार सहयोग लगायतका बिभिन्न कामहरु पालिकाले गर्दै आएको बताउनुभयो ।

जिल्ला सहकारी संघका पाल्पा जिल्ला अध्यक्ष भुपति पाण्डे, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले फेरि पनि ओमिक्रोन भाइरस नेपालमा देखिइसकेकोले पुनः सावधानी सहित स्थानीय सरकारले गर्नुपर्ने तयारी गर्दै जानुपर्ने बताउनुभयो । बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण भुसालले सहकारी मार्फत दुग्ध उत्पादन संकलन र बजारीकरण, अकबरे खुर्सानी पकेट क्षेत्र बिस्तार, बचत तथा ऋण प्रवाह सहित सहयोगी संस्थाहरुको सहयोगमा बरांगदीमा आइसोलेसन निर्माण गर्न लागिएको बताउनुभयो । सोही कार्यक्रम अन्र्तगत बिद्यालय र स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री सहित आवश्यक अन्य सामाग्रीहरु बितरण पनि गरिएको उहाँले बताउनुभयो ।
सहकारीले पहिलो चरणमा जनप्रतिनिधिहरुका लागि तालिम सञ्चालन गरेको र लगत्तै शिक्षकहरु, स्वास्थ्य स्वयम्सेविका र सहकारीका सदस्यहरुका लागि तालिम सञ्चालन गरिने संस्थाका सचिव कमलराज तिमिल्सेनाले बताउनुभयो ।

संस्थाका बरिष्ठ उपाध्यक्ष मोतिलाल बस्यालको स्वागत, सचिव कमलराज तिमिल्सेनाको संचालन र अध्यक्ष कृष्णप्रसाद भुसालको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

Comments
Loading...