बगनासकालीका निवर्तमान जनप्रतिनिधिहरुको बिदाई

0 329

पाल्पा । बगनासकाली गाउँपालिकाका निवर्तमान जनप्रतिनिधिहरुलाई एक कार्यक्रमका बीच बिदाई गरिएको छ । २०७४ सालमा निर्वाचित बगनासकाली गाउँपालिकाका कार्यपालिका सदस्य सहित ४९ जना जनप्रतिनिधिहरु मध्ये ८ जना मात्रै अहिले दोहोरिएको छन् । अन्य ४१ जना जनप्रतिनिधिहरु बिदा भएका छन् ।

निवर्तमान जनप्रतिनिधिहरुलाई बिदाई कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले यो ५ वर्षको अवधिमा जनप्रतिनिधिहरुले सीमित स्रोत साधनका बीच पनि धेरै राम्रा कामहरु गर्नुभएको बताउनुभयो । उहाँले २०७४ सालमा भएको निर्वाचनबाट जनप्रतिनिधिहरु आउँदा वडा र गाउँपालिकामा पर्याप्त जनशक्ति साधन स्रोत लगायतको अभाव हुँदाहुँदै पनि सबै कुराहरुको उचित ब्यवस्थापन गर्दै अहिलेको अवस्थासम्म ल्याउन निवर्तमान जनप्रतिनिधिहरुको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले गाउँपालिकाले आगामी दिनमा पनि निवर्तमान जनप्रतिनिधिहरुसँग सुझाव सल्लाह लिई योजनाहरुलाई अगाडि बढाउने बताउनुभयो । उपाध्यक्ष पाठकले बगनासकालीलाई समृद्ध पालिका बनाउनका लागि निवर्तमान जनप्रतिनिधिहरुको सहयोग पनि महत्वपुर्ण रहने बताउनुभयो ।

कार्यक्रममा बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले जनप्रतिनिधि र कर्मचारीहरुको सहकार्यकै कारण बगनासकाली आजको सफल अवस्थासम्म आइपुगेको बताउनुभयो । बिदाई कार्यक्रममा वडा नं. २ पोखराथोकका निवर्तमान अध्यक्ष टेकनाथ शर्मा र वडा नं. १ चिर्तुंगधाराका निवर्तमान वडा सदस्य कुल प्रसाद ढुंगानाले अहिले निर्वाचित भएर आएका जनप्रतिनिधिहरु युवाहरु नै रहनुभएकोले बगनासकाली थप उचाईमा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा निवर्तमान जनप्रतिनिधिहरुलाई दोसल्ला, सम्मानपत्र र उपहार प्रदान गरेर बिदाई गरिएको थियो । शिक्षा शाखा प्रमुख गुनाराम खनालको संचालन र गाउँपालिका अध्यक्ष सरस्वती चिदीको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

Comments
Loading...