बगनासकालीका यम्घा, दर्लमडाँडा र चापपानीका सबै बिद्यालय बालमैत्री घोषित्

0 26

नेत्र गैरे । पाल्पा
बगनासकाली गाउँपालिकाको निति तथा कार्यक्रम अनुसार गाउँपालिकालाई बालमैत्री स्थानिय शासनका लागि बालमैत्री बिद्यालय घोषणा कार्यक्रमको थालनी गरेको छ । बिद्यालयहरुलाई बालमैत्री बनाउनका लागि शुरु गरिएको अभियानलाई सफल बनाउन बिद्यालयको अनुगमन गरि सुचक पुरा गरेका बिद्यालयहरु लाई बालमैत्री बिद्यालय घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकालाई बालमैत्री स्थानिय शासन घोषणा गर्न ३९ वटा सुचकलाई आधार बनाई काम गरिएको र करिव ८० प्रतिशत काम सम्पन्न भैसकेपछि बालमैत्री बिधालय घोषणा गरिएको फोकल पर्शन मनोज आचार्यले बताए । गाउँपालिकामा हाल ३० वटा सामुदायिक र ७ वटा सस्थागत बिद्यालय रहेकोमा पहिलो चरणमा वडा नम्बर ५ का दर्लमडाँडा माध्यमिक बिद्यालय, सरस्वती आधारभुत बिद्यालय र नर्थ प्वाइन्ट बोर्डीङ स्कुल रहेका छन् । यस्तै वडा नम्बर ६ का सिता मा. बि., गुँगा मा.बि. अरनिको आधारभूत बिद्यालय, भगवती आ. बि., बालज्योती प्रा.बि.र कानुङ प्रा.बि. रहेका छन् । वडा नम्बर ९ का चन्द्र मा.बि., बसन्त आ. बि.,कालिका आ.बि.र बसन्त प्रा.बि. रहेका छन् ।

घोषणा कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले आउँदो पिँडीले मुलुकको समृद्धि र सकारात्मक सोच सहितको आर्थिक समृद्धिका लागि बेलैमा दक्ष जनशक्ति उत्पादनमा गाउँपालिकाले निति बनाई काम गरेको बताए । बालबालिकाको दिर्घकालिन बिकासका साथै गुणस्तरिय शिक्षा, समृद्धिको सोच सहितका दक्ष नागरिक उत्पादन गर्न बालमैत्री स्थानिय शासन कार्यक्रम अगाडी ल्याइएको उपाध्यक्ष सरस्वती चिदीको भनाई थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले गाउँपालिकाका बिद्यालयहरुमा बालकक्षा, कक्षाकोठा व्यवस्थापन, शौचालय, खानेपानीको व्यवस्थापनका साथै बालबालिकाहरुका बालमैत्री व्यवहार र आचरणको समेत सकारात्मक बिकास हुदै गएको हुदाँ बालमैत्री स्थानिय शासन घोषणातर्फ गाउँपालिका उन्मुख रहेको र नेपालकै पहिलो बालमैत्री गाउँपालिका बनाउन आफुहरु लागि परेको बताए ।

गाउँपालिकाले पौष महिना भित्र बालमैत्री बिद्यालय घोषणा गरि सक्ने र चैत्र मसान्त भित्र बालमैत्री स्थानिय शासन घोषणा गर्ने लक्ष्य रहेको प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले बताए । गाउँपालिकाका शिक्षा शाखा प्रमुख गुनाराम खनालले गाउँपालिकामा ३७ वटा बिद्यालयमा ३ हजार ६ सय ५० जना बिधार्थी रहेको, चारवटा सिकाई केन्द्र रहेको जानकारी दिदै घोषणा मात्र ठूलो नभई यसको स्थायित्व महत्वपुर्ण हुने हुँदा स्थायित्वको लागि योजनाबद्ध रुपमा अघि बढ्ने बताए । कार्यक्रममा तिनवटा वडाका १३ बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरु लाई बालमैत्री घोषणा प्रमाणपत्र उपलब्ध गराईएको थियो ।

Comments
Loading...