बगनासकालीको समृद्धिका लागि ‘युवाको सहर’ अभियान

0 26

भोजराज भट्टराई । पाल्पा
स्थानीय युवा र समुदायहरूलाई प्रविधि प्रयोग गरेर गाउँठाउँहरूलाई डिजाइन गर्ने र जीवन्त बनाउने लक्ष्यसहित बगनासकाली गाउँपालिकामा ‘युवाको सहर अभियान’ सञ्चालन हुने भएको छ ।

‘दिगो र लोकतान्त्रिक सहर डिजाइनका लागि युवा’ भन्ने अभियानका साथ पर्यटकीय स्थानको पहिचान र प्रबद्र्धन, वातावरण मैत्री सहर, कृषिमा प्रोत्साहन र बजारीकरणको सहयोग, प्रतिभा र उर्जावान व्यक्तिहरूलाई काम गर्ने संस्कृतिको विकास, स्थानीय तहमा प्रविधिको पहुँच लगायतका लक्ष्यसहित बगनासकालीमा युवाको सहर अभियान सञ्चालन हुने भएको हो ।


गाउँपालिका सभाहलमा बुधबार कथाचक्र (स्टोरी क्याम्प)बारे जानकारी गराउने उद्देश्यसहित आयोजित कार्यक्रममा युवाको सहर अभियानको उद्देश्य, कार्यविधि, उपायहरू, कार्ययोजना, उपलब्धि, सहभागिता संरचनाबारे जानकारी गराइएको थियो । कार्यक्रममा स्टोरी साइकल ग्रुपका संयोजक सौरभ ढकालले ‘युवाको सहर’ स्टोरी साइकल र अमेरिकी सरकारद्वारा डिजाइन गरिएको एक अभियान भएको बताए । उनले युवाको सहर अभियान स्थानीय युवा र समुदायहरूलाई प्रविधि प्रयोग गरेर गाउँठाउँहरूलाई डिजाइन गर्ने र जीवन्त बनाउनमा सक्रिय भाग लिन सशक्त पार्ने सन्दर्भमा केन्द्रित रहेको औंल्याए । ढकालका अनुसार अभियान प्रतिभाको पोषण र संरक्षण, आर्थिक अवसरहरूको विस्तार र नागरिक संलग्नताको एक मजबुत संस्कृति सिर्जनामा केन्द्रित रहनेछ ।


‘स्टोरी साइकल एक वैकल्पिक मिडिया मञ्च हो, जसको उद्देश्य ग्रामीण भेगहरूमा सुन्न नसकिएको र भन्न बाँकी कथाहरू जम्मा गर्ने र बढावा दिन स्थानीय नागरिकसँग मिलेर कथाहरू संकलन, प्याकेज र प्रसारण गर्ने कार्य गर्दै आएको छ ।’ ढकालले भने, ‘यो संस्था २००८ बाट ब्यापप्याक पत्रकारिताको रूपमा सुरु गरिएको थियो । पछि यो आधिकारीक रूपमा २०१० मा स्टोरी साइकलको रूपमा दर्ता भयो ।’ ढकालले युवाको सहर अभियानले स्थानको परिचय, अन्वेषण, प्राकृतिक संसाधन, संस्कृति, चाडपर्व, सम्पदास्थलबारे जानकारी दिदै समुदायको दिगोपना सुधारका लागि सहजीकरण गर्ने बताए ।


स्टोरी साइकल प्रा.लि.द्वारा सञ्चालित युवाको सहर अभियानले कथा र प्रविधिको माध्यमद्वारा दमौली, सुर्खेत, बारपाक, सप्तरी, सिन्धुली र खुम्बु क्षेत्र लगायत देशका विभिन्न ग्रामीण र अर्ध सहरी भागहरूमा विभिन्न यात्र र आवासीय शिविरहरू गरिसकेको स्टोरी साइकलका क्रियटिभ डिजाइनर प्रिजुन कोइरालाले जानकारी दिए ।


कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल, उपाध्यक्ष सरस्वती चिदी, प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठ, वडा अध्यक्ष जनप्रतिनिधि र अन्य सरोकारवालाहरूले आधुनिक प्रविधि र खुला तथ्याङ्कको प्रयोगमार्फत सहरी क्षेत्रको योजनाबद्ध विकासका लागि युवाको सहर अभियान सान्दर्भिक रहेको औंल्याए । सेमीनारमा सहभागीहरूले अभियानले युवाहरूलाई केही हतसम्म गाउँमा नै उद्यममा लगाउन सकिने लक्ष्य रहेकोले योजना अनुसारको कार्यक्रम सञ्चालन हुन सकेमा अभियान सार्थक बन्ने बताए ।


युवाको सहर अभियान अन्तर्गत बगनासकाली गाउँपालिकाको हरेक वडास्तरमा भेला गराई , सेमीनार, स्टोरी क्याम्प, ड्रिम्म क्याम्प, स्थलगत भ्रमण र नक्साङ्कन एपबारे जानकारी गराई आगामी बैशाखसम्ममा युवाको सहर अभियानको कार्ययोजना बनाइने स्टोरी साइकल ग्रुपले जनाएको छ । युवाको सहर अभियान अमेरिकी सरकारको सहयोगमा पाल्पाको बगनासकाली गाउँपालिका र तनहुँको ऋषिङ्ग गाउँपालिकामा गर्न लागिएको हो ।

Comments
Loading...