बगनासकालीको १ सय दिनको कार्य प्रगति सार्वजनिक

0 259

पाल्पा । बगनासकाली गाउँपालिकाले आज स्थानीय सरकारको एक सय दिनको प्रगति विवरण सार्वजनिक गरेको छ । गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीले यो १ सय दिनको अवधिमा गाउँपालिका मार्फत भएका महत्वपुर्ण निर्णय र कार्यक्रमहरुबारे जानकारी गराउनुभयो ।

यो अवधिमा एउटा गाउँसभा र सात वटा गाउँकार्यपालिकाको बैठक भएको र सबै जसो विषयगत समिति गठन गरिएको प्रतिबेदनमा उल्लेख छ । पालिकाले शिक्षा, स्वास्थ्य, कृषि पशुपालन लगायतका क्षेत्रमा प्रसस्त बजेट बिनियोजन गरेको र प्रभावकारी रुपमा योजना संचालन गरिने जनाएको छ । अध्यक्ष चिदीले पालिकाले अभिभावक बिहीन बालबालिकाको स्याहार सम्भार र शिक्षाको लागि मासिक रु १ हजार भत्ता पालिकाले ब्यवस्था गरेको, ग र घ समूहका अपांगता भएका ब्यक्तिहरुका लागि मासिक ५ सय र ३ सयका दरले निर्वाह भत्ता साउनबाटै लागू हुने गरि प्रदान गरिने बताउनुभयो ।

पालिकाले भाषा, साहित्य तथा संस्कृति शिक्षा, स्वास्थ्य, पर्यटन युवा तथा खेलकुद, गरिबी निवारण, सहकारी, सामाजिक परिचालन, सूचना तथा संचार, बालबालिका, महिला, जेष्ठ नागरिक, आदिवासी जनजाति, अपांग, सिमान्तकृत बोटे र कुमाल, जातिलाई मध्यनजर राखि प्राप्त साधन स्रोतको दायरामा रहि सम्बोधन गरिएको अध्यक्ष चिदीले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले गाउँपालिकाले लिफ्टिङ खानेपानीको बिद्युत महसुल अनुदान बृद्धि गरि ६० प्रतिशत पुर्याइएको, वर्षातको समयमा स्थानीय बाटोहरु मर्मत सम्भार गर्ने व्यवस्था मिलाइएको, साविकका सबै वडाहरुमा टोल विकास समिति गठन गरिएको बताउनुभयो ।

पालिकामा जिल्ला र प्रदेश कार्यालयमा मार्फत हुने विकास योजनाहरुमा समेत चासो दिई निरन्तर रुपमा सम्बन्धित कार्यालयहरुमा पुगि ध्यानाकर्षण गराएको र सोही बमोजिम योजनाहरु पनि संचालन भएको उहाँले बताउनुभयो । यही आर्थिक बर्षको सुरुवाटै सामाजिक सुरक्षा भत्ता वडामै बैंकका प्रतिनिधि पुगेर वडासँगको सहकार्यमा वडाबाटै बितरण गरिने जसका कारण सामाजिक सुरक्षा भत्ता लिनकै लागि टाढा बैंकमा जानुपर्ने समस्या नरहने उहाँले बताउनुभयो । पालिकाले नियमित रुपमा अति बिपन्न असहाय र औषधी उपचार गर्न पर्नेहरुलाई सहयोग गर्दै आएको, विपद्का समयमा तारजाली तथा त्रिपाल तथा राहत बितरण गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले गाउँपालिकाको सेवाप्रवाहलाई थप सेवाग्राही मैत्री बनाउँदै लगिएको बताउनुभयो । गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ३ का अध्यक्ष टिका बहादुर थापाले स्थानीय सरकारको प्रतिनिधिको रुपमा जनप्रतिनिधिहरु जनताको दुख सुखको सारथी बनेको बताउनुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कमलराज तिमिल्सिना, मिलन बिश्वकर्मा, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिना, पत्रकार कृष्ण पोखरेल, नेत्र गैरे लगायतले थप सुझाव सल्लाह दिनुभएको थियो ।

Comments
Loading...