बगनासकालीमा धार्मिक पर्यटनको सम्भावना बढी

0 294

पाल्पा । बगनासकाली गाउँपालिकाको पर्यटन क्षेत्रमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको छ । यहाँ २ सय १४ पुराना पुरातात्कि मठमन्दिरदेखि आधुनिक कलाकौशलबाट निर्मित मठमन्दिर दर्जनौं छन् ।

सबैको आ–आफ्ना विशिष्ट पहिचान र महत्व छ । जिर्णोद्धार र थप सजिसजावट सहित प्रचार प्रचारमा ध्यान दिन सके यहाँको धार्मिक पर्यटनले राम्रो गति लिन सक्ने देखिन्छ । वडा नं. ७ खानीगाउँ दैलातुङमा रहेको २ सय १४ वर्ष पुरानो (ऋषिकेशेश्वर) महादेव मन्दिर रहेको छ । यो मन्दिर यस क्षेत्रमै पुरानो मन्दिर हो । यो मन्दिरलाई यसअघि अन्नपूर्णेश्वर मन्दिर भनिएपनि मन्दिर भित्र रहेको शिलालेखमा ऋषिकेशेश्वर महादेव लेखिएको भेटिएको छ ।

वि.सं. १८६१ सालमा रामशाली पण्डितले उक्त मन्दिरको निर्माण गरेको इतिहास छ । यहाँ दैनिक पुजाआजा हुने र यस क्षेत्रकै बिशिष्ट पहिचानको रुपमा मन्दिर रहेको स्थानीय पदमराज बस्यालले बताए । “यो मन्दिरको प्रचार प्रसार गर्न सक्ने हो भने यहा“आउने धार्मिक पर्यटकहरुको संख्यामा अझ बृद्धि हुन सक्छ ।” उनले भने ।

गाउँपालिकाका ९ वटै वडाको केही न केही धार्मिक महत्व रहेको छ । वडा नं. ८ बराङ्दीमा रहेको १ सय ८ पिपल सहितको घिउसीबास शिवालय मन्दिरले धार्मिक पर्यटकको उत्तिकै मन जित्दै आएको छ । यहाँ बिशेषगरि साउनको महिनामा पिपलीमा जल चढाउनेहरुको घुइचो लाग्ने गर्दछ । यस बाहेक हरेक दिन यहा“ धार्मिक पर्यटकहरू जाने गर्दछन् । त्यस्तै शिवरात्रीको बेला यहा“ बिशेष मेला लाग्ने गर्दछ । मन्दिरको गुरुयोजना सहित मन्दिर समिति लागिपरेको छ ।

सोही वडाको शिवासन धाममा पनि दैनिक धार्मिक पर्यटकहरू पुग्ने गरेका छन् । यहाँ रहेको ध्यान गरेर वसेको शिवको मुर्ति नेपालको सवैभन्दा ठुुलो रहेको दावी गरिएको छ । मन्दिर क्षेत्रका लागि स्थानीय झिल्लु प्रसाद वस्यालले जग्गादान गरेका थिए । बस्यालकै छोरा हाल वेलायतमा वस्ने भिम वस्यालको नेतृत्वमा यो धामको निर्माण गरिएको हो । महामृत्युञ्जय शिवजीको मूर्ति, बिराट नर्वदेश्वर शिव अखण्ड शान्ति दिप रहेको छ । हालसम्म मूर्ति तथा धामको पूर्वाधार विकासमा २ करोड बढी लगानी भइसकेको र २ वर्ष अघि महायज्ञबाट संकलित रकम र सरकारी तथा गैरसरकारी संस्थाहरुको सहयोगमा अहिले मन्दिर निर्माणको काम चलिरहेको धामका अध्यक्ष माधव बस्यालले बताए । यहाँ शिवरात्रीको अवसरमा बिशेष मेला लाग्छ ।

बगनासकाली गाउँपालिकाको वडा नं. ५ दर्लमडाँडामा रहेको दर्लममहाकाली मन्दिरले धार्मिक पर्यटकहरुका लागि एउटा महत्वपूर्ण गन्तब्यको परिचय बनाएको छ । दर्लमडाँडा निवासी स्व. पदमपाणी गैरेका पूर्वज कुलानन्द तारापतिहरुले बि.सं.१९३० देखि सोही ठाउमा महाकाली भगवतीको नित्य पूजा गर्दै आएका थिए । स्र्विर्गय पदम्पाणी गैरेले बि.सं. १९९० देखि श्री दर्लममहाकाली भगवतीको सानो मन्दिर निर्माण गरि माटोको मुर्ति बनाई पूजा आज सुरु गरेका थिए । हाल यो मन्दिर मनकामना मन्दिरको शैलीमा निर्माण गरिएको छ ।

हाल यो मन्दिर तामाको छानो र गजुर सहित प्यागोडा शैलीमा रहेको छ । मन्दिरकोे दक्षिण तर्फ सुन झाँक्री र चण्डी माईको थान साथै पूर्वतर्फ महाकालीको उत्पत्ति स्थल रहेका छन् । मूल मन्दिरको पूर्व तर्फको ९ कोठे भवनको माथिल्लो तलामा रेलिङ सहितको भवन निर्माण गर्ने, सामुदायिक भवन, वेद विद्यालय, मन्दिर परिसरमा ढुंगा छाप्ने, पानी टंकी र भ्यू टावर निर्माण, गणेश र लक्ष्मी नारायणको मन्दिर साथै धर्मशाला निर्माणका काम क्रमशः अगाडि बढाउने गुरुयोजना रहेको र यसका लागि नेपाल सरकार, पुरातत्व विभाग, जिल्ला समन्वय समिति सहित गाउँपालिका लगायतसित समन्वय गर्ने योजना रहेको अध्यक्ष ङणराज गैरेले बताए । यो मन्दिरमा हरेक वर्ष नवदुर्गाको समयमा बिशेष पुजाआजा हुन्छ भने हरेक वर्ष कात्तिके ठूली एकादशीको पर्सी पल्ट बिशेष रथयात्रा हुँदै आएको छ ।

सोही वडाको राम्दीमा रहेको सुन गुफा पनि एउटा महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तब्य हो । किंवदन्ती अनुसार बि.सं. १८६५ सालमा तानसेन नजिकैको गोर्खेकोट भन्ने गाउमा मावलीमा बस्दै आएका केशव भट्टराईले पाल्पाका राजा मणिमुकुन्द सेनलाई घोडाको बच्चो दिएवापत राजाले राम्दी क्षेत्रको सुनादी भन्ने ठाउँको जग्गा उनलाई दिएछन् । सुनादी गाउ“मै भट्टराईले पशुपालन गर्ने योजना बनाएपछि राजाले गोठ बनाउन समेत सघाई सुनवीर माझी नामक गोठालो राखिदिएछन् ।

गोठालो भने रातको समयमा नजिकैको बगनास गाउँमा भजन गाउ“न जादो रहेछ । यो कुरा थाहा पाएपछि केशवले गोठमा निरीक्षण गर्न गएछन् । उनले गाईगोठमा बाघहरुले गाईभैसीलाई पहरा दिएर राखेको देखेछन् । बिहान पख गोठालो फिलिलि गरि उडेर आएछ । त्यसपछि भट्टराईले गोठालोलाई गाली गर्दा म सिद्व हुँ भनी तलतिर गएर त्यही गुफाभित्र पसेछ र त्यही अलप भएछ । पछि गाउँलेहरुले सोही स्थानमा पुजा आजा गर्न थाले । त्यसैको आधारमा सुनसिद्व अर्थात् सुनगुफा नाम रहेको पाइन्छ ।
गुफामा झण्डै १ सय १० वर्षअघिदेखि निरन्तर अखण्ड धुनी बोल्दै आएको छ । त्यस्तै यहाँ गाई भैसीको दुध ल्याएर चढाउँदा गाईभैसी निरन्तर ब्याउँछ भन्ने जनबिश्वास रहिआएको छ । यस गुफाको समय सापेक्ष विकास र प्रचार प्रसारका लागि गाउ“पालिका र वडा कार्यालय योजना बनाएको वडाध्यक्ष इश्वरकुमार रानाले बताए ।

यसबाहेक बगनासकालीमा अन्य दर्जनौं धार्मिक गन्तब्यहरू रहेका छन् । बगनासदेवी, नायरदेवी, सिखरे भगवती, मालारानी मन्दिर लगायत अन्य गन्तब्यहरू पनि रहेका छन् । गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले यस्ता गन्तब्यहरुको पहिचान गरि समय सापेक्ष बिकास र प्रचार प्रसारका लागि गाउँपालिकाले सम्बोधन गर्दै आएको बताए । गाउँपालिकाले यस वर्ष पर्यटन क्षेत्रका लागि बगनासकाली गाउँपालिकाले बिभिन्न कार्यक्रमहरु बनाएर अगाडि बढाएको र त्यसले बगनासकालीको पर्यटनमा धेरै हदसम्म टेवा पुग्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताए ।

Comments
Loading...