बगनासकालीमा शिक्षाः विगत र वर्तमान

0 297

गोपाल प्रसाद वश्याल
विषय प्रवेशः वगनासकाली गाउँपालिका भौगोलिक हिसाबले पाल्पा जिल्लाको सदरमुकाम तानसेनको उत्तर र पूर्व सिमानामा जोडिएको र शिक्षा विकासका सन्दर्भमा केहि अर्थपूर्ण अभ्यासहरू भएका पाइन्छन् । राणा शासन ताका विभिन्न स्थानमा गएर संस्कृत अध्ययन गरेका पण्डित ज्योतिषहरूले गुरूकुल शिक्षा विस्तार गरेका थिए । राणा शासनको अन्त्यसँगै सार्वजनिक शिक्षा विकासका प्रयास भए तापनि वगनासकालीमा आजसम्म पनि केहि सिमित ब्यक्तिहरूका पदीय हैसियत बाहेक शैक्षिक अवस्था सामान्य रहेको पाइन्छ । यस लेख तयार गर्ने क्रममा विभिन्न माध्यमबाट प्राप्त जानकारीलाई गुरूकुल शिक्षा, सार्वजनिक शिक्षाको विकास र वर्तमान अवस्थालाई मुख्य रूपमा विश्लेषण गर्दै प्रस्तुत गरिएको छ ।

गुरूकुल संस्कृत शिक्षाको सन्दर्भः वि. सं. २००७ साल पूर्व राणा शासनकालमा सर्बसाधारणका लागि शिक्षा आर्जन गर्नु सुलभ थिएन यद्यपि राणा प्रधानमन्त्री देव शमशेरले केहि विद्यालय खोले; चन्द्र शमशेरका पाला नेपाली भाषा प्रकाशिनी समिति र जुद्ध शमशेरका पाला वि. सं. १९९० देखि नेपालमा मेट्रिक बोर्डको शुरूवात भयो । तथापि केहि मानिसहरू ब्यक्तिगत सम्बन्ध वा पहलमा स्वाध्ययनमा गुरूकुलीय पद्धतिमा संस्कृत शिक्षा ग्रहण गरेका पाइन्छन् । यस्तै सत्प्रयासबाट आफू र अन्यलाई समेत संस्कृत भाषाग्रन्थहरूको अध्ययन गर्ने र गराउने अग्रणी ब्यक्तित्व हरूमा म्याउछापे पण्डित हुमकान्त न्यौपाने, धरमपानीका गुरूज्यूहरू, पोखराथोकका पं. ढकेश्वर कोइराला, पं. यादवनाथ कोइराला, बर्तुङ्गका लेखनाथ नेपाल, ध्रुवघाटका पं. शोभाखर खनाल, पं. लेखनाथहरू समकालीन रूपमा अध्ययन गर्ने विद्वानहरू हुनुहन्थ्यो । वहाँहरूले कुनै औपचारिक शिक्षालयभन्दा पनि केहि शिष्यहरू जम्मा गरी गोठ, पौवा आदिमा भेला गरी कौमदी पढाउने चलन थियो । खासगरी संस्कृत ब्याकरण, कर्मकाण्ड, चिना लेखन, ज्योतिष, सप्ताह वाचन आदिमा पारंगत प्राप्त गर्ने प्रयास हुन्थ्यो । त्यस्तै विद्वानहरू हुनुहुन्थ्यो चिन्तामणि खनाल, त्रिलोचन नेपाल र तानसेनका पं. माधन प्रसाद देवकोटा संस्कृतका वरिष्ठ साधक र औपचारिक शिक्षा सेवा गर्नु भएको थियो । यस्तै यम्घा थामडाँडाका ज्योतिष बालाकृष्ण वश्यालले वि. सं. १९८३ मा पात्रो लेख्नुभएको वहाँका सुपुत्र दयाराज वश्यालले बताउनुभयो । त्यस्तै यम्घा ठूलापोखराका पं. देउनारायण पाण्डे कर्मकाण्ड र विद्वान पण्डित हुनुहुन्थ्यो । यस्तै स्वाध्ययनमा गेझाका लक्ष्मीकान्त देवकोटा र दैलातुङ्गका दिवाकर उपाध्याय पनि मानिएका पण्डित हुनुहुन्थ्यो । त्यस्तै दर्पुकका सिमलचौरे पण्डित गोपिकृष्ण पराजुली नामी पण्डित हुनुहुन्थ्यो । यि विद्वानहरूको गुरूकुलीय शिक्षा पद्धति प्रमुख विशेषता थियो । मलेङ्गका बैद्य माइला भनेर चिनिने दिनानाथ तिमिल्सीना स्वाध्यायनका आधार मै प्रख्यात ज्योतिष, बैद्य, तान्त्रिक र आयुर्वेदिक उपचारमा प्रख्यात हुनुहुन्थ्यो । शिक्षा आर्जन र प्रदान गर्ने कार्य सेवाभावबाट प्रेरित थियो । गुँगाका तारानाथ न्यौपाने, शिव प्रसाद न्यौपाने, पिताम्बर न्यौपानेले वनारसबाट शास्त्री गर्नुभएको थियो भने पछिल्लो समयमा समेत संस्कृत शिक्षामा दख्खल राख्ने विद्वानहरूमा गरन्डाँडाका डा. चिरञ्जीवी शर्मा र डा. रामप्रसाद गैरे वेद र धर्मशास्त्रमा विद्यावारिधि गरी भारत मै अध्यापनरत हुनुहुन्छ भने खानीगाउँका स्व. शिव वश्याल वनारस मै संस्कृत शिक्षण गरी निबृत्त हुनुहुन्थ्यो ।

सार्वजनिक शिक्षाको विकासः वि. सं. २००७ मा प्रजातन्त्र स्थापना पछि सार्वजनिक शिक्षाको प्रचलन प्रारम्भ भयो । मानिसहरूमा शिक्षा चेतनाको बाहक हो भन्ने भावना बढ्यो । वगनासकाली क्षेत्रको औपचारिक शिक्षा शुरूवातमा पोखराथोक सिंचासका जिं. फत्त बहादुर कुँवर मगरको महत्वपूर्ण योगदान छ । वहाँ काठमाडौमा गएर मगर भाषा मै विद्यालयको माग गरेको तर कर्मचारीले नबुझेपछि नेपाली भाषा मै माग गर्नुभएको थियो । उहाँको मागको सुनुवाई भयो र वि. सं. २००८ सालमा चारवटा विद्यालयको अनुमति प्राप्त भयो । उहाँले चार स्थानमा विद्यालय खाल्नुभयोे । ति स्थानहरू मगर समुदायको बाहुल्य भएका र विद्यालयका नाम ठाउँसँग मिल्दो जस्ता देखिन्छन् । ति चार विद्यालय मध्ये पहिलो चन्द्र मा. वि. चापपानी, यसैगरी बसन्त आधारभूत विद्यालय, बझादि, सिद्धि मा. वि. आर्यभञ्ज्याङ्ग र ग्राम्य मा. वि. गाप्टुङ्ग हुन् । यसरी तत्कालीन जिम्मावालले यसरी विभिन्न क्षेत्रमा विद्यालय स्थापना गरेको आधारमा त्यस समयमा समेत राजनैतिक हिसाबले पनि हालको बगनासकाली क्षेत्र एकिकृत थियो भन्न सकिन्छ । केहि ब्राह्मण समुदायका मानिसहरूमा संस्कृत गुरूकुलीय शिक्षाको प्रभाव परेको भए तापनि मगर समुदायमा शिक्षा नभएको परिस्थितिमा यि चार विद्यालयले सेवा क्षेत्रका बासिन्दाका लागि शिक्षा सेवा पु¥याएको हुनुपर्छ तर यि चारमध्ये तीनवटा विद्यालय धेरै पछि मात्र माध्यमिक तहमा स्तरोन्नति भए भने वसन्त आधारभूत विद्यालय निम्नमाध्यमिक तहसम्म मात्र स्तरोन्नति हुन सक्यो । अर्कोतिर वि. सं. २००८ साल बाट नै पोखराथोकका पं. यादवनाथ कोइरालाले पोखराथोकमा संस्कृत विद्यालय स्थापना गरी शिक्षण शुरू गर्नुभयो । यद्यपि संस्कृत शिक्षामा दलित समुदायलाई वर्जित गरेको आरोपमा विद्यालय जलाइयो पनि भनिन्छ, खासगरी कृष्ण बहादुर पहारीको पहलमा दलितहरूलाई समेत संस्कृत शिक्षा दिने चलन बढेको भनिन्छ । पं. यादवनाथले पढाएका विद्यार्थीहरू वनारसमा गएर उत्तरमध्यमा उतीर्ण गर्ने गरेको वहाँका सुपुत्र कृष्ण प्रसाद कोइरालाले बताउनुभयो । त्यसै समयमा पं. ढकेश्वर कोइराला र पं. टिकाराम कोइरालाले दिएको पोखराथोक नकटीपुरस्थित जग्गामा गुरू नारायणनन्द स्वामीले संस्कृत पाठशाला सञ्चालन गर्नुभएको र सोहि पाठशाला हालको जनता आधारभूत विद्यालयका रूपमा चलेको स्थानीय समाजसेवी नरेश नेपाल बताउनुहुन्छ ।

सामान्यतया शिक्षाको भोक जगाउने सन्दर्भमा संस्कृत शिक्षा लिएका पण्डित, ज्योतिषहरूको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका छ । विद्यालयहरूको स्थापनामा संस्कृत अध्ययन गरेकाहरू, जिम्मावाल वा स्थानीय भलाद्मीहरू वा केहि जागिरेहरूको पहलकद्मी देखिन्छ भने विद्यालयको संस्थागत विकास र स्तरोन्नतिमा विशेषगरी तत्कालीन जनप्रतिनिधि, विद्यालय ब्यवस्थापन समिति पदाधिकारीहरू र प्रधानाध्यापकहरूको महत्वपूर्ण योगदान छ । यस क्रममा हाल दर्लमडाँडा मा. वि. रहेको ठाउँभन्दा केहि तल कृष्ण प्राथमिक विद्यालय वि. सं. २०१३ सालमा स्थानीय कृष्ण गैरेको पहलमा स्थापना भयो र पछि वि. सं. २०२० मा विद्यालय स्थानान्तरण गर्नुका साथै स्तरोन्नति गरी नाम समेत परिवर्तन गरियो र दर्लमडाँडा निम्न माध्यमिक विद्यालय सञ्चालन भयो । विभिन्न उतारचढावका बावजूद वि. सं. २०३४ मा दयाराज वश्यालकै पहलमा माध्यमिक तहमा स्तरोन्नति भै २०३७ मा स्थायी स्वीकृती प्राप्त ग¥यो । यसपछि लामो समयसम्म उत्तरी पाल्पाका खानीछाप, दर्लमडाँडा, चापपानी, नायर, यम्घा, बराङदी, खानीगाउँका विद्यार्थीका लागि माध्यमिक तहको पढाइको एउटा मात्र केन्द्र बन्यो दर्लमडाँडा मा. वि. भने यि ठाउँका केहि र बाँकि चिर्तुधारा, पोखराथोकका विद्यार्थीहरू माध्यमिक शिक्षाका लागि तानसेन हिड्ने या डेरा गरी बस्ने गर्नुपथ्र्यो । वि. सं. २०३८ सालमा बराङदीको वेद नि.मा. र पोखराथोकको विष्णु नि.मा. मा माध्यमिक कक्षा सञ्चालन शुरू भएपछि खानीगाउँ, बराङदी र चापपानी र यम्घाका केहि विद्यार्थी वेद मा. वि. मा र पोखराथोक, नायर र चिर्तुङधाराका विद्यार्थीहरू विष्णु मा. वि. मा अध्ययन गर्ने अवसर पाए । यसैगरी पञ्चायत ब्यवस्थाको शुरूवातसँगै केहि प्राथमिक विद्यालयहरू खुलेका थिए । ति विद्यालयहरू प्रायः नेपाल राष्ट्रिय विद्यालयका नाममा खुलेका थिए । नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका रूपमा वि. सं. २०१३ मा बझादिमा औपचारिक रूपमा बसन्त आधारभूत विद्यालय, पोखराथोकको विष्णु मा. वि. नेपाल राष्ट्रिय जनता प्राथमिक विद्यालय वि. सं. २०१७ मा खुल्यो र वि. सं. २०२० मा विष्णु मिडिल स्कूल; वि. सं. २०१८ मा नेपाल राष्ट्रिय प्राइमरी स्कूल गुँगा; वि. सं. २०१८ आश्वीन १० मा सीता मा. वि. यम्घाको स्थापना; वि. सं. २०१९ सालमा सरस्वती आ. वि. गरन्डाँडाको स्थापना; वि. सं. २०२१ मा झाँक्रिदेवी प्राइमरी विद्यालयको नाममा खानीगाउँ आ. वि. को स्थापना भएको हो । यसरी वि. सं. २००७ पछि जनस्तरमा बढेको शिक्षासम्बन्धी चासो पञ्चायतसँगै राज्यले पनि शिक्षा विकासमा ध्यान बढाएको र प्राइमरी विद्यालयहरू खुलेका पाइन्छन् । पाल्पामा वि. सं. २०३१ देखि नयाँ शिक्षा पद्धति लागू भएको र त्यसपछि विद्यालयका नाम परिवर्तन र स्तरोन्नति भएको पाइन्छ भने वि. सं. २०३६ सालको आन्दोलनपछि भएको केहि खुला नीतिका कारण थप विद्यालयहरू खुलेको पाइन्छ । उदाहरणका रूपमा हिमालय प्राथमिक खानीछाप र दैलातुङ्ग प्राथमिक विद्यालय खानीगाउँ वि. सं. २०३६ सालमा खुल्यो भने नायरनमतलेसको बालविकास प्राथमिक विद्यालय वि. सं. २०४२ सालमा स्थापना भयो । वि. सं. २०३१ मा नि. मा. सञ्चालन भएको सीता यम्घा वि. सं. २०५४ मा माध्यमिक, वि. सं. २०५२ मा नि. मा. सञ्चालन गरेको गुँगा वि. सं. २०६५ देखि माध्यमिक, चन्द्र चापपानी वि. सं. २०५४ मा माध्यमिक, राम मा. वि. खानीछाप वि. सं. २०४८ देखि माध्यमिक, वि. सं. २०३७ मा नि. मा. सञ्चालित सिद्धि आर्यभञ्याङ्ग वि. सं. २०५२ मा माध्यमिक र वि. सं. २०३३ मा नि. मा. सञ्चालन गरेको ग्राम्य चिर्तुङधारा वि. सं. २०४८ मा माध्यमिक तहमा स्तरोन्नतिको अस्थायी अनुमति प्राप्त गरे । दर्लमडाँडा मा. वि. २०३७, र वेद मा. वि. वराङदी र विष्णु मा. वि. पोखराथोक वि. सं. २०५२ मा स्थायी स्वीकृती प्राप्त गर्न सफल भए । खानीगाउँ मा. वि. सबैभन्दा कान्छो माध्यमिक विद्यालय मान्न सकिन्छ । वि. सं. २०२१ मा स्थापित यो विद्यालय वि. सं. २०६० मा नि. मा. र वि. सं. २०६७ मा माध्यमिक तहमा स्तरोन्नति भएको हो । जम्मा ३८ वटा विद्यालय रहेको वगनासकालीमा सातवटा विद्यालयहरूमा कक्षा १२ सम्म अध्यापन हुन्छ । यि मध्ये दर्लमडाँडा मा. वि.मा २०५४ देखि, चन्द्र मा. वि. मा वि. सं.२०६८ देखि, वेद मा. वि. मा वि. सं. २०६४ देखि, राम मा. वि. मा २०६५ देखि, सिद्धि मा. वि. मा वि. सं. २०६७ देखि, विष्णु मा. वि. मा २०६४ देखि र ग्राम्य मा. वि. मा वि. सं. २०६७ देखि १०२ कक्षा सञ्चालन भएका छन् ।

यि विद्यालयहरूको विकासमा सहयोग गर्ने अध्यक्षहरू, सचीवहरू र प्र्रधानाध्यापकहरूको लामो फेहरिस्त बन्दछ । दीर्घ सेवाका हिसाबले सम्झँनु पर्दा खानीगाउँ मा. वि. का लेखनाथ भट्टराई, विद्यालय विकास तथा स्तरोन्नतिका लागि वेद मा. वि. का सरस्वती प्रसाद वश्याल, सीता मा. वि.का स्व. लेखनाथ शर्मा, चन्द्र मा. वि. का छविलाल ढकाल, दर्लमडाँडा मा. वि. का पिताम्बर गैरे, राम मा. वि. राम्दीका डोलराज वश्याल, सिद्धि मा. वि आर्यभञ्जयाङ्गका दिवाकर न्यौपाने, विष्णु मा. वि. पोखराोकका टेकनाथ गैरे, ग्राम्य मा. वि. चिर्तुङधाराका विष्णु ढुंगाना, वसन्त आ. वि. का भूपालसिं झेंडी, गुँगा मा. वि. का ऋषिकेशव अधिकारी, चन्द्र मा. वि. का गोविन्द ढुंगाना, सरस्वती आ. वि. गरन्डाँडाका धर्मराज गैरै आदि अग्रणी प्रधानाध्यापकहरू मानिन्छन् । विद्यालय स्थापना र विकासमा योगदान गर्ने समाजसेवीहरूमा पोखराथोक सिंचासका जि. फत्त बहादुर कुँवर मगरले चार विद्यालय स्थापना साथै क्या. चक्र बहादुर रायमाझीको सिद्धि मा. वि. स्थापनामा योगदान रह्यो । त्यसैगरी स्व. विष्णु प्रसाद नेपाल, ढकेश्वर कोइराला, धर्म बहादुर पहारी, कृष्ण बहादुर पहारी, पं. गोविन्द प्रसाद उपाध्याय, ठाकुरप्रसाद पहारी, नुराकान्त नेपाल, हरिप्रसाद नेपाल, अम्बरराज रेग्मी, केशवराज रेग्मी, कलाधर नेपाल, नगेन्द्र मुडभरी, चेतनारायण घिमिरे र छिमेकि चिर्तुङधाराका पहलसिं झेंडी, केवल बहादुर गाहा र विष्णु ढुंगाना समेतको सहयोग विष्णु मा. वि. ले पाएको छ । यस्तै दैलातुङ्ग आ. वि. स्थापनाका लागि झिल्लुप्रसाद वश्याल, खानीगाउँ मा. वि. स्थापनामा सन्तवीर सूर्यवंसी र विकासमा डासुराम घिमिरे, हरिप्रसाद पाठक, वेद मा. वि. का लागि देवि प्रसाद वश्याल, हरि प्रसाद वश्याल, डोलराज वश््रयाल र जिं. दुर्गा प्रसाद वश्याल, चन्द्र मा. वि. मा स्थापनार्थ जिं. फत्त बहादुर कुँवर मगर साथै जिं. रत्न बहादुर थापा, डिल्ली राज ढकाल ,गुगा मा. वि. स्थापनामा रुकमांगत अधिकारी र होमनाथ न्यौपाने, सीता मा. वि. को विकासमा कुल प्रसाद वश्याल, भागिरथ वश्याल, नुरराज वश्याल, नरिश्वर वश्याल, खुमराज वश्याल, जयराम वश्याल, दर्लमडाँडा मा. वि. को विकासमा कृष्ण प्रसाद गैरै समेतको महत्वपूर्ण भूमिका रहेको बताइन्छ । शिक्षा विकासको कम प्रभाव परेको नायरको चौपारी क्षेत्रमा शिक्षा विकासका लागि टोप बहादुर कुँवर मगरको पहल स¥हानीय छ । उहाँले चण्डेश्वरी प्रा. वि. को स्थापनामा महत्पपूर्ण भूमिका खेल्नुभयो । त्यस्तै ग्राम्य मा. वि. को स्थापना र विकासमा जिं. फत्त बहादुर साथै पहल सिं झेंडी, ले. कर्ण बहादुर गाहा, विष्णु ढुंगाना, कुल प्रसाद ढुंगाना, नुर बहादुर सारु लगायतको योगदान छ । यि लगायत विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीका हैसियतमा सेवा गर्ने र अन्य विद्यालय स्थापना गर्ने धेरै ब्यक्तिहरू सम्बन्धित क्षेत्रको शिक्षा विकासमा स्मरण योग्य हुनुहुन्छ ।

वर्तमान अवस्था विश्लेषणः वगनासकाली गाउँपालिकामा अहिले ३० वटा सामुदायिक र ८ वटा संस्थागत विद्यालयहरू सञ्चालित छन् । पोखराथोकको सगरमाथा सामुदायिक विद्यालय नाफा नकमाउने उद्देश्यका साथ खोलिएको र ज्ञानज्योति बोर्डिङ्ग स्कूलका लागि युनाइटेड मिशन अस्पतालको सहयोग रहेको छ भने जीवन ज्योति घोरबन्दा तानसेनको सेन्ट कपितानियो स्कूलको सहयोग र रेखदेखमा सञ्चालित छ । सामुदायिक विद्यालय मध्ये वेद मा. वि., चन्द्र मा. वि., दर्लमडाँडा मा. वि., राम मा. वि., सिद्धि मा. वि., विष्णु मा. वि. र ग्राम्य मा. वि. मा कक्षा १२ सम्म सञ्चालन छ भने खानीगाउँ मा. वि., यम्घा मा. वि. र गुँगा मा. वि. मा कक्षा १० सम्म सञ्चालन भैरहेको छ । यसैगरी आधारभूत तह कक्षा ८ सम्म सञ्चालित सामुदायिक विद्यालयहरू दैलातुङ्ग आ. वि., खानीगाउँ आ. वि., वसन्त आ. वि र, कालिका आ. वि. चापपानी, अरनिको आ. वि. र भगवती आ. वि. यम्घा, सरस्वती आ. वि. गरन्डाँडा, हिमालय आ. वि. खानीछाप, राम आ. वि चिर्तुङधारा गरी ९ वटा विद्यालय छन् भने वसन्त प्रा. वि. चापपानी, कानुङ प्रा. वि. र बालज्योति प्रा.वि. यम्घा, हिमालय प्रा. वि., राम्दी प्रा. वि. र गंगादेवी प्रा. वि. खानीछाप, जनता प्रा. वि. पोखराथोक, जनप्रिय प्रा. वि. चिर्तुङधारा, नारायण प्रा. वि., बालविकास प्रा. वि. र चण्डेश्वरी प्रा. वि. नायरनमतलेस गरी ११ वटा सामुदायिक प्राथमिक विद्यालय छन् ।

बगनासकालीका सबै वडामा माध्यमिक (कक्षा १०) विद्यालय सञ्चालनमा छन् भने खानीगाउँ र यम्घामा उच्च माध्यमिक (कक्षा १२) विद्यालय छैनन् । नायर र खानीछापका माध्यमिक विद्यालय सीमानामा रहेका र खासगरी कालीगण्डकी किनारका वस्तीहरू टाँकिचौर, दैलातुङ्ग, मन्ध्रान, दर्पुक क्षेत्रका बासिन्दाका लागि अहिले पनि माध्यमिक शिक्षाको पहुँच सरल छैन तापनि ति वस्तीका लागि पायक पर्ने गरी खोलिएका आधारभूत तथा प्राथमिक विद्यालयहरूमा समेत विद्यार्थी संख्या न्यून देखिन्छ । खानीगाउँ आ. वि. (वालविकासदेखि कक्षा ८ सम्म) ६९, दैलातुङ्ग आ. वि. ६७ जना, बालज्योति प्रा. वि. २८ जना र भगवती आ. वि. दर्पुकमा भने १२२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थी संख्या अति न्यून देखिएका चण्डेश्वरी प्रा. वि. नायर १३ जना, कानुङ प्रा. वि. यम्घा २२ जना र हिमालय प्रा. वि. मा ५५ र जनप्रिय प्रा. वि. मा ४८ बाहेक अन्य प्राथमिक विद्यालयमा ४० जना नपुगेको देखिन्छ । त्यसैगरी बगनासकाली कै जेठो विद्यालय वसन्त आ. वि. मा जम्मा ३९ जना, अरनिको आ. वि. मा ४६ जना, सरस्वती आ. वि. मा ४८, कालिका आ. वि. मा ७४ जना मात्र विद्यार्थी छन् भने हिमालय आ. वि. खानीछाप र राम आ. वि. चिर्तुङधारामा क्रमशः १०१ र १४९ जना विद्यार्थी अध्ययनरत छन् । माध्यमिक (बालविकास देखि कक्षा १० सम्म) विद्यालयमा खानीगाउँ मा. वि. १३०, सीता मा. वि. १३२, वेद मा. वि. १५२, चन्द्र मा. वि. १६४, ग्राम्य मा. वि. १६८, दर्लमडाँडा मा. वि. १६९, गुँगा मा. वि. १९७, सिद्धि मा. वि. २००, विष्ण्ु मा. वि. २२० र राम मा. वि. २२३ विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । यसरी विद्यार्थी संख्याको तुलनात्मक विश्लेषण गर्दा सन्तोषजनक अवस्था देखिदैन । शिक्षाकर्मी तथा समाजसेवीसँगको छलफलका क्रममा बसाइसराइ, शहरकेन्द्रित बसाइ, तानसेनसम्म केहि पैदल मै जान सकिने अवस्था, स्थानीय तथा तानसेनका संस्थागत विद्यालयहरू, शैक्षिक गुणस्तरको अवस्था, वैकल्पिक प्राविधिक शिक्षाको खोजी र भौगोलिक असहजता आदि कारणहरू औंल्याउने गरिएको छ । यसबाहेक जातिगत संरचनाका हिसाबले पनि बगनासकाली शिक्षामा पछाडि परेको हो कि भन्ने मत पनि रहेको छ । यि भनाइमा केहि सत्यता छ । उदाहरणका लागि वि. सं. २०१८ मा दर्लमडाडाँका विद्यार्थी कृष्ण प्रसाद कोइराला एसएलसी बोर्ड तृतीय बन्ने जग यहिंबाट प्राप्त गरेका थिए । यसैगरी छिमेकि कालीण्डकी बोर्डिङ्गमा प्राथमिक तहसम्म १५७ जना छन् भने वेद मा. वि. को त्यहि तहमा ३० जना, नर्थप्वाइन्टमा ११५ छन् भने दर्लमडाँडामा ५०, र अन्य माध्यमिक विद्यालयमा समेत बालशिक्षा तथा प्राथमिक कक्षामा न्यून विद्यार्थी हुनुमा छिमेकि संस्थागत विद्यालयतिरको आकर्षण प्रमुख कारण देखिन्छ भने बसन्त आ. वि. को सेवा क्षेत्रमा बासिन्दा कै संख्या कम देखिन्छ । वगनासकालीमा सामुदायिक तथा संस्थागत दुवै थरी विद्यालयमा गरी ७८० बालविकास, १५१७ प्राथमिक, ८३१ निम्न माध्यमिक र ६४० माध्यमिक (कक्षा १०) गरी कूल ३८ विद्यालयबाट ३७६८ जना बालबालिका विद्यालय जाने गरेको देखिन्छ (फ्लयाश रिपोर्ट २०७५) । यसमध्ये सबै तहमा छात्राको संख्या कम रहेको (कूल छात्रा १८११ र छात्र १९५७) छ । वगनासकालीमा भर्ना भएका विद्यार्थीको संख्यात्मक विश्लेषण गर्दा यहाँस्थित आठ वटा संस्थागत विद्यालयमा ९९२ विद्यार्थी अध्ययनरत देखिन्छ । यसरी ७३.६३ प्रतिशत विद्यार्थी सामुदायिक र २६.३७ प्रतिशत विद्यार्थी संस्थागत विद्यालयमा अध्ययनरत छन् । गाउँपालिकाका विद्यालयहरूमध्ये सगरमाथा सामुदायिक विद्यालयमा सबैभन्दा बढी (२४७ जना) छ ।

वगनासकालीको शैक्षिक प्रगति हेर्दा जातिगत आधार देखिन्छ । खासगरी ब्राह्मण जातिहरू संस्कृत शिक्षाको स्वाध्ययन र औपचारिक शिक्षा मार्फत चेतना बृद्धि गरेका र उनीहरूले आफ्ना परीवार, छिमेकि तथा नातेदारमा शिक्षाको प्रभाव पारेको पाइन्छ । उदाहरणका लागि पं. यादवनाथ कौइरालाका सुपुत्र कृष्ण प्रसाद कोइराला र गंगानाथ कोइराला संस्कृतमा आचार्य गर्नुभयो । नारायण कोइरालाले प्रारम्भिक शिक्षा पिता ढकेश्वर कोइरालाबाट प्राप्त गरेको बताउनुहुन्छ । खानीगाउँका शिव वश्यालले धेरै मानिसहरूलाई भारतमा संस्कृत पढ्नका लागि प्रेरित गर्नुभयो । पहिलेका पंडितहरू, ज्योतिषहरूले आफ्नो आँगन पेटीमा जम्मा गरेर शिक्षा दिए । अर्कातिर सार्वजनिक शिक्षाको शुरूवातमा एउटा मगरले जग बसाल्यो तर त्यस्को सदुपयोग गर्नमा यहाँका मगरहरू अग्रसर नभएका हुन् कि ? वगनासकालीमा स्थानीय ठाउँमा प्रारम्भिक शिक्षा प्राप्त गरी तानसेनका विभिन्न विद्यालयमा अध्ययन गरी राष्ट्रिय गौरवका मानिसहरू बनेका छन् । पोखराथोकका खिलराज रेग्मी प्रधानन्यायाधिशबाट निबृत्त भै मन्त्रीपरिषदको अध्यक्ष भै संबिधान सभाको निर्बाचन सम्पन्न गर्नुभयो । त्यसैगरी पोखराथोक कै हिरण्यलाल रेग्मी नेपाल सरकारका सचीव, बराङदीका कृष्ण प्रसाद वश्याल र यज्ञ प्रसाद वश्याल न्यायाधिश हुनुभयो भने दर्लमडाँडाका ठाकुरप्रसाद कोइराला र दामोदर कोइराला प्रमुख जिल्ला अधिकारी, डा. भगवान कोइराला वरिष्ठ मुटुरोग विशेषज्ञ बन्नुभयो भने सरकारी सेवामा सहसचीव चापपानीका हरिप्रसाद बश्याल, मेउछापका अण प्रसाद न्यौपाने लगायत हुनुहुन्छ भने दयाराज वश्याल जिल्ला समन्वय समिति पाल्पाका प्रमुख हुनुहुन्छ । अन्य धेरैजना निजामति सेवामा हुनुहुन्छ भने गैरसरकारी क्षेत्रमा अरनिको प्रा. वि. बाट आधारभूत शिक्षा प्राप्त भोजराज वश्याल निर्धन उत्थान बैंकको डिजिएम् बन्नुभयो । हाल तानसेन नगरपालिकामा पर्ने बराङदीका कृष्ण प्रसाद वश्याल संस्कृतमा, वहाँका दाजु कोशल वश्याल, टिमुरेका राम प्रसाद वश्याल र नारनडाँडाका डा. राम प्रसाद वश्याल यस क्षेत्रका अनुकरणीय ब्यक्तित्व हुनुहुन्छ भने सहप्राध्यापक स्व. गुञ्जेश्वरी वश्याल सबैका सम्माननीय अंग्रेजी भाषाका विद्वान हुनुहुन्थ्यो ।

दैलातुङ्गका गोपाल प्रसाद वश्याल अंग्रेजी भाषाविज्ञ र पाठ्यपुस्तकका लेखक हुनुहुन्छ । पछिल्लो समयमा सरकारी तथा गैरसरकारी सेवा, शिक्षण र प्राध्यापन सेवाबाट स्थानीय तथा राष्ट्रिय छवि बनाउन सफल धेरै ब्यक्तित्व हुनुहुन्छ । वगनासकालीको शिक्षा विकासले राजनैतिक चेतनाको प्रभाव छाडेको छ । विशेषगरी दर्लमडाँडाका प्रधानाध्यापक दयाराज वश्यालको अग्रणी भूमिकामा वि. सं. २०३६ सालको आन्दोलनमा बहुदलको प्रचारमा शिक्षक, विद्यार्थी र समुदाय नै परिचालन भएको थियो । निरङकुश पञ्चायती शासकहरूले वहाँको जागिर खाइदिएका थिए । त्यसै क्रममा सीता मा. वि. का सात जना शिक्षक र तीन जना विद्यार्थी करीव एक महिना जेल बस्नुपरेको थियो । यसैगरी वि. स..२०४६ को आान्दोलनका लागि समेत वगनासकालीले महत्वपूर्ण भूमिका खेलेको थियो । त्रिभुवन क्याम्पसमा विद्यार्थी राजनिितमा समेत दर्लमडाँडाका जयदेव गौतम, पोखराथोकका नरेश नेपाल लगायतको सकृय योगदान थियो । वेद मा. वि. का विद्यार्थी गणेश वश्याल कर्मचारी संगठन र ठाकुर गैरे अनेरास्ववियुको केन्द्रीय अध्यक्ष र नेकपाका केन्द्रीय सदस्य समेत हुनुहुन्छ भने टाँकिचौरका वीरबहादुर राना नेपाली कांग्रेस पाल्पाका सभापति र प्रदेश सभा सदस्य हुनुहुन्छ ।

प्रतिबिम्बनः वगनासकाली पाल्पाको सदरमुकामबाट पैदल आइजाइको दूरीमा रहेर पनि शिक्षा विकासको हिसाबले सामान्य अवस्था रहेको पाइन्छ । वर्तमान अवस्थामा समेत साधारण विद्यालयहरू मात्र रहेको यस गाउँपालिकाभित्र प्राविधिक वा ब्यवसायिक शिक्षातर्फ विद्यालयहरूलाई अभिप्ररित गर्नु आवश्यकक छ । भौगोलिक निकटताका आधारमा विद्यार्थी संख्याको निश्चित मापदण्ड बनाई विद्यालयहरूलाई मर्ज गरी सम्भावित विद्यालायहरूमा सेवा सुविधा र शैक्षिक कार्यक्रम विस्तार गर्नुपर्ने देखिन्छ । मगर, दलित र सिमान्तकृत बोटे तथा कुमाल समुदायका बालबालिकालाई शिक्षामा पहुँच र गुणस्तर विकासका लागि विशेष कार्यक्रम निर्माण गरी लागू गर्नु अनिवार्य छ ताकि केहि दशक पछाडि शैक्षिक सिंहावलोकन गर्दा उनीहरूको नाम लिन पाइयोस् । सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना र टिकाउका लागि आकर्षक कार्यक्रमहरू सञ्चालन गर्ने र गुणस्तर सुधार गर्नु आवश्यक छ । गरीव र सिमान्तकृत स्थानहरूको क्षेत्र पहिचान गर्न सकिन्छ । त्यहि क्षेत्र र समुदाय शिक्षामा पछाडि परेका कारण उनीहरूका लागि स्वााभाविक परिवर्तनको प्रभावभन्दा लक्षित कार्यक्रम बनाएर हस्तक्षेप गर्नु आवश्यक छ । शिक्षा प्राप्त गर्ने निहुँमा बजार बस्ने परम्परालाई रोक्नु आवश्यक छ । तानसेनका पहेंला गाडी गुडाउनु नपर्ने वातावरण सिर्जना गर्नु आवश्यक छ । यसका लागि प्राविधिक शिक्षा, विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्यूटर शिक्षा, खेलकूँद तथा अतिरित्तः क्रियाकलाप, सामृदायिक पुस्तकालय, खेल मैदान आदिको विकास गर्नुका साथै परियोजना कार्य तथा थप नवीनतम शिक्षणविधिको अभ्यासका लागि शिक्षक तालिम, अभिभावक शिक्षा, नेतृत्व विकास जस्ता पक्षमा ठोस कार्य गर्नु आवश्यक छ ।

अन्त्यमा, यो सानो लेखमा सबै अग्रज शिक्षासेवीहरूलाई समेट्न सकिएन र केहि चाहदाचाहदै पनि सूचनासम्म पहुँच पु¥याउन सकिएन । यो सामग्री तयार गर्न सहयोग गर्नुहुने जिसस प्रमुख दयाराज वश्याल, जिशिसइका शाखा अधिकृत महेन्द्र सुवेदी, वगनासकालीका शिअ मणि खनाल र स्रोत ब्यक्ति गोपाल प्रसाद आचार्य, विष्णु मा. वि. का पूर्व प्रधानाध्यापक टेकनाथ शर्मा, पूर्व शिक्षक कृष्ण प्रसाद कोइराला, समाजसेवी नरेश नेपाल, नारायण प्रसाद कोइराला, गोविन्द ढुंगाना र विभिन्न विद्यालयका प्रधानाध्यापकहरू लगायत सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
साभार बगनासकाली फिचर संग्रह

Comments
Loading...