बगनासकालीले गत आवको समिक्षा गर्दै आगामी वर्षको योजना सार्वजनिक गर्यो

0 219

बगनासकाली गाउँपालिकाले बुधबार गत आ.व.को बजेट समीक्षा र चालु आ.व.को बजेट सार्वजनिक गरेको छ । बुधबार भएकाे समीक्षामा गाउँपालिकाले ९४ दशमलव ७५ प्रतिशत र वित्तिय प्रगति ९५ दशमलव ६८ प्रतिशत गरेकाे जनाएकाे छ ।

गाउँपालिका प्रमुख कृष्णप्रसाद बस्यालले गत आ.व.मा गरिएको बजेट खर्चको समीक्षा गर्दै आर्थिक वर्ष २०७६/०७७मा पारदर्शितालाई अंगाल्दै, उत्तरदायित्वलाई मजबूत बनाउँदै कार्यसम्पादनलाई चुस्त–दुरुस्त, सहज र सरल बनाउने औंल्याए । ‘गत आर्थिक वर्षमा भौतिक पूर्वाधार, स्थानीय विकास, विषयगत शाखामा योजनाहरू सम्पन्न भएका छन् । जसअन्तर्गत भौतिक प्रगति ९४.७५ प्रतिशत, वित्तीय प्रगति ९५.६८ प्रतिशत भई बेरुजु फस्र्यौट ४५ प्रतिशत रहेको छ’ बस्यालले बताए ।

उनका अनुसार गत आ.व.मा युवा स्वरोजगार, कृषिमा मागमा आधारित प्रस्तावित कार्यक्रम, तरकारी बालीमा ढुवानी अनुदान, बालमैत्री कार्यक्रम, जेष्ठ नागरिक परिचय–पत्र वितरण, अपाङ्ग परिचय–पत्र वितरण, १० वटा सामुदायिक विद्यालयमा विद्युतिय हाजिरी सञ्चालन गरिएको छ । यस्तैगरी गाउँपालिकालाई पूर्ण भर्ना सुनिश्चित घोषणा, सवै वडामा फाइबर इन्टरनेट जडान, नयाँ घर बनाउँदा नक्सा पास बनाउनुपर्ने लगायतका महत्त्वपूर्ण कार्यक्रम सम्पादन गरिएको बस्यालले बताए ।

यस्तैगरी गाउँपालिकाले आर्थिक वर्ष ०७६/७७ का लागि कूल ३८ करोड ९३ लाख ७ हजार ५ सय ६७ रूपैँया बजेट विनियोजन गरेको छ । गाउँपालिका स्रोतका अनुसार समानीकरण अनुदान (संघीय सरकार) ९ करोड १८ लाख, शर्शत अनुदान (संघीय सरकार) १७ करोड १६ लाख र राजश्व बाडफाँड (संघीय सरकार) गरी ३२ करोड ८५ लाख संघको सहयोग प्राप्त भएको छ ।

यस्तै प्रदेश सरकारतर्फ समानीकरण अनुदान ४१ लाख ३१ हजार, शशर्त अनुदान ८० लाख, राजस्व बाँडफाड ५९ लाख २२ हजार, समपुरक अनुदान १ करोड ५० लाख, विशेष अनुदान ५२ लाख गरी ३ करोड ८२ लाख ५३ हजार प्रदेशबाट बजेट विनियोजन भएको जनाइएको छ । गाउँपालिकाको आन्तरिक श्रोततर्फ कर तथा गैरकर ७२ लाख, विद्युत रोयल्टी ५३ लाख ५४ हजार ५ सय ६७, गतवर्षको मौज्दात १ करोत गरी जम्मा २ करोड २५ लाख ५४ हजार ५ सय ६७ बजेट विनियोजन गरिएको छ ।

प्रमुख प्रशाशकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा गाउँपालिकामा बालमैत्री गाउँपालिका घोषणा गर्ने, फुसरहित छाना भएको घर रहेको गाउँपालिका बनाउने, स्थानीय पाठ्यक्रम बनाइ लागु गर्ने, गाउँपालिकामा कृषि तथा पशु विकास कार्यक्रमलाई प्रवद्र्धन गर्ने र लक्षित वर्गका कार्यक्रमलाई आय आर्जनतर्फ उन्मुख गराउने लक्ष्य राखेको छ ।

गाउँपालिकाले अपेक्षाकृत आन्तरिक कर उठाउन नसकिएको, कार्यालय भवन निर्माणका लागि जग्गा प्राप्त गर्न नसकिएको, प्रदेशबाट समपुरक अनुदान कार्यविधि ढिला बनेकोले योजना तथा कार्यक्रम ढिलो गरी सम्पन्न गर्नुपरेको समस्याहरू राखेको थियो । कार्यक्रममा स्वागत मन्तव्यसहित आफ्ना भनाई राख्दै गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले स्थानीय सरकार सञ्चालन ऐनलाई अनुसरण गर्दै गाउँपालिकाबाट सम्पादित कार्यक्रमलाई पारदर्शी, उत्तरदायी र जवाफदेही बनाउने बताइन ।

यस्तैगरी नेकपा बगनासकालीका अध्यक्ष हरिपाठकले वित्तीय प्रगतिलाई प्रतिशतमा नभई अंकमा प्रस्तुत गर्दै खर्च पारदर्शिता समेट्न सुझाव दिए । उनले स्थानीय निकायका जनप्रतिनिधि परिचालन गरी समयमै कार्यसम्पादन गर्न र सरोकारवालाहरूलाई समेटेर नीति कार्यक्रमलाई व्यवहारिक बनाउनुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेसका यमलाल तिमिल्सिनाले वातावरण र विपद् व्यवस्थापनका सवै वडामा पुग्न नसक्नु दुर्भाग्य भएको भन्दै सडक स्तरोन्नती र वन्यजन्तु व्यवस्थापनमा ध्यानदिनुपर्ने बताए । राप्रपाका कपिलदेव ढुंगानाले केही वडामा वर्षादको समयमा अवरुद्ध सडक सुचारु गर्न र गाउँपालिकाबाट सम्पादित कार्यक्रलाई व्यवस्थित र पारदर्शि बनाउनुपर्ने बताए ।

पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले आन्तरिक आयलाई वृद्धि गर्दै गाउँपालिकाले खर्च देखाउने मात्र नभई उपलब्धि देखाउने गरी समीक्षा गर्नुपर्नेमा जोड दिए । अन्य सञ्चारकर्मीहरूले युवा स्वरोजगार, कृषिमा मागमा आधारित योजना, प्रधानमन्त्री रोजगारका कार्यक्रमको उपलब्धी र गाउँपालिकाका कार्यसम्पादनका विषयमा राखेका जिज्ञासाको जवाफ दिदैं गाउँपालिका अध्यक्षले सवैको सकारात्मक सुझालाई समेटेर सहकार्य गरिने प्रतिवद्धता जनाए ।

साभार सेरोफेरो अनलाइन

Comments
Loading...