बगनासकाली नमुना बनाउने प्रतिबद्धता

0 74

पाल्पा । बगनासकाली गाउँपालिकाले नेपालमै पहिलो पटक सार्वजनिक सुनुवाई गरेको छ । गाउँ कार्यपालिकाले प्रादेशिक र सङघिय कानूनले पूर्णता नपाईरहेको अवस्थामा मौजुदा कानूनलाई आधारमानी पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।

पहिलो गाउँसभा भदौ १५ मा सम्पन्न गरेको गाउँपालिकाले त्यसपछिको चार महिनामा सम्पादन गरेका कार्यप्रगति तथा अवस्थाका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले संघीय शासन प्रणाली लागू भएपछि आर्थिक तथा सामाजिक समृद्धिका क्रियाकलापका सञ्चालन गरेको बताए । ‘योजना सञ्चालन प्रक्रियाले तिव्रता पाएको छ । ५५ प्रतिशत वित्तिय प्रगति भैसकेको छ । शिक्षा, स्वास्थ्य, पशु, कृषि, आयुर्वेद विषयगत शाखा स्थापना गरि कार्य गरिएको तथा जनशक्ति व्यवस्थापनको कार्य गरिएको छ,’–बस्यालले भने । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले चार महिनाको अवधिका गरेका कार्यप्रगतिबारे जानकारी गराउँदै गाउँपालिकालाई नेपालकै नमूना बनाउने बताए । उनी भन्छन्, उनी भन्छन्, कृषिमा यान्त्रिकरण, पशु बिमा, सुत्केरी पोषण कार्यक्रम सञ्चालनमा छन् । खरको छाना विस्थापनको कार्य प्रारम्भ भएको छ । पारदर्शी तथा जवाफदेहीता वृद्धिमा गाउँपालिका अग्रसर छ ।

कार्यक्रममा जिज्ञाशा राख्दै डा. शंकरप्रसाद गैरेले विद्यालयहरुको गुणस्तर अभिवृद्धिका लागि विद्यालय सुधार योजनालाई कार्यान्वयन गर्नुपर्ने बताए । रामप्रसाद ढुङगानाले शिक्षा, स्वास्थ्य, कृषिलाई पाँच वर्षे रणनीति तय गरि अगाडी बढ्न सुझाए । बगनाशकाली–१ का चित्रविर कुमालले आफुहरुको पेशा संकटमा पर्न थालेको बताउँदै संरक्षणमा ध्यान दिनुपर्ने बताएका थिए । बगनाशकाली–८ का यमनाथ बस्यालले खानेपानीको प्रबन्ध कस्तो छ भन्ने प्रश्न गर्दा नेत्र गैरेले जनप्रतिनिधिहरुको भूमिकालाई अझ सशक्त बनाउनुपर्ने बताएका थिए । ‘गाउँपालिकाले सम्पादन गरेका गतिविधिलाई सञ्चार माध्यममा ल्याउनुपर्यो,’–कमलराज तिमिल्सिनाले भने ।

गाउँपालिकाका उपाध्यक्ष सरस्वति दर्लामीले न्यायिक समितिमा पाँच वटा मुद्दा दर्ता भएकोमा चारवटा समाधान भएको र एउटा जिल्ला अदालतमा पठाएको बताईन् । सुनुवाईमा उठेका जिज्ञाशाहरुको जवाफ दिँदै वडा अध्यक्ष तथा विषयगत समितिका प्रमुखहरुले स्थानीय सरकार नयाँ अनुभव भएकोले केही प्राविधिक समस्याहरु उत्पन्न भैरहेको भएता पनि जनताका आवश्यकतालाई सम्बोधनको प्रयत्न गरिएको बताए ।

कार्यक्रममा नागरिकहरुबाट संकलन गरिएको नागरिक प्रतिवेदन पत्र र बहिर्गमन अभिमत पत्र सार्वजनिक गर्दै सहजकर्ता मुक्तिप्रसाद न्यौपानेले सुशासन प्रवद्र्धनका लागि गाउँपालिकाले गरेको क्रियाकलाप प्रशंसनीय रहेको बताए । सार्वजनिक सुनुवाई कार्यविधिको पूर्ण पालना गरि स्थानीय तहले गरेको यो सुनुवाई नेपालमै प्रथम भएको दावी आयोजकको छ ।

Comments
Loading...