बगनासकाली बन्यो फुसको छानो रहित पालिका

0 395

पाल्पा । बगनासकाली गाउँपालिका वडा नं. ८ बराङ्दी घिउसीबासकी भुमासरा रानाले आफ्नो ५० वर्ष उमेर खरले छाएको घरमा बिताइन् । गुल्मी बिहे भएकी उनी माइतीमा दाजु भाई नभएपछि बावु आमाको मृत्युपछि पतिलाई समेत लिएर बराङदीमै फर्किइन् । टिनले छाएको घरमा बस्ने भुमाको एउटा सपना नै थियो ।

रातभरिको वर्षा पछि अर्को दिन बिहानै पंक्तिकार उनको घरमा पुग्दा भुमाले टिनको छानो लगाएको घरमा बस्दाको अनुभव खुशी हुँदै साटिन् । “छानो चुहिएर पानी परेपछि सुत्दै पाइदैनथ्यो । भित्र कोठामा चुहिएको पानी थाप्न बाल्टिन र बाटा राख्नुपथ्र्यो अहिले त टिनको छानो लगाउँदा आनन्द भएको छ । राम्रो निन्द्रा लागेको छ ।” पानी पर्दा पानी चुहिने डर हुन्थ्यो, चैत बैशाखमा आगो लाग्ने डर । अहिले यी दईटै डर हटेको छ ।

बगनासकाली गाउँपालिकाले फुसरहित घर अभियान संचालन गरेपछि भुमा जस्तै अन्य धेरैले यो वर्खा सजिलो गरि बिताए । पालिकाले ३ बर्ष अघिबाट सुरु गरेको अभियानले यो बर्ष सार्थकता पाएको छ । अहिले यो पालिकाका सबै घर टिनको छानोयुक्त भएका छन् । अभियान अन्र्तगत ९ वटै वडामा खरको छाना भएकाहरुलाई जस्ता पाता वितरण गरेको थियो ।

स्थानीय तहको निर्वाचन पछि पहिलो साधारणसभाबाट गाउँपालिकालाई फुस रहित पालिका बनाउने कार्यक्रम सुरु भएको थियो । वडा वडाबाट खरको छाना भएकाहरुको लगत संकलन गरी ३ वण्डलका दरले जस्तापाता वितरण भएको हो । ३ आर्थिक वर्षमा सम्पन्न गरिएको फुसरहित अभियानबाट गाउँपालिका २ सय ५२ घरहरुमा खरको छाना विस्थापित गरी जस्ता पाता लगाइएको छ । बगनासकाली गाउँपालिकाबाट ८५ लाख रुपैयाको लगानीमा कार्यक्रम सम्पन्न गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । आर्थिक अवस्था कमजोर भएर खरको छानोमूनी बस्नुपरेका नागरिकका लागि ओत लाग्न जस्तापाता वितरण गरेको अध्यक्ष बस्यालले बताए ।

आर्थिक अवस्था कमजोर भएर जस्तापाता लगाउन नसकेका नागरिकहरुको लागि गाउँपालिकाले ३ बण्डलका दरले जस्तापाता वितरण गरेको थियो । अहिले वगनासकाली गाउँपालिका खरको छाना मुक्त गाउँपालिका बनेको छ ।

गाउँपालिका भित्रका सबै समुदायलाई गरिबीबाट माथि ल्याउन, समृद्धिको यात्रा तर्फ लाग्यौ भन्ने अनुुभुति जनतालाई गराउन समेत यो अभियानले सहयोग पु¥याउने भएकोले यसप्रकारको अभियान चलाइएको पालिकाले जनाएकोृ छ ।

गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदी मगरले यसरी बाडिएका टिनबाट वास्तवमै आर्थिक संकटमा परेर खरको छानोमा बस्न बाध्य समुदाय लाभान्वित भएको बताइन् । यस्ता प्रकारका अभियानहरुले एकातिर स्थानीय समुदाय प्रत्यक्ष लाभान्वित हुने र अर्कोतिर घर घरमा स्थानीय सरकार पुगेको अनुभुति समेत हुने भएकोले फुसरहित घर अभियान निकै राम्रो रहेको उनको धारणा छ । पानी पर्दा ओत लाग्न गाह्रो हुने खडेरीका बेला आगोलागीबाट बचाउन धेरैलाई समस्या हुन्थ्यो टिनको छानो लगाएपछि कम्तीमा पनि पानी चुहिने र आगो लाग्ने डर हुने भएन उनले भनिन् ।

स्थानीय तहको निर्वाचनका बेला आफूहरु मत माग्न घर घरमा जादा खरले छाएको घरमा बस्नेहरुको पिडा सुनेको र सोही अनुसार कार्यपालिकाले कार्य अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । बगनासकालीलाई फुसका घर रहित गाउपालिका बनाउने आफूहरुको उद्देश्य रहेको बस्यालले बताए । अहिले भनेको ठाउँमा पर्याप्त खर नपाईने, पाइएपनि छाउने जनशक्तिको अभाव हुने, र छाएका घरहरु पनि धेरै नटिक्ने, छिटै चुहिने हुने र हिउँदको बोल आगलागीको बढी डर हुने भएकोले पनि टिनको छानो लगाउनुपर्ने अवस्था आएको उनले बताए । कसैले आफ्नो ब्यक्तिगत शौखिनका लागि खरको छानो लगाएको छ भने उसलाई गाउँपालिकाले यो अभियानमा सहभागी गराउदैन उनले भने । आगामी वर्षमा पनि यो शीर्षकमा रकम बिनियोजन हुने क्रमागत रुपमा अभियान अगाडि बढाइने अध्यक्ष बस्यालले बताए । बगनासकाली फिचर संग्रहको सहयोगमा

Comments
Loading...