बराङ्दीमा साँस्कृतिक उत्सव सम्पन्न

0 303

पाल्पा । बगनासकाली गाउँपालिका ८ बरांगदीमा साँस्कृतिक उत्सव सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले गठन गरेको बेद युवा समूहले उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमका लागि बगनासकाली गाउँपालिकाको सहयोग रहेको निरञ्जन युवा क्लव तथा बगनासकाली युवा संगमको समन्वय रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले इन्सेकले बगनासकाली गाउँपालिकामा गठन गरेको युवा समूह बगनासकाली गाउँपालिका भित्रकै नमुना समूहको रुपमा रहेको बताउनुभएको छ । इन्सेकद्धारा गठित बेद युवा समूहले बगनासकाली ८ बराङ्दीमा असोज ३१ गते आयोजना गरेको बराङ्दी उत्सव एवम् बृहत साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष बस्यालले स्थानीय सरकारसँगको सहकार्यमा यो समूहले नमुना कार्यहरु गर्दै आएको र आगामी दिनमा पनि युवा समूहले निरन्तरता पाउने बिश्वास ब्यक्त गर्नुभयो ।

अर्का अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले युवा समूह मार्फत समुदाय स्तरमा यसप्रकारका रचनात्मक काम हुनु सराहनीय पक्ष रहेको बताउनुभयो । निजामति कर्मचारी संगठनका पुर्व केन्द्रीय अध्यक्ष गणेशप्रसाद बस्याल, बगनासकाली गाउँपालिकाका अध्यक्ष लक्ष्मी अधिकारी, वडा नं. ८ का अध्यक्ष गणेशप्रसाद बस्यालले युवा समूहको उक्त प्रयासको सराहना गर्नुभयो । मानवअधिकार रक्षक सञ्जाल पाल्पाका संयोजक भगवान भण्डारीले इन्सेकको पहलमा पाल्पा जिल्लामा मानवअधिकार रक्षक सञ्जाल, बालअधिकार चेतना समूह, युवा समुह मार्फत समुदाय स्तरमा बिभिन्न कार्यक्तमहरु हुँदै आएको र ती कार्यक्रमहरुको प्रभाव राम्रो परेको बताउनुभयो ।

स्थानीय कला संस्कृतिको संरक्षण सम्बर्धनमा युवाहरुको भुमिका पनि छ भन्ने उजागार गर्नका लागि युवा समुहले उक्त कार्यक्रम आयोजना गरेको युवा समूहका अध्यक्ष बरुण बस्यालले बताउनुभयो । कार्यक्रम सञ्चालनका लागि बगनासकाली गाउँपालिकाको कार्यपालिकाको निर्णयबाट समुहलाई ४० हजार रुपैयाँ प्राप्त भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गायक सेमन्तमणी खरालले बिश्ेष सम्मान गरिएको थियो । कलाकारहरु ममता कोइराला, कमल भट्टराई, रेखा बिष्ट, संगिता दर्नाल, जयप्रकाश उप्रेती, धनराज पौडेल सहित, स्थानीय भजन समूह लगायत युवा समूहका सदस्य र अन्य बालकलाकारहरुले प्रस्तुती राखेका थिए । इन्सेक पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाको स्वागत, सचिव सुशिल बस्यालको संचालन र अध्यक्ष बरुण बस्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Comments
Loading...