बाँदर नाच्ने खेत चम्काए धन बहादुरले

0 222

यज्ञमूर्ति तिमिल्सिना । पाल्पा
बगनासकाली गाउँपालिकाको वडा नंं ७ खानीगाउँको गाईघाट । एक वर्ष अघिसम्म पनि यहाका खेतमा बादर, ढेडुवा नाच्थे । खेती भएपनि जोगाउन मुस्किल थियो । किसानहरु आजित भइसकेका थिए । आजकल यहाँको मुहार फेरिएको छ । वास्तवमा बाँदर नाच्ने खेतमा कृषिमार्फत कायापलट नै भएको छ । १४ वर्ष रोजगारीको सिलसिलामा युएईमा बसेर फर्केका स्थानीय युवा धन बहादुर क्षेत्रीको अग्रसरतामा यहाँ अर्गानिक कृषि फार्म तथा भान्साघर संचालनमा आएको छ ।

उनको यो फार्म रानीमहल जाने बाटो छेउमा पर्छ । यसकारण पनि अहिले यो फार्म धेरैको नजरमा आकर्षणको केन्द्र नै बनेको छ । उनले काउली बन्दा, कुरिलो, लसुन, प्याज सहित स्थानीय तरकारीहरु लगाएका छन् । बाख्राफार्म पनि छ । जहा अहिले १२ वटा बाख्रा छन् । स्थानीय प्रजातिका कुखुरा पनि छन् । खोला किनारमा रहेको उनको फार्म हेर्न लायक छ । उनले आफ्नो ब्यवसायको नमस्ते कृषि फार्म तथा भान्सा घर नाम दिएका छन् । खासगरि रानीमहल जाने आउने आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ पस्ने, अर्गानिक खाना खाने र रमाउने गर्छन् ।

सुरुवातीको छोटो समयमै पाएको प्रचार र सफलताबाट धन बहादुर उत्साही छन् । उनले यो फार्म संचालनमा ल्याएको ६ महिना पनि भएको छैन तर छोटो समयमा यसले राम्रो सफलता पाउन थालेको छ । युएईमा छँदा पनि धनबहादुरलाई खासै गाह्रो थिएन । काम पनि सजिलो थियो । उनी पाल्पाली र नेपालीहरुका बिभिन्न स्थानीय संस्थामा नेतृत्वकर्ताकै रुपमा थिए । धन बहादुरले भने–“हरेक हप्ता कार्यक्रम हुन्थे । जहा म पुग्ने खादा माला लगाएर महिनामा ६०,७० हजार कमाएकै थिए । तर मलाई म जन्मेकै ठाउँमा केही गर्नुपर्छ भन्ने सधै लाग्थ्यो । त्यसैले विदेशको मोह छोेडेर यही आएर काम गर्न थालेको हु ।”

उनको फार्म अहिले २० रोपनी क्षेत्रफलमा फैलिएको छ । जसका लागि उनले केही जग्गा लिजमा पनि लिएका छन् । खाना खान चाहनेहरुका लागि खेतकै अर्गानिक तरकारी सहित पर्यटककै रोजाई अनुसारको खाना खान पाइन्छ । माछा खान चाहनेहरुका लागि पनि उनले नै माछा पालेका छन् । तत्कालै पोखरीबाट निकालेर माछा तयार गरिदिने ब्यवस्था छ । धन बहादुरले यहा अहिलेसम्म १२ लाख बढी लगानी गरिसकेको बताए । उनले भने–“बिस्तारै यसलाई अझ थप गर्दै लैजाने योजना छ ।”

फार्मको काममा धन बहादुर र उनकी श्रीमति बिहान देखि नै खट्छन् । त्यतिमात्रै स्थानीय प्रजातिको कोदो, फापर, गुन्द्रुक, ढिडो र स्थानीय खशी र कुखुराको समेत ब्यवस्था छ । जसका कारण शहरमा बस्नेहरु समेत गाउले वातावरणमा रमाउँदै खाना खान पाइने भएकोले यहा आकर्षित हुने गरेको धन बहादुरले बताए ।

यो फार्मसगै धन बहादुरले स्थानीय संग्रहालय समेत संचालनमा ल्याएका छन् । यहा पुरानो ढिकी, जातो सहित पुराना संकलनहरु रहेका छन् । खासगरि यो संग्रहालय विदेशी पर्यटकहरुले चासो मानेर अवलोकन गर्ने गरेको धन बहादुरले बताए । “काम गर्ने हो भने नेपालमै पनि नाम दाम छ भनेर सन्देश दिनकै लागि मैले यो फार्म संचालनमा ल्याएको हँु । यसलाई बिस्तारै बढाउने, थप प्रचारप्रसार गर्ने र पाल्पा आउने जो कोहीका लागि एक पटक यहा आउनैपर्छ भन्ने वातावरण बनाउने योजना छ ।” धन बहादुरले भने ।

Comments
Loading...