बिदेशबाट फर्केकाहरु क्वारेन्टाइनमा बस्नै मान्दैनन्

0 112

पाल्पा । कोभिड १९ अर्थात् कोरोना भाइरसको माहामारी बिश्वभर फैलिरहेका बेला नेपालमा पनि गत सातादेखि नै लक डाउन मार्फत उच्च सर्तकता अपनाइएको छ । गत मंगलबारबाट सरकारले औपचारिक रुपमा लकडाउनको आह्वान गरेसँगै पाल्पाका सबै स्थानीय तहहरुले गाउँ गाउँमा क्वारेन्टाइनको निर्माण गरेका छन् ।


तर पाल्पामा स्थानीय तहले बनाएका क्वारेन्टाइनमा बस्न धेरैले हिच्किचाएका छन् । जिल्लाका १० वटै स्थानीय अन्र्तगत २३ स्थानमा ३ सय बढी बेड क्षमताका क्वारेन्टाइनहरु निर्माण गरिएको भएपनि यी मध्ये धेरै जसो क्वारेन्टाइन खाली रहेका छन् । यो अवधिमा भारत सहित बिभिन्न देशबाट पाल्पामा फर्किनेको संख्या ११ सय बढी रहेको छ । तर ४१ जनामात्रै क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत यज्ञश्वर पन्थीले बताए ।


लक डाउन उलंघन गर्दै मानिसहरु ५ दिन हिडेर गाउँ घर पुगेका छन् । यी मध्ये अधिकांश भारतमा बस्दै आएका पाल्पाी छनु । तिनाउँ, माथागढी र रैनादेवी क्षेत्रका स्थानीयवासीले बार लगाएर बाटो अवरुद्ध बनाएपनि रातिको समयमा उनीहरु पाल्पा छिर्ने गरेका छन् । त्यस्तै पाल्पा हुँदै गुल्मी, स्याङजा पैदलबाट जानेहरुको संख्या पनि उत्तिकै देखिन्छ ।


जिल्लामा विदेशबाट आएकाको तथ्यांक ११ सय बढी पुगेको छ । त्यसमध्ये भारतबाट फर्कने ८० प्रतिशत छन् भने अन्यत्रबाट आउने २० प्रतिशत छन् । तानसेनमा ४, रामपुरमा ९, पुर्वखोलामा १९, रिव्दीकोटमा ३ र रैनादेवी छहरामा ४ जना मात्रै क्वारेन्टाइनमा रहेका छन् । पाल्पा अस्पतालमा २ जना कोरोना शंकास्पद भेटिएकोमा उनीहरुलाई सुरक्षित रुपमा होम क्वारेनटाइनमा राखिएको जिल्ला अस्पताल पाल्पाका डा. पुष्पराज ज्ञवालीले बताए । जिल्ला अस्पतालमा हाल १० बेड क्षमताको आइसोलेसन रहेपनि कुनै पनि बिरामी नरहेको समेत उनले बताए ।


जिल्लामा हाल लुम्बिनी मेडिकल कलेज प्रभासमा १० बेड, मिसन अस्पतालमा ६ बेड, जिल्ला अस्पतालमा ८ बेड र रामपुर अस्पतालमा २ बेडको आइसोलेसन रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख बिश्वनाथ न्यौपानेले बताए ।
विदेशबाट आएका गाउँ घरमा खुलेआम हिडडुल गर्न थालेपछि जोखिम बढेको छ । यो समस्या बजारको तुलनामा ग्रामीण क्षेत्रमा बढी रहेको छ । रम्भाको ताहुँको क्वारेन्टाइनमा राखिएका २ जना परिवारको दवावमा भागेका छन् । पटक पटक सम्झाउदा समेत क्वारेन्टाइनमा राख्न नसकिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

Comments
Loading...