बिप्लव नेतृत्वको नेकपाकी नेतृ सुवेदी पक्राउ, तत्काल छोड्न पार्टीको ध्यानाकर्षण

0 29

बुटवल । विप्लव नेतृत्वको नेकपा रुपन्देहीकी जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रिय सदस्य कल्पना सुवेदी पक्राउ परेकी छन् । उनलाई गएराती करिव १२ बजेको समयमा देवदहबाट पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए । थापाका अनुसार उनलाई देवदहस्थित उनको घरबाटै पक्राउ गरिएको हो । विप्लव समूहलाई प्रतिबन्ध लगाएयता रुपन्देही प्रहरीले सुवेदी सहित जिल्ला तहका १० जना नेतालाई पक्राउ गरेको छ ।

यस्तै गयराती आफ्नो ५ बर्षे छोरासहित गिरफ्तार परेकी नेकपा रुपन्देहीका जिल्ला नेता कल्पना सुवेदीलाई तत्काल रिहा गर्न नेकपाले माग गरेको छ । बुधबार सो पार्टीले एक विज्ञप्ती जारी गर्दै तत्काल रिहा गर्न माग गरेको हो । जिल्ला सेक्रेटरी अमर आरसीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा ‘क्रुर शासकले अपराधीलाई जस्तै व्यवहार गरी एउटा बच्चासँगको आमालाई मध्यरातमा प्रहरीले गिरफ्तार गर्ने जुन हर्कत गरेको छ, यसले कथित कम्युनिष्ट नामको सरकारको चरित्र उदांगो पारेको जनाइएको छ ।

‘विनाकसुर राजनैतिक आस्था र विचारकै कारण आफ्नो ५ बर्षे छोरासहित गिरफ्तार पर्नुभएकी पार्टीको जिल्ला नेता कल्पना सुवेदीको तत्काल रिहाईको माग गर्दछौं,’ साथै यस्तो गम्भीर मानवअधिकार उल्लंघनको घटनाप्रति मानवअधिकारवादी, ईन्सेक, पत्रकार तथा सबै सरोकारवालाहरुको ध्यानाकर्षण गर्न चहान्छौं ।’ जारी विज्ञप्तीमा भनिएको छ ।

आफ्नो पार्टीका नेता तथा शुभचिन्तकलाई लामो समयदेखी गैरन्यायीक हिरासतमा राखेको भन्दै सवैलाई तत्काल नछोडे कडा संघर्षमा जाने चेतावनीसमेत सो पार्टीले विज्ञप्तीमार्फत दिएको छ ।

Comments
Loading...