बुढेसकालमा पनि यात्रुकै चिन्ता लिनुहुन्छ कलकत्ते दाई

0 4,679

पाल्पा । तानसेन बसपार्क र आसपासको बाटोबाट यात्रा गर्नुभएको छ भने तपाइले पक्कै पनि उहाँलाई चिन्नुभएको छ । ४४ वर्षदेखि तानसेन बसपार्कमा निरन्तर नागरिक प्रहरीको भूमिका निर्वाह गर्दै आउनुभएका टोपप्रसाद श्रेष्ठ (कलकत्ते दाई) लाई नचिन्ने कमै होलान् । शरीर बुढ्यौलीतर्फ ढल्किएको छ तर पनि उहालाई चिन्ता यात्रुकै छ ।

कुनै बैंकको सुरक्षागार्डको जस्तो पोशाक । हातमा एउटा लठ्ठी छ । कम्मरसम्म झुण्डिएको सिठ्ठी र पुरानिएर च्यातिनै लागेका जुत्ता । उहाँलाई झट्ट हेर्नेहरुले सुरक्षाकर्मी नै होला भन्ने अड्कल काट्छन् । उक्त ब्यक्ति सुरक्षाकर्मी पनि हैन तर सेवा बर्दी लगाएको प्रहरीको भन्दा कम छैन । कलकत्ते दाई नामले परिचित टोपप्रसादले अप्ठेरोमा परेका यात्रुलाई गाडी चढाइदिने, यात्रुलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने लगायतका कार्यहरू गर्दै आउनुभएको छ । आफु ट्राफिक प्रहरी नभएपनि उहा“को काम नै यात्रु र चालकलाई ट्राफिक नियमबारे समझाइरहने हो ।

२००२ सालमा स्याङजा जिल्लाको तत्कालीन सिरुखर्क गाविसमा जन्मिएका कलकत्ते दाई २०३२ सालतिर कामको खोजीमा पाल्पा आएका बेला देखि नै पाल्पा बसपार्कको सवारी व्यवस्थापन कार्यमा लाग्नुभएको हो ।

टाढाबाट आएका यात्रुलाई गन्तब्यमा पु¥याउन सहयोग गर्ने, चालक तथा सहयोगीलाई सवारीको साधनको अवस्था जाचबुझ गरेर मात्रै गन्तव्यमा लाग्न सुझाव दिने, मादक पदार्थ सेवन नगर्न अनुरोध गर्ने, सवारी पार्किङका लागि उपयुक्त स्थान देखाइने काम उहाँले गर्नुहुन्छ । उहाँको खास तलव छैन । कसैले उहाँलाई रोजगारीका लागि राखेको पनि हैन । तर उहाँले निस्वार्थ रुपले सेवा गर्दै आउनुभएको छ । सवारी चालकहरुले आदर दिएको ५÷१० रुपैयाँ र स्थानीय व्यापारी तथा सहयोगीहरुको सहयोगबाटै उहाँको दैनिकी चलेको छ ।

कलकत्ते दाईको आफ्नै मार्मिक कहानी छ । “सानै छँदा आमाको मृत्यु भएपछि बा ले अर्को बिहे गरे म सानो छँदा पनि पढेर समाजसेवी बन्ने रहर थिए तर पढ्न पाइन त्यसैले अहिले सडकमा बसेर यात्रु सेवा गर्दैछु ।” उहाँले भन्नुभयो । उहाँले लगाउने पोशाक पनि आफूले किन्नुभएको हैन । उहाँलाई माया गरेर अरुले नै जडौरीको रुपमा उक्त कपडा दिएका हुन् । यो लठ्ठी त देखाउनको लागि मात्रै हो कहिल्यै यसको प्रयोग गर्नुपरेको छैन कतिपय लफंगा केटाहरू पनि मलाई देखेपछि आफै डराएर भाग्छन् । उहाँले भन्नुभयो ।

श्रेष्ठको परिवारमा अरु कोही छैन उनी एक्लै हो । बिहान भाले बास्न नभ्याउँदै देखि उनको ड्युटी सुरु हुन्छ र साँझ आँखाले मेसो पाउञ्जेलसम्म सडकमै खटिन्छन् । सामान्य जागिरेको भए यो बीचमा धेरै बिदाहरू पर्ने थिए होला तर उनले काम सुरु गरेदेखि अहिलेसम्म एक दिन पनि बिदा लिएर कहिकतै गएका छैनन् । बुढेसकालमा पनि बिना स्वार्थ यात्रुकोे सेवामा लागिपर्नुभएका कलकत्ते दाईप्रति हाम्रो पनि सम्मान ।

Comments
Loading...