बोटे बालबालिकाको पुर्नस्थापनका लागि पहल सुरू

0 30

पाल्पा । अभिभावकको मृत्यु भएपछि बिचल्लीमा परेका बगनासकाली गाउँपालिका–७ खानीगाउँका दुई बोटे बालबालिकाको सहयोगका लागि सहयोगी हातहरु अगाडि बढेका छन् ।
१४ वर्षीया हेमा बोटे र उनका भाई १० वर्षीय सन्तबीर (बुद्ध) बोटेले अहिले आमा बावुको अभावमा कष्टकर रुपमा दिनरात गुजार्दै आएको समाचार पाल्पा समाचार डटकम सहित संचारमाध्यमहरुमा प्रकाशन भएको थियो ।

कात्तिक २७ गते बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल स्वयम् बालबालिकाको घरमा पुगि उनीहरुको बिषयमा जानकारी लिए । सोही अवसरमा अध्यक्ष बस्याल र समाजसेवी युवा कमलकृष्ण कार्कीले दश हजार बरावरको चामल, लुगा तथा बिस्तारा र ब्लाङकेट प्रदान गरे । त्यस्तै बगनासकाली वडा नं. ७ की वडा सदस्य रिता भट्टराईले समेत दुई दुई जोर न्यानो कपडा हस्तान्तरण गरिन् ।

अध्यक्ष बस्यालले तत्कालका लागि यसरी सहयोग प्रदान गरिएपनि दीर्घकालका लागि उनीहरुलाई पुर्नस्थापन केन्द्रमा पठाउन उपयुक्त हुने र त्यसका लागि गाउँपालिकाले आवश्यक पहल गर्ने बताए । अहिले उनीहरुको घरमा बस्न समेत अप्ठेरो भएकोले अन्य बिकल्प नहुञ्जेल सम्मका लागि छिमेकी शान्ति बोटेको घरमा राखेर खाना खुवाउने गरि बातावरण मिलाइएको छ ।
उनीहरुको जन्मदर्ता तथा हेमाको अपांगता परिचय पत्र पनि नभएकोले तत्काल यसको कामलाई अगाडि बढाउने वडा सचिव हरिप्रसाद बस्यालले बताए । हेमा शारिरीक रुपले अपांग छन् भने सन्तबीरमा कुनै समस्या छैन । वडा अध्यक्ष गुन बहादुर बुढाथोकी, वडा नम्बर ६ का वडा अध्यक्ष लक्ष्मी अधिकारीले यी बालबालिकाहरुको उचित ब्यवस्थापन हुनुपर्नेमा जोड दिए ।

पत्रकार यज्ञमूर्ति तिमिल्सिना, पत्रकार दयाराज न्यौपाने, स्थानीय दैलातुङ आधारभुत बिद्यालयका प्रधानाध्यापक केशव खराल, स्थानीय बोटे समुदायका अगुवा गजबीर बोटेले सरकारी तथा गैरसरकारी निकायसितको समन्वयमा उनीहरुलाई पुर्नस्थापन गर्न सके उनीहरुको दैनिकी सहज हुने बताए ।

Comments
Loading...