बोटे बालबालिका पुर्नस्थापित भए

0 20

पाल्पा । अभिभावकको निधनपछि बेसाहारा भएका बगनासकाली गाउँपालिका–७ खानीगाउँका बोटे बालबालिका कात्तिक २९ गतेदेखि बालगृहमा पुर्नस्थापित भएका छन् ।

कात्तिक २९ गतेबाट उनीहरु अभियान नेपालले संचालन गरेको सिलोम बाल गृह तानसेन ध्रुवघाटमा बस्न थालेका हुन् । उनीहरुका लागि गास बास कपास सहित अध्ययनको व्यवस्थापन बालगृहले नै मिलाउने अभियान नेपालका संस्थाक पुननारायण श्रेष्ठले बताए ।

१५ वर्षीया हेमा बोटे र उनका भाई १० वर्षीय बुद्ध बोटेले अहिले आमा बावुको अभावमा कष्टकर रुपमा दिनरात गुजार्दै आएका थिए । उनीहरुको दैनिकी कष्टकर भएको समाचार स्थानीय संचारमाध्यमहरुमा आएपछि भएपछि बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल उनीहरुको घरमै पुगेर सहयोग प्रदान गर्नुका साथै पुर्नस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालको कार्यकक्षमा भएको बैठकपछि महिला तथा बालबालिका कार्यालय पाल्पाका निमित्त प्रमुख मनोज आचार्य, बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल, इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना, खानीगाउँका वडा सचिव हरि प्रसाद बस्याल, स्थानीय बोटे अगुवा शान्ति बोटेले उनीहरुलाई बालगृहमा लगेका थिए ।
यसअघि उनीहरुको दीर्घकालिन पर्नुस्थापनका लागि इन्सेक, मानवअधिकार निगरानी समूह सहित जिल्लामा क्रियाशील मानवअधिकारकर्मी तथा सञ्चारकर्मीहरुले कात्तिक २७ गते पाल्पाका प्रमुख जिल्ला अधिकारी एवम् बालकल्याण समिति पाल्पाका अध्यक्ष बिष्णु प्रसाद ढकाललाई ध्यानाकर्षणपत्र बुझाएका थिए ।

इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना, मानवअधिकार निगरानी समूहका संयोजक भगवान भण्डारी, इन्द्रेणी समाज केन्द्रका कार्यक्रम संयोजक रुद्र मश्रांगी, पाल्पा बिकास केन्द्रका अध्यक्ष कृष्ण पोखरेल, पाल्पा आवाज पत्रिकाका दयाराज न्यौपाने, श्रीनगर टेलिभिजनका बिष्णु प्रसाद घिमिरे, सुर्योदय टेलिभिजनका कमल बस्याल, मानवअधिकार निगरानी समूहका माया नेपालीले ध्यानाकर्षणपत्रमा हस्ताक्षर गरि बुझाएका थिए ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रजिअ ढकालले यस बिषयमा आफूले पहल गरिरहेको बताए । उनले बालबालिकाहरुको हितलाई प्रमुख मानेर अगाडि बढ्ने बताएका थिए । उनीहरुलाई पुर्नस्थापन केन्द्रमा पठाउनु अघि प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले दुबै बालबालिकालाई आफ्नो कार्यकक्षमा बोलाई बिस्तृत जानकारी समेत लिएका थिए । प्रमुख जिल्ला अधिकारी, महिला तथा बालबालिका कार्यालय, बगनासकाली गाउँपालिका, वडा कार्यालय सहित इन्सेक, श्रीनगर सामुदायिक टेलिभिजन, नवजनचेतना दैनिक, मानवअधिकार निगरानी समूह सूर्योदय टेलिभिजन, सहित सरोकारवाला सबैको सहयोग र समन्वयमा यो प्रयास सफल भएको इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले बताए ।

Comments
Loading...