भाग्य (लघुकथा)

0 838

– नवराज शर्मा

धेरै दिनपछि दिदी बहिनीको भेट भयो । भलाकुसारी भयो । एउटा रुखको हाँगामा बसेर दुबै चिर्बिर चिर्बिर गर्दै आफ्ना सुख-दु:खका कुरा गर्दै थिए । उनीहरुको ध्यान घरबेटीको छोरीहरूतिर गयो ।
“ होइन दिदी ! घरबेटीले दुबै सन्तानलाई कुनै पनि कुरामा नछुट्याई बरोबर माया गरी हुर्काएका हुन् । अवसर त दुबैले समान पाएका हुन् नि ! राम्री भएर पनि घरमा बस्न नसकेर बहिनीलाई माइत आएर बस्नु पर्‍यो । लोग्नेले अर्की ल्याए रे ।”
“ ल्याउन त तिनका भेनाले पनि अर्की ल्याएकै हुन् नि तर तिनलाई माइत आएर बस्नु परेन ।”
“ भाग्यले ठगेपछि कसको के लाग्छ ?”
“ भाग्यले ठग्यो भनुँ भने दिदीभन्दा बहिनी नै राम्री हो । घर पनि राम्रै पाएकी हो ; अवसर पनि दुबैले राम्रै पाएकै हुन् ।”
“ तर के गर्छ्यौ ? काले कृष्णलाई नै सबैले मन पराए । दिदी पढेर आफ्नु खुट्टामा उभिइन् ; बहिनी सौन्दर्यको बैशाखीमै मक्ख भइन् । एउटी शिक्षित भइन् अर्की साक्षर मात्र भइन् ।”
“ हो रै’छ दिदी भाग्य कर्मले बन्दो रै’छ सुन्दरताले होइन रै’छ ।”
“ कति अरुको कुरा मात्र गरेर बस्छ्यौ ? ए ……….. !” बतास बतासिएर आयो । चरीहरू भुर्र उडे ।
जूनाको हातको निमन्त्रणा-पत्र जूनले मात्र देखी । दिदी बहिनीसँग आफ्नो बिहेको कुरा गर्दै थिई, न बतासिने बतासले चाल पयो न चरीले थाहा पाई ।

– सृजनानगर , भक्तपुर -१

Comments
Loading...