भारतबाट धमाधम मानिसहरु आउन थालेः पाल्पामा कोरोना परीक्षण किट अभाव

0 170

पाल्पा । भारतमा रेल बस तथा जहाज चल्न थालेपछि भारतमा रहेका पाल्पालीहरु जनम जिल्ला र्फकन थालेका छन् । उनीहरुलाई नाकामै पुगेर जिल्ला ल्याउने बातावरण मिलाइएको छ ।
तर भारतबाट धमाधम मानिसहरु आउन थालेपनि कोरोना परीक्षणका लागि पाल्पामा किट अभाव भएको छ । भारतबाट आएकाहरुलाई पहिले तानसेनको होल्डिङ क्वारेन्टाइनमा राख्ने र पहिलो चरणमा परीक्षण गरि नेगेटिभ आएमा सम्वन्धित स्थानीय तहको क्वारेन्टाइन र पोजिटिभ आएमा आइसोलेसनमा पठाउने गरि तयारी गरिएपनि किट अभाव भएपछि भारतबाट आएकाहरु परीक्षण नगरि गाउँका क्वारेन्टाइनमा गएका छन् । जसका कारण ग्रामीण क्षेत्रमा त्रास बढेको छ ।

केही दिनसम्म सिमानाकाबाट आएका नागरिकको नियमितरुपमा परीक्षण गरिएको भएपनि अहिले जिल्लामा आपतकालीन परीक्षणका लागि मात्र किट रहेको र यसबारे केन्द्र तथा प्रदेश सरकारलाई जानकारी गराइएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख विश्वनाथ न्यौपानेले बताए ।

जिल्ला कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले किट अभावमा नियमित स्वाब संकलन र आरडीटी परीक्षण रोकिएको जनाएको छ । अबका दिनमा कोरोना संक्रमणका लक्षण बाहेक साधारण व्यक्तिको स्वाब परीक्षण नगरिने प्रमुख जिल्ल अधिकारी यादव सुवेदीले बताए । हाल जिल्लामा परीक्षण किट अभाव भएकाले मन्त्रालय, विभाग तथा प्रदेश सरकारसँग किट माग गरिरहेको भएपनि देशभरी नै अभावको कारण जिल्ला आउन ढिलाई भएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए ।

यो एकहप्ताको बिचमा पाल्पामा ७ जना ब्यक्तिहरु भारतबाट आएका छन् । भारतबाट पाल्पा आएकामध्ये २ सय जनाको मात्र स्वाब संकलन गरिएको र ४६४ जनाको परीक्षण बाँकी रहेको छ । पाल्पामा हालसम्म २६८ जनामा पीसीआर र ६ सय बढीमा आरडीटी परीक्षण गरिएको छ । भारतबाट आएका ब्यक्तिहरुलाई पहिलो चरणमा तानसेनको जनप्रिय मावि र बतासेमा रहेको त्रिभुवन बहुमुखी क्याम्पसको होल्डिङ क्वारेन्टाइनमा राख्न सुरु गरिएको छ ।

Comments
Loading...