भ्रमको खेती सुरु भयोः मन्त्री ज्ञवाली

0 33

पाल्पा । परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले स्थिरता नचाहने तत्वबाट अहिले भ्रमको खेती सुरु भएको बताएका छन् । उनले अस्थिरताका संवाहकहरूबाट उपलब्धीलाई ओझेलमा पार्ने र अस्थिरता कायम राख्ने प्रयत्न भईरहेको बताए । सरकारले गरिरहेको काम र उपलब्धीमा भ्रम छरेर स्थायित्व नचाहनेहरूबाट गलत प्रचार भईरहेकोप्रति सचेत रहनुपर्ने मन्त्री ज्ञवालीले बताए ।


नेपाल कम्युनिष्ट पार्टी तानसेन नगर कमिटिद्वारा शनिबार तानसेनमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विगतमा छिनछिनमै सरकार परिवर्तन गरिरहेको तत्व सल्बलाईरहेको बताए । मन्त्री ज्ञवालीले स्थिरता र समृद्धिको नारालाई मन पराएर जनताले नेकपालाई दुई तिहाई मत दिएको उल्लेख गर्नुहुँदै उक्त मत उत्ताउलो बन्न, दम्भ देखाउनका लागि नभएको बताए ।


उनले केही समयअघि आएको संविधान संशोधनको बहस गलत भएको उल्लेख गर्दै संविधान गतिशिल दस्तावेज भएपनि अस्थिरतालाई बल पु¥याउनेहरूप्रति सचेत रहनुपर्ने बताए । उनले अहिले मूल धारको मिडियाले समेत अस्थिरतामा खेल्न खोज्नेलाई बल पुग्ने गरी समाचार सम्प्रेषण गरेको मन्त्री ज्ञवालीले दावी गरे । नेकपाभित्र झगडा देखाएर, सरकारले केही पनि गर्न सकेन भनेर भ्रम छरेर अस्थिरता निम्त्याउन खोजिएको छ मन्त्री ज्ञवालीले भने । उनले अहिले संविधान संशोधन होइन, संविधानको सफल कार्यान्वयन सहित समृद्धि हासिल गर्न सकिने दावी गरे ।


कार्यक्रममा नेकपा पाल्पाका इन्चार्ज सोमप्रसाद पाण्डेय, केन्द्रीय सदस्य ठाकुर गैरे, जिल्ला अध्यक्ष नारायण आचार्य, नेता धनेन्द्रराज घिमिरे लगायतले आअफ्नो धारणा राखेका थिए । कार्यक्रममा पार्टीले अघि सारेका तीन महिना अभियानका बारेमा जानकारी गरिएको थियो । कार्यक्रम नकपा नगर कमिटिीका सहइन्चार्ज गुँरास आत्रेयको स्वागत, अध्यक्ष रामप्रसाद पोखरेको अध्यक्षता र सचिव नारायण कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

Comments
Loading...