मतदाता शिक्षाका लागि सरकारको लगानी बालुवामा पानी

0 14

कमल बस्याल । पाल्पा
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाल्पा जिल्लामा ५ हजार २ सय २१ मत बदर भएको छ । मत पत्रमा ल्याप्चे लगाउने, कोठा बाहिर छाप लगाउने, एउटै मत पत्रमा दुई मत चिन्हमा छाप लगाउने जस्ता मतपत्रहरु बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभातर्फ २ हजार ८ सय २१ र प्रदेशसभामा २ हजार ३ सय ५१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । यो क्रमशः पाल्पा जिल्लामा झरेको मतको २ दशमलव ३३ र १ दशमलव ९१ प्रतिशत हो ।

मतदाता शिक्षाका लागि खटाइएका मतदाता स्वयम्सेवीले प्रभावकारी मतदाता शिक्षा दिन नसक्दा र स्वयम् उम्मेदवारले पनि आफ्ना मतदातालाई मत हाल्ने तरिका सिकाउन नसक्दा बदर मतको संख्या बढेको देखिएको छ । अझ त्यसमा पनि समानुपातिक तर्फको मतपत्रमा अझ धेरै बदर भएको पाईएको छ । समानुपातिक तर्फ प्रतिनिधि सभामा ४ प्रतिशत र प्रदेश सभामा ६ दशमलव ७३ प्रतिशत मत बदर भएको हो ।

समानुपातिक तर्फको मतपत्र ठुलो र प्रदेश र प्रतिनिधि सभा तर्फको २ वटैको एउटैमा भएकाले पनि मतदाता झुक्किएका हुन । मतदाता शिक्षा प्रभावकारी नहुँदा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा मतहरु बदर भएको पाल्पा जिल्लाका मुख्य निर्वाचन अधिकृत शंकर राज बरालले बताए । जिल्लाको कुल मतदाता १ लाख १ हजार २ सय ५५ मध्ये ६७ दशमलव ८ प्रतिशत मत खसेको थियो । त्यसोत मतदाताहरुले निर्वाचन शिक्षा प्रभावकारी रुपमा नआएको गुनासो गर्दै आएका थिए र समाचारमाध्यममा पनि यस बिषयले राम्रै स्थान पाएको थियो । राज्यबाट निर्वाचन शिक्षामा लगानी भएको करोडौं रकम बालुवामा पानी जस्तै भएको छ ।

Comments
Loading...