महामारीले पर्यटन रोकिदैन

0 218

–के.बि.मसाल
बिश्वमा अहिले भ्रमणको सस्कृति बन्दै गएको छ । बिश्वको एक कुनाको मानिस अर्को कुनाको बारे अध्यन अवलोकन गर्न चाहन्छ । कोरोना भाइरसको महामारी अन्त्य होला ! त्यो नै अन्त्य पनि होइन । आदिमकाल देखिनै अनैकौ महामारीको सुरुवात र अन्त्य हुदै पनि आएको छ । इतिहासलाई आधार मान्ने हो भने अहिले सम्म २४ पटक महामारी भएको छ । तर मानिसको भ्रमण भने रोकियको छैन । विश्व पर्यटनको इतिहासमा अठारौँ शताब्दीलाई लिने गरिन्छ । विशेषगरी सन् १९४३ देखि सन् १९७३ सम्मको ३० वर्षको अवधिमा भ्रमणका क्षेत्रमा उल्लेखनीय प्रगति भएको मानिन्छ । त्यो समयमा पनि अहिलेको जस्तै महामारीको भएको थियो ।


घुमफिर गर्ने सस्कृति अहिलेको मात्र होइन । आदीकाल देखिनै घुमफिरको सस्कृति बन्दै आएको हो । आदीमकालमा मानिसहरु फिरन्ते प्रकृतिका थिए उनिहरु घुमफिरमा रमाउथे । घुमफिर अर्थात फिरन्ते भएरनै आफ्नो आवस्यकता पुर्ति गर्दथिए । त्यो समयमा पर्यटन ब्यवसाय नभए पनि बिभिन्न किसिमका रोग र महामारीले धेरै मानिसको मृत्यु हुने गर्दथियो । तर पनि घुमफिरको क्रम भने रोकिने थिएन । कृषि युगमा आएपछी मात्र मानिसले खेती गर्ने र घरबास गर्न सुरु गरेका हुन् । त्यसपछि औद्योेगिक काल आएपछी भने सुख, सुविधा र आय आर्जनको बाटो हेरेर शहरीकरण र आवाशिय विकास हुन थालेको हो । तर पनि घुमफिर रोकिएन झन यसलाई पर्यटकको रुपमा आज बिश्वका मानिस एक अर्को देश अथवा आफ्नै देशका ग्रामणि क्षेत्रमा घुमफिरमा रमाउन थालेका छन् ।


अहिले एक्काइसौ शताब्दीमा अन्तर्राष्ट्रिय बजार, बाणिज्य अनि अर्थतन्त्रको विकासले विश्वनै ग्लोबल भिलेजको रुपमा रुपान्तरण भइसकेका छ । जसले गर्दा पर्यटन ब्यवसाय बिश्वका हरेक मुलुकमा हुने गरेको छ र बिश्वका मानिसहरु पर्यटन बनेर उनिहरुको इच्छा अनुसार घुमफिर गर्ने बानी परेको छ । बिहान लण्डनको मानिस खाना खान काठमाण्डौ आएको छ भने काठमाण्डौबाट मानिस चियाँ चमेना लिन कुनै मुलुक पुगेको छ । त्यसैले भन्ने गरिएको छ विश्वनै ग्लोबल भिलेज भएको छ । यो हुनुनै पर्यटकहरुको घुमफिरले गर्दा भएको हो । नेपालको पर्यटन क्षेत्र विगतमा पनि महामारी र अन्य कारणले केहि समय पर्यटन क्षेत्रमा मन्दी आयो । युद्ध, भूकम्प, बाढी, पहिरो, सोनामी, सार्स, इन्फ्लुन्जा, स्वाइन फ्लु, बर्डफ्लु, मर्स, इभोला, जीका भाइरस जस्ता रोगबाट धेरै मानिसहरुको मृत्यु भयो । तर न त पर्यटन ब्यवसाय रोकियो न त मानिसको घुमफिर नै ! महामारी र पर्यटन ब्यवसाय फरक हो । महामारीकै कारण मानिसको मृत्यु हुन्छ तर पर्यटन रोकिदैन ।


पर्यटन शब्दको शाब्दीक अर्थ भ्रमण हो । एक स्थलबाट अर्को स्थलहरुमा गरिने भ्रमणलाई पर्यटन भनिन्छ । पर्यटन देश र विदेश जता पनि हुन्छ । यसरी देश विदेशका महत्वपूर्ण स्थलहरुको भ्रमण गर्ने, संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन, जीवनशैलीको अध्ययन गर्ने, ऐतिहासिक पुरातात्विक एवम् धार्मिक स्थलहरुमा अध्ययन अनुसन्धान गर्ने, प्रकृति सौन्र्दयमा रमाउने जस्ता विभिन्न उद्देश्य बोकेर आउने पर्यटकहरुका लागि आवश्यक पर्ने सबै सुविधाहरु उपलब्ध गराउनका लागि गरिने व्यवसाय पर्यटन व्यवसाय हो । पर्यटन अर्थात टुरिजम फ्रेन्च शब्द हो भने पर्यटक भनौँ वा टुरिस्ट शब्द लेटिन भाषा हो । व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ । विश्व पर्यटन सगठनको परिभाषा अनुसार पर्यटकले आफ्नो सामान्य परिवृत्ति बाहिर, चौबीस घण्टाभन्दा बढी समय, मनोरञ्जन, व्यापार र त्यस ठाउँमा आयश्रोत हुने क्रियाकलाप बाहेक अरु उद्देश्यका लागि गर्ने भ्रमण लाईनै पर्यटक भनिन्छ ।


विश्वमा पर्यटनको इतिहास लामो छ । पर्यटनको क्षेत्रमा गहिरो अध्यन गर्ने हो भने प्राचीनकालमा लिच्छविकाल समयमा नेपालमा चिनियाँ यात्री फाइयानले कपिलवस्तुमा सन् ३९९ देखि सन् ४१४ सम्म भ्रमण गरेको इतिहास भेटिन्छ । पछि सन् ६२९ देखि ६४५ सम्म चिनियाँ यात्री दुःख साङले नेपाल भ्रमण गरी नेपालकै विषयमा धेरै कुरा लेखेका थिए । मल्लकालीन समयमा भोट अर्थात चीनमा व्यापारका कारण विदेशीहरु नेपाल आउने गरेका थिए । त्यो समयमा नेपालीहरु पनि विदेश भ्रमण गरेका थिए । जुन कुरा वि.सं. १९०६ मा श्री ३ जंगबहादुर राणाको बेलायत यात्रामा उनका टिममा ५० औं जनाको यात्रा उधारण लिन सकिन्छ । श्री ३ जगंबहादुर राणाको बेलायत भ्रमण गर्नु भन्दा पहिले व्रह्मपुत्र नदी पार गरेर कुनै पनि नेपाली वाहिरी मुलुकको भ्रमणमा गएका थिएनन् ।


नेपालको भूमीमा टेक्ने पहिला पर्यटक मन्जुश्रीलाई मानिएको छ भने नेपालबाट बाहिर जाने पहिलो पर्यटक भृकुटीलाई मानिएको छ । मन्जुश्री नेपाल प्रवेश गरेर काठमाण्डौ उपत्यकाको जलाशयलाई चोभारमा गल्छी बनाएर निकास दिएर उपत्यकामा मानव बस्तीको विकास गरेका थिए । स्रोङचनगम्पो सन् ६१७ देखि ६९८ सम्म तिब्बती सम्राट थिए । यिनैले लिच्छबी शासक अंशुवर्माको छोरी भृकुटी सग विवाह गरी नेपालसंग सम्बन्ध गाँसिएको थियो । बैवाहिक सम्वन्धबाट तिब्बत गएपनि भृकुटीलाई नेपालबाट विदेशमा पुग्ने पहिलो पर्यटक मानिन्छ । हिमाली भेगमा मानिसहरु बसोवास गर्न थालेको करिवन ९ हजार वर्ष भएको छ । सम्भवत भोट–बर्मेली मूलका मानिसहरु नेपालमा २ हजार ५सय वर्ष अगाडि बसोबास गर्न थालेका थिए । ईशापूर्व १५०० तिर आर्यन जातिहरु उपत्यका प्रवेश गरेका हुन । लिच्छवीहरुले ५औं शताब्दिको उत्तरार्धमा आएर राज्य गरे । लिच्छवीवंश ८ औं शताब्दिको उत्तरार्धमा अस्त हुन थाल्यो र सन् ८७९ देखि नेवार युगको उदय भयो । यी सबै इतिहासका कुराहरु पनि भ्रमणसंग जोडिएका छन् ।


सन् १९५० मा फ्रेञ्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले अन्नपूर्ण हिमाल आरोहण गरेपछि नेपालमा पर्यटनको ढोका खुलेको मान्यता छ । पहिलोपटक आठ हजार मिटरको हिमालमा मानव पाइला परेको त्यो सफलता संसारभरि चर्चाको विषय भयो । जुन कारणले नेपाल संसारभरि हिमालको मुलुक भनेर चिनियो । हुन पनि आठ हजार मिटरभन्दा अग्ला १३ हिमाल त नेपालमै थिए । सन् १९५३ मा तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथा चुमे । रोयल होटेल खोलेर नेपालमै बस्न थालेका बोरिस लिसानोभिचले सन् १९५७ र ५८ मा पर्यटकलाई घुम्ने प्याकेज बेच्न थालिसकेका थिए । त्यहीबेला जिम कोपम्यानले चितवनमा खोलेको हन्टिङ कम्पनी र टाइगर टप्स रिसोर्टले वन्यजन्तुका सौखिन पर्यटकलाई आकर्षित गर्न थाल्यो । यसैका कारण विश्वमा चर्चित अफ्रिका वन्यजन्तु पर्यटनको पायोनियर नेपालले तान्न सफल भयो ।


यो सँगै नेपालमा जंगल पर्यटन, बन्यजन्तु पर्यटन, ¥याफटिङ पर्यटनदेखि हिमाल आरोहण गर्ने र टे«किङ पर्यटनले विस्तारै गति लिन थाल्यो । टाइगर टप्सले नेपाल जंगल सफारीका लागि उचित गन्तव्य हो भनेर ब्रान्डिङ गर्यो । पर्यटन बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने उखानसँग मिल्ने व्यवसाय हो । अफ्रिका त के भारतकै तुलनामा पनि नेपालका जंगलमा वन्यजन्तु नगन्य हो । तर, यसलाई एकसिंगे गैंडा र पाटे बाघ देखिने ठाउँका रुपमा प्रचार गरियो । अफ्रिकामा जंगल निस्केपछि हुलका हुल वन्यजन्तु पाइने, यहाँ त्यस्तो हुन्थेन । निस्किने बित्तिकै वन्यजन्तु देखिनुको के मज्जा, देख्छु कि देखिन्न भन्ने कौतुहलता हुँदा पो मज्जा भनेर प्रचार गरियो । यसका कारण विश्वमा नेपाललाई हिमालयको देशसँग विश्वमा लोप हुन लागेको बन्यजन्तु एकै पटकमा हेर्न पाइने भनेर चिनिएको थियो ।


पर्यटनले भ्रमण मात्र होइन राजनीतिक महत्व पनि बढदै गएको छ । राजनीतिक स्थिरता भएको ठाउँमा विकास एवं शान्ति हुन्छ । पर्यटनका लागि त्यो अनुकूल वातावरण हो । फेरि अहिले विश्वव्यापी रुपमा पर्यटन व्यवसाय फैलिएको सन्दर्भमा कुनै पनि राज्य वा समाजले आफ्नो पुरानो राजनीतिक पूर्वाग्रहलाई त्याग्न सकेन भने पर्यटन व्यवसाय फस्टाउन सक्दैन । कतिपय मुलुकहरु त्यस्ता पूर्वाग्रहलाई त्यागी पर्यटन प्रवद्र्धनका लागि राजनैतिक रुपमा भ्रमण गर्न थालेका छन् । चीन, भारत, पाकिस्तानजस्ता देशहरु नजिकका उदाहरणहरु हुन् । सरकारप्रमुख, राज्यप्रमुख, नेता, मन्त्री, उच्चपदस्थ व्यक्ति, सांसद आदिको औपचारिक भ्रमणदेखि राजनैतिक बैठक, सभा सम्मेलनजस्ता राष्ट्रिय, अन्तर्राष्ट्रिय कार्यक्रमहरुले पर्यटनलाई सहयोग पु¥याउदै आएको छ । अर्को तर्फ राजनैतिक संगठन, समूह अर्थात सार्क, ओपेक आदि हरुको नियमित बैठक, भ्रमण आदिले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । वर्तमान अवस्थामा कुनै पनि राष्ट्र एक–अर्को राष्ट्रसँग अछुत भएर बस्न सक्दैन । अहिले धेरै मुलुक पर्यटनका कारण भाइचारामा वृद्धि भएको छ । राजनैतिक रुपमा सहयोगको आदन–प्रदान भएको छ । जसबाट कुनै पनि देशको बाह्य सम्बन्ध राम्रो र सहयोगात्मक मात्र नभएर आन्तरिक विकासमा समेत पर्यटनको राजनैतिक भ्रमणले सहयोग पुगेको छ ।
पछिल्लो समय मुलुकमा बढेको साहसिक पर्यटन वाह्य पर्यटकलाई आकर्षण गर्ने मुख्य माध्यम बन्दै गएको छ । साहसिक पर्यटनको लोकप्रियता विश्वप्रसिद्ध हुँदै गएपछि नेपालमा पनि व्यावसायिक रुपमा सञ्चालन भएको लामो समय भइसकेको छ । नेपालको भूगोल अनुसार पदयात्रा, पर्वतारोहण, कठिन ट्रयाकमा साइक्लिङ रेस, क्यानोनिङ, प्याराग्लाइडिङ्ग, अल्ट्रालाइट, बञ्जी जम्प, रक क्लाइम्बिङ, हाइरोप्स, जिपफ्लायर्स, जंगल सफारी, स्काई ड्राइभिङ र स्किइड लगायत साहसिक खेलका गतिविधिमा पर्यटकहरु आकर्षित हुन थालेका छन् । त्यसैगरि जलयात्राको रुपमा नेपालका भोटेकोशी, त्रिशुली, सुनकोशी, तमोर, अरुण, कालीगण्डकी, मस्र्याङदी, भेरी, कर्णाली लगायत विभिन्न नदीहरुमा ¥याफ्टिङको मज्जा लिने पर्यटकको संख्यामा अत्याधिक वृद्धि भइरहेको छ । साहसिक खेल व्यावसायिक रुपमा सञ्चालन भएसँगै नेपालमा आन्तरिक पर्यटनको आकर्षण समेत क्रमश बढेको छ ।


विश्वको कतिपय मुलुकमा कृत्रिम सुन्दरताले समेत पर्यटकलाई आकर्षित गरिरहेको बेला प्राकृतिक रुपमै रमणीय र साहसिक पर्यटकीय क्षेत्र रहेको नेपालमा हामीले पर्यटकलाई आकर्षण गर्न सकिरहेका छैनौं । नेपालमा प्राकृतिक रुपमा रहेका सायौ पर्यटकिय सम्पदामा मानविय लगानी गर्न परेको छैन । तर अब सरक्षणको खाचो भएको छ । ग्रामीण पर्यटनका बलिया आधार मानिने पर्या पर्यटन, सांस्कृतिक पर्यटन, धार्मिक पर्यटन, साहसिक पर्यटनजस्ता महत्वपूर्ण आयामको उपयोग गर्न पर्याप्त व्यवसायीकरण गर्न सकिएको छैन । तर पनि विश्वका जुनसुकै मुलुकबाट आएका पर्यटक नेपालमा एक पटक पाइला टेकेपछि उनीहरु यसलाई अन्तिम भ्रमण बनाउँदैनन् । नेपालमा पहिलो पटक आउने पर्यटकलाई प्रश्न गर्दा उनीहरुले भनिरहेका हुन्छन्, म फेरि फर्केर आउँछु । त्यसपछि उनीहरु साथी भाइहरु सहित पुनः नेपाल आएको पाइन्छ ।


नेपालको भौगोलिक बनोटले पर्यटकहरु आकर्षित मात्र होइन विभिन्न खालको अनुभवहरु लिन सफल भएका छन् । उच्च हिमालले हिमाल आरोहण गर्ने पर्यटकहरुलाई अवसर प्रदान भएकोछ । अनि पदमार्गमा भ्रमण गर्न चाहने पर्यटकहरुलाई मनमोहन हिमाली दृश्य, नेपालीको आतथ्यिताले लोभ्याएकोछ । त्यस्तै, वन्यजन्तु अवलोकन गर्ने र सांस्कृति मनोरन्जन समेत प्राप्त गर्ने भित्री मधेशले पर्यटकलाई मोहनी लगाएको छ । हिमाल, पहाड भूभागको भ्रमण, बिभिन् जनजातीको भाषा संस्कृतिलाई नजिकबाट अध्यन अवलोकन गर्न पाएका छन् । त्यसैले एउटा देशको भ्रमणबाट पर्यटकको आफ्नो रुचि अनुसारको भ्रमण गरी फरक खालको अनुभव पर्यटकहरुले लिन पाएका छन् ।


अहिले विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारी छ । महामारीले समग्र विश्वलाई नै लकडाउनको अवस्थामा ल्याएको छ । पर्यटन गतिविधिहरु ठप्प हुँदा पर्यटन ब्यवसायीहरुलाई निकै ठूलो असर परेको छ । जसरी मानवीय स्वास्थ्यलाई बचाउनका लागि विश्व एकजुट भएर लागेको छ । अहिले कोरोना भाइरसले समाजमा आशंका, अनुमान, अपेक्षा र आशा जन्माएको छ । मानिसहरुलाई कति लामो समयसम्म यो महामारी जाने भन्ने आशंका छ । यसले निम्त्याउने समस्या कतिसम्म हुने हो आशंका छ । महामारीको आयु सकेसम्म कम होस् र छिट्टै सामान्य अवस्थामा जनजीवन फर्कियोस भन्ने पनि आशा छ । कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी पर्यटन क्षेत्र परेको छ । जसमा विश्वका १८० देशहरुले अर्को देशमा जान र अर्को देशबाट आउनका लागि प्रतिबन्ध लगाएका छन् भने ६० भन्दा बढी देशले लकडाउन लगाएका छन् । पर्यटकको आवतजावत नहुँदा यसको असर नेपाल मात्रै होइन विश्वको पर्यटन क्षेत्रमा सबैमा परेको छ ।


हामीले आशा गरौ यो महामारी लामो समयसम्म रहदैन । अब छिट्टै सामान्य अवस्थामा जनजीवन फर्किने छ र पर्यटनले पुन आफ्नो गती लिने छ ।

Comments
Loading...