महामारी अन्त्यपछि आन्तरिक पर्यटन

0 42

–के.बि.मसाल
कोरोनाभाइरस (कोभिड–१९) का कारण अहिले सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र बनेको छ । अहिले पर्यटन क्षेत्रका कैयौँ श्रमिक बेरोजगार हुनुपरेको छ । कोरोनाको प्रभावले धेरै देशको अर्थतन्त्रमा नकरात्मक प्रभाव परेको छ । नेपालमा करिब १० लाख मानिस पर्यटन क्षेत्रबाट रोजगारी भएका छन् । पर्यटन क्षेत्र प्रभावित भएपछि नेपाल र भारतले आपसी सहकार्य र समन्वयको तयारी सुरु गरेका छन् । यसबाट नेपालको पर्यटनको अवस्था छिट्टै यथा स्थानमा आउने संभावना बढदै गएको छ ।


पर्यटन क्षेत्रमा अहिले होटल व्यवसाय ठप्प भएको छ । नेपालमा रहेका तारे होटल, रिसोर्ट, होमस्टे लगायत सबै होटलहरु पूर्ण रुपमा बन्द भएका छन् । यसबाहेक होमस्टे, पर्यटक स्तरका होटलहरु सबै ठप्प भएका छन् । खासगरी वाह्य पर्यटकहरका लागि तारे होटल, होमस्टे एवम् रिसोर्टहरुका ग्राहक पर्यटक हुन् । तर लकडाउनमा भएपछि सबै हवाई उडानहरु स्थागित भएको र मानिसहरुको आवागमन ठप्प भएपछि होटल व्यवसायमा अर्बौको नोक्सानी भएको छ । होटल व्यवसायमा नोक्सानी मात्र भएको छैन ठूलो संख्यामा बेरोजगारी बढने भएको छ । होटल व्यवसायीहरु लकडाउनका कारण ठप्प बनेपछि नेपालको अर्थतन्त्र नै चौपट भएको छ ।
कोरोना भाइरस को अहिलेको महामारी भन्दा पनि ठूलो महामारी स्पेनिश फ्लू थियो । सन् १९१८ देखि १९२० को महामारी फ्लूले विश्वको जनसख्याको एक तिहाइ मानिसहरुलाई मृत्यु गरायो । त्यसबेला विश्वको जनसख्या १.८ अर्ब थियो । पहिलो विश्वयुद्ध सकिँदै गर्दा स्पेनिश फ्लू भाइरस फैलिएको थियो । तर महामारीले पहिलो विश्वयुद्धमा मारिएका भन्दा धेरै मानिसको ज्यान लियो । जुन महामारीलाई मदर अफ अल प्यान्डेमिक अर्थात् सबै महामारीको आमा भन्ने गरिएको छ । स्पेनिश फ्लूको महामारी भएको एक सय वर्ष भयो । त्यस पछि पनि साना ठूला महामारी हुदै समाधान हुदै गयो । कोरोना भाइरसको अहिलेको महामारीले सबैलाई त्रास बनाएको छ । सबै ब्यवसाय चौपट भएको छ ।


पर्यटन ब्यवसायमा लागेका मानिसहरु झन आत्तीएका छन् । अब यो ब्यवसाय के होला ? हिजोको जस्तो के अब लकडाउन फिर्ता भएपछि नेपालमा वाह्य पर्यटकहरु आउलान ? पर्यटन ब्यवसायीहरु पुन आफ्नो ब्यवसायमा फर्कन सक्लान ? यस्ता प्रश्नहरु सबैको मनमा उब्जिन थालेको छ । अहिले सम्मको महामारीको इतिहास अध्यन गर्ने हो भने महामारी पछिका दिनमा धेरै कुरा परिवर्तन भएका छन् । राजनिती, आर्थीक र सामाजीक कुरा त छदैछ, मानिसले गरिरहेका ब्यपसाय पनि परिवर्तन भएका छन् । अहिलेको कोरोना भाइरसको महामारीले बिश्वलाईनै त्रास बनाएको छ । महत्वपुर्ण कुरा केहो भने, महामारीले जनजीवन अस्तव्यस्त पारेको हो । अस्तब्यस्त जीवनले मानवीय जीवनका हरेक पक्षलाई असर पारेकै हुन्छ । जब मानवीय जीवन सही मार्गमा आउँछ, तत्काल नै मानिसलाई घुमफिर र मनोरंजन आवस्यक पर्दछ । महामारीको अन्त्य पछी मानिस अहिले जसरी लक्डाउनमा बस्नै सक्दैन । मानिसहरु घुमफिरमा निस्कन सुरु गर्दछन । त्यसैले पर्यटनमा महामारीको प्रभाब हराउदै जान्छ ।


प्रत्येक बर्ष घुमफिरमा रमाउने वाह्य पर्यटकहरु महामारीको अन्त्य पछी घुमफिर गर्न नेपाल नआउलान । तर आन्तरिक पर्यटनलाई यसले रोक्दैन । मानिस किन घुमफिरमा रमाउछ भन्ने कुरा मनोविज्ञानमा आधारित हुन्छ । मानिस रमाउनको लागिने पैसा खर्च गर्दछ र घुमफिरमा रमाउछ । पर्यटन मानवीय गुणको चाल सम्बन्धि नियमसंग सम्बन्धित मनोबैज्ञानिक बिषयबस्तु हो । शाब्दिक रुपमा “पर्या ं टन” मिलेर पर्यटन बनेको हुन्छ । पर्या भन्नाले जैविक वातावरण र टन भन्नाले घुमफिर भन्ने बुझिन्छ । यसैगरी पर्यटन, तीर्थाटन, देशाटन जस्ता शब्द पनि पर्यटनसंग जोडिएका छन् । आन्तरिक पर्यटनका लागि नेपालमा के छैन ? समृद्ध इतिहास, कला, संस्कार संस्कृति, मनमोहक प्रकृति, स्वच्छ हावापानी को भूगोल छ । हो हिजोको जस्तै वाह्य पर्यटक महामारीको अन्त्य पछी नेपालमा नआउन सक्छन् ।
अहिले तेस्रो मुलुकका पर्यटकहरु नेपालमा घुमफिरको लागि अब कम्तीमा पनि २ देखि ४ वर्षको समय लाग्न सक्दछ । अब केहि समय विगतमा जस्तो ठूलो समूहमा वाह्य पर्यटक घुमफिरमा नेपाल आउने सम्भावना नरहला तर भारतिय पर्यटक र चिनिया पर्यटकहरु भने यो महामारीको अन्त्य पछी बिस्तारै उनिहरु आउछन् । किनकी यी दुइ मुलुकका पर्यटकहरुको संम्वन्ध केवल पर्यटनसंग मात्र जोडिएको छैन । नेपालमा उनिहरुको तीर्थाटन गर्ने स्थलहरु छन् । उनीहरुको ब्यापारीक सम्वन्ध छ । कयौ भारतियहरुको पारिवारिक सम्वन्ध समेत नेपालसंग रहेको छ । जुन कारणले गर्दा अबको पर्यटनको क्षेत्रमा घुमफिरको लागि भारत र चिनका पर्यटकहरु नेपालमा आउछन् । ती पर्यटकहरुलाई प्रवद्र्धन गर्ने खालका प्याकेज र बजारीकरण गर्न आवश्यक छ । तर पनि हाम्रो पर्यटन अब आन्तरिक पर्यटन नै हो । त्यसैले महामारीको अन्त्य पछी सरकार र पर्यटन ब्यवसायीको पहिलो काम आन्तरिक पर्यटकलाई कसरी प्रवद्र्धन गर्ने कुरामा केन्द्रित हुनु पर्दछ । त्यसका लागि आन्तरिक पर्यटनको नीति नै बनाएर घुमफिरको कार्य योजना ल्याउन पर्दछ ।


नेपालमा आन्तरिक पर्यटनको सम्भावना निकै राम्रो छ । नेपालमा सन् १९९८ को भ्रमण वर्षदेखि नै आन्तरिक पर्यटन सुरुवात भएको हो । त्यो समयमा विदेशी पर्यटकको गाइड, पोर्टरभन्दा भिन्दै घुमफिरको लागि निस्कने नेपाली पनि बढेका थिए । पछिल्लो समय भएका महोत्सवले पनि आन्तरिक पर्यटनको सख्या बढेको थियो । नेपालमा आनतरिक पर्यटनको विकास गर्न ग्रामीण क्षेत्रको आर्थिक विकास सम्बन्धी योजनाहरु राज्यले ल्याउन पर्दछ । त्यसका लागि खास गरेर कृषिको आधुनिकीकरण र सहकारीतामा जोड दिन पर्दछ । ग्रामणि षेत्रमा धेरै मानिस घुमफिर गर्न जादैमा पर्यटनको बिकास भने हुदेन । पर्यटक र अवलोकनर्ता बिच धेरै फरक छ । ग्रामणि क्षेत्रमा पर्यटकीय सम्पदाको भ्रमण गर्दा पैसा खर्च गर्ने व्यक्तिलाई ‘‘पर्यटक’’ मान्न सकिन्छ भने भ्रमण मात्र गर्ने तर पैसा खर्च नगर्नेलाई ‘‘अवलोकनकर्ता’’ मात्र मान्निछ ।
आन्तरिक पर्यटकहरु ग्रामीण क्षेत्रमा घुमफिर गर्दा पैसा खर्च गर्ने भन्दा पनि अवलोकर्ता बढी देखिन्छन । अब अवलोकनकर्तालाई पर्यटकका रुपमा रुपान्तरण गर्न ग्रामीण क्षेत्रमा उत्पादन, वा अन्य सेवा सुविधा विस्तार गर्न पर्दछ । पर्यटकले खर्च गर्न रुचि देखाउन गाउँघरमा कृषि र अन्य हस्तकलाका सामानहरु उत्पादन गर्नु पर्दछ । किनकी पर्यटकहरु गाउँमा पुग्दा कुनैपनि बस्तु घरमा फर्कदा चिनो स्वरुप उसले खरिद गर्न खोज्दछ । अब आन्तरिक पर्यटनको बिकास गर्न ग्रामीण क्षेत्रमा कृषि पेसालाई मर्यादित र सम्मानित बनाउन पर्दछ । गाउँमा पर्यटनको बिकास गर्न कृषि क्षेत्रमा लगानीकर्तालाई प्रोत्साहन तथा सम्मानको व्यवस्था स्थानिय सरकारबाट हुनु पर्दछ । आफ्नो जन्मस्थानमा कृषि पेसामा सम्मान प्रोत्साहन नपाएका कारण दिन प्रतिदिन युवा विदेश पलायन हुने अवस्थालाई कृषि र पर्यटन ब्यवसायले रोक्न सम्दछ ।


कृषिलाई ब्यवसाय बनाउने मानिसहरुलाई सम्मान दिन सक्नु पर्दछ  । अर्को तर्फ सहज रुपमा मल, बीउ, अनुदान, सुलभ ऋण प्राप्त गर्ने अवस्था हुनु पर्दछ । पछिल्लो समय आन्तरिक पर्यटकहरुको मुख्य गन्तव्य ग्रामीण क्षेत्रमा हुने गरेको छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नको लागि अहिले ग्रामीण क्षेत्रमा होमस्टे सन्चालनमा आएका छन् । ग्रामीण क्षेत्रमा पुग्ने आन्तरिक पर्यटकहरुलाई होमस्टेले आकर्षण गराएको छ । पर्यटनको क्षेत्रमा सबैभन्दा पहिले नेपालीले नै आफ्नो देशलाई चिन्नुपर्छ, त्यसपछि मात्र अरुलाई चिनाउन सकिन्छ । विदेशीको मात्र भर परेर पर्यटन विकास हुँदैन । अब आन्तरिक पर्यटकलाई नै लक्षित गरेर पर्यटन बिकासको प्याकेज बन्न पर्दछ ।


नेपालको आन्तरिक पर्यटन एक ठाउँबाट अर्को ठाउँमा जाने निकै पुरानो चलन हो । हिमाली क्षेत्रका बासिन्दा जाडो महिनामा हिउँ छल्न र जडीबुटी बेच्न तराई झर्ने र तराईका मानिस व्यापारका लागि पहाड जाने पुरानो चलन हो । घरमा पुग्ने पाहुना देउता हुन् उनीहरुसँग पैसा लिनुहँुदैन भनेर आन्तरिक पर्यटन हँुदैन । पर्यटन सित्तैमा हुने कुरा होइन । कुनै आन्तरिक पर्यटकले कुनै जातिको संस्कृति हेर्न चाहन्छ भने उसले त्यो संस्कृतिको संरक्षणका लागि केही शुल्क तिर्नुपर्छ । वन्यजन्तु हेर्न हजाराँै खर्च गर्ने पर्यटकले जनजातीहरुको संस्कृति हेर्न पनि खर्च गर्नुपर्छ । पर्यटक भएर कुनै ठाउँमा पुग्नु त्यस ठाउँको प्रकृति र संस्कृतिसँग आबद्ध भएर मनोरञ्जन प्राप्त गर्नु हो । यसको लागि पर्यटकले पैसा खर्च गर्दछ । जुन कारणले ग्रामीण क्षेत्रमा आर्थिक उन्नती हुदै जान्छ । जहाँ पर्यटनको विकास हुन्छ, त्यहाँ आर्थिक उन्नतीले फडको मार्दछ । देशको अर्थतन्त्रलाई सफल बनाउन सबै भन्दा पहिले आन्तरिक पर्यटनको विकास गर्न जरुरी छ ।


परम्परागत पेशाले अब आर्थिक उन्नती हुन सक्दैन । आर्थिक उन्नतीका लागि नयाँ नयाँ क्षेत्रको खोजी गर्नुपर्ने भएको छ । अहिलेको नयाँ खोजी भनेकै आन्तरिक पर्यटन र कृषि ब्यवसाय हो । नेपालमा आनतरिक पर्यटकहरुलाई घुमफिर गर्ने धेरै स्थलहरु छन् । ग्रामणि क्षेत्रमा रहेका वनजगल, पहाड र गुफाहरु अब पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय सम्पदा बन्न पुगेका छन् । जनजातीहरुमा रहेका संस्कार, संस्कृति अब आन्तरिक पर्यटकहरुका लागि सामाजिक अनुसन्धानका विषय बनेका छन् । मानिस स्वभावले नै विविधता मन पराँउछ चाहे जेसुकै कुरामा होस् । शहर बजारमा बसेका मानिस हिमाल र पहाड देखेर रमाँउदछन् । यो मानवको स्वभाव हो, विविधतामा रमाउने । त्यसैले त हरेक मानिस घुमफिर गर्न रमाउछ । घुमफिरले संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन मात्र होइन जैविक विविधताको समेत अध्ययन हुन्छ । यो बाहेक घुमफिरबाट पर्यटकको रुचि अनुसार ऐतिहासिक, पुरातात्विक एवं धार्मिक स्थलहरुको पनि अध्ययन एवं अनुसन्धान गर्न सकिन्छ ।
नेपालको प्राकृतिक सौन्दर्यता, सांस्कृतिक विविधताले पर्यटन विकासको सम्भाव्यता आफैमा लुकेको छ । लुकेमा प्राकृतिक सम्पदाहरुको प्रचार प्रसार गरेर आन्तरिक पर्यटकहरुलाई आकर्षण गर्न पर्दछ । प्राकृतिक छाँगा, छहरा, झरना, ताल तलैया, मठ मन्दिर, गुराँसे मैदान जस्ता प्राकृतिक वातावरणसँग जोडिएका सम्पदाको संरक्षण गर्नु पर्दछ । ग्रामणि क्षेत्रमा अनगिन्ती पर्यटकीय सम्भावना भएका भर्जिन गन्तव्यहरु प्रचार प्रसारको पर्खाइमा बसिरहेका छन् । अनेकौ सांस्कृति तथा धार्मिक सम्पदा र तीर्थस्थलहरु संरक्षणको अभावमा लोपोन्मुख हुन लागेका छन् । त्यस्ता भर्जिन गन्तव्यहरुमा आवश्यक पूर्वाधार तथा सूचना प्रविधिको विकास गर्न पर्दछ । यस्ता गन्तव्य, धार्मिक तथा सांस्कृतिक महत्वका विविध पक्षका खोज गरी अव आनतरिक पर्यटकहरुलाई ती स्थानमा घुमफिर गराउन पर्दछ ।


पछिल्लो समय आन्तरिक पर्यटनको बिकासको लागि धेरै स्थानिय तहहरुले होमस्टे सन्चालन गर्नका लागि कुरा उठाए पनि ३८ जिल्लाका पर्यटकिय गाउँहरुमा होमस्टे सन्चालनमा आएका छन् । ती गाउँमा सन्चालनमा आएका होमस्टेमा बस्ने वाह्य पर्यटकहरु भन्दा बढि आन्तरिक पर्यटकहरु बस्ने गर्दछन् । होमस्टे सन्चालनमा आएका गण्डकी प्रदेशका स्याङजा, कास्की, म्याग्दी, लमजुङ र तनहु लगायतका जिल्लाहरुका होमस्टे अकडाउन हुनु भन्दा पहिले आन्तरिक पर्यटकहरुले धानेका थिए । तराईका जिल्लाहरुमा पनि पुर्वी नवलपरासी, बाके, वर्दिया, कैलाली र कन्चनपुरका होमस्टे पनि वाह्य पर्यटकहरु भन्दा धेरै आन्तरिक पर्यटकहरुले भरिएका हुन्छन् । यस्को कारण के हो भने वाह्य पर्यटकहरु सुविधा जनक होटल नभएको खण्डमा मात्र होमस्टेको खोजी गर्दछन भने आन्तरिक पर्यटकहरु कम खर्चमा बास र खानाको ब्यवस्थाको खोजीमा होमस्टेमा पुग्दछन् ।
नेपालमा पहिलो पटक होमस्टे संचालन गर्ने जिल्ला हो स्याङजा । स्याङजाको सिरुवारी होमस्टेको उदगम थलोको रुपमा परिचित छ । होमस्टेको पर्यटकीय अवधारण नेपालमा मात्रै हैन अमेरिका लगायतका मुलुकमा पनि अगाडी बढेको पाईन्छ । अमेरिका, अस्टे«लिया, यूरोपलगायतका शक्तिशाली देशहरुमा व्यापार र मनोरञ्जनको उद्देश्यले आन्तरिक पर्यटनका गतिविधि भएका देखिन्छन् । यस्तै विकासोन्मुख मलेसिया र केन्या लगायतका देशहरुमा व्यापार, उत्पादन तथा रोजगारी सृजनाका लागि होमस्टे सुरु गरिएका छन् । यस्तै छिमेकी देश भारत र चीनमा पनि होमस्टे सन्चालनमा छन् । अहिले होमस्टे सुविधा भएका गाउँ घुमफिर गर्दा बसाइमा सस्तो मात्र होइन रमाइलो पनि हुन्छ । होमस्टे सांस्कृतिक संगठनका रुपमा प्रचलित अंग्रेजी शब्द हो । जसले भ्रमण अथवा यात्राका क्रममा ग्रामीण भेगका घरमा बास बस्ने भन्ने अर्थ दिन्छ । यसले ग्रामीण क्षेत्रको घुमफिरमा जाने पर्यटकका लागि स्थानीय खाना परिकार, रहन सहनसहित घरघरमा खाने, बस्ने व्यवस्थालाई जनाउँछ ।

Comments
Loading...