महिला हिंसाविरुद्धका गोम बिक्रमका केही मुक्तकहरू

0 141

मुक्तक -१

उहीँ कोखको सन्तान छोरा, महँगो रतन गराइन्छ
‘मर्ला’ भनी अनेक गरी, सब से जतन गराइन्छ
छोरीमा छैन विभेद्को अन्त, जन्मदेखि मृत्युपर्यन्त
लिङ्ग चिनेसी गर्भैबाट, अझै गर्भपतन गराइन्छ ।

मुक्तक – २

जीवन कति स्वर्गीय छ, बतिलैमा कहाँ थाह हुन्छ ?
हुर्किँदै जाँदा पो परिवेशले, बिस्तारै बुझ्ने चाह हुन्छ
कति जिउँदै मरेका छन्, कति अकाल परेका छन्
पूण्यको नाउँमा पाप कर्म, अझै बाल विवाह हुन्छ ।

मुक्तक -३

कति मान्छे त विवेकहीन, सारा पृथ्वीकै भार हुन्छ
अधिकारवादी विवश भई, रमिते बन्न लाचार हुन्छ
जुन सजायँ नि कमै हुने, सम्झिँदा मन झनै रूने
मानवीयता कहाँ खोजूँ, जोबाट एसिड प्रहार हुन्छ ।

मुक्तक -४

किन कानून सबैतिर, उस्तै र एकनाश हुँदैन ?
अन्याय हुन्छ नसक्नेकोमा, न्यायको त्यहाँ बास हुँदैन !
ढाकेर राख्छौ कैलेसम्म ?, फुक्दैन मुठ्ठी जैलेसम्म
शक्तिको आडमा लुकाइएका, गल्तिको पर्दाफास हुँदैन ।

मुक्तक -५

पिडाले सधै तड्पेको देख्छु, उम्किन नपाई सानाहरू
कसरी थिच्नु मिच्नुपर्छ, जान्या छन् तानाबानाहरू
मुखले सधै माथि हुन्छन्, देखिँदा कति जाती हुन्छन्
थाक्दैनन् गौरवगाथा गाई, पानीमाथीका ओभानाहरू ।

मुक्तक – ६

लैङ्गिक हिंसा, बुहार्तन, कुरिति उस्तै चलेका छन्
दमन उस्तै थिचोमिचो, न त अन्यायी ढलेका छन्
अस्तित्व निम्ति जुट्नु पर्यो, अन्यायी विरुद्ध उठनु पर्यो
देशका कुना-कप्चेरामा, कैयन नारी जलेका छन् ।

मुक्तक -७

बन्धक राखी मानवियता, थिचिए कति गलाहरू
दिनानुदिन अल्पायुमा, जले कतिका सलाहरू
बोल्दा थुतिन्छ जिब्रो कति, बाध्यता सहनु अन्याय जति
भ्रमको पर्दामा लुकाएर, दबिए कति निर्मलाहरू ।

मुक्तक -८

नपाउञ्जेल भौंतारिँदै, अनेकतिर डुल्छ मान्छे
पाउँदा भने सारा कुरा, नअटुञ्जेल हुल्छ मान्छे
अघि पुगे फर्किने बाटो, माथी पुगे ओर्लिने साटो
निहित स्वार्थमा रमेपछि, आएकै ठाउँ भुल्छ मान्छे ।

मुक्तक -९

न्यायको तराजु बराबरी, आँशुले पीडा धुनैपर्छ
अन्यायीलाई दण्ड गरी, तड्पिँदो मुटु छुनैपर्छ
नदिऊँ हिँड्न बरालिइ, निर्धाको सधै आँसु पिई
ओहदा जति ठूल‌ै रहोस्, बलात्कारी दण्डित हुनैपर्छ

✍

गोम बिक्रम
कल्लाबारी, पाल्पा ।

Comments
Loading...