माइस्थान र चण्डेश्वरी प्रावि बालमैत्री घोषित्

0 280

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङ्गकोटमा रहेको माईस्थान प्राथमिक विद्यालय तथा चण्डेश्वरी प्राथमिक विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गरिएको छ । रम्भा गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउने अभियान अन्तर्गत विद्यालयहरुलाइ बालमैत्री विद्यालय घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले विद्यार्थी प्रति गरिने व्यवहार अबका दिनमा साँच्चिनै बालमैत्री हुनुपर्ने र घरमा परिवारले समेत बालबालिकालाई बालमैत्री व्यवहार गर्नु पर्ने बताए । अध्यक्ष भण्डारीले बालविवाह अभिषापको रुपमा रहेको र अझपनि केही क्षेत्रमा बालविवाहका घट्नाहरु भइरहेकोले सबै अभिभावक बाल विवाहप्रति सजग र सचेत हुनुपर्ने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, शिक्षा अधिकृत मीनादेवी आचार्य, श्रोत व्यक्ति काशीराम बस्याल, वडा अध्यक्ष उमानसिं सारु, बालमैत्री स्थानीय शासन कार्यदलका सदस्य कुश्माखर पाण्डे लगायतले शिक्षा, स्वास्थ्य तथा समुदाय स्तरमा बालबालिकाप्रति गरिएका परिवर्तित व्यवहारले सिंगो गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउन सहयोग पुगेको बताए । कार्यक्रममा विद्यालयलाई प्रमुख अतिथि गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारी तथा शिक्षा अधिकृत मिनादेवी आचार्यले विद्यालयका प्रधानाध्यापक रमा दर्लामी, तोलीसरा गाहा तथा बाल कल्ब अध्यक्ष समीना बि क लाई बालमैत्री विद्यालयको प्रमाणपत्र प्रदान गरेका थिए ।

रम्भा गाउँपालिका भित्रका ४१ वटा विद्यालय मध्ये ३७ वटा विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गरिएको छ । बाल सुलभ वातावरण, स्वास्थ्य र हेरचाह, बालमैत्री व्यवहार, बाल अधिकार, बाल संरक्षण, बाल सहभागीता लगायतका विषयलाई केन्द्रित गरि रम्भा गाउँपालिकाले बालमैत्री गाउँपालिका बनाउने अभियान संचालन गरिरहेको छ ।

Comments
Loading...