माथागढीमा गर्भवतीलाई अण्डा र झण्डा

0 583

पाल्पा । माथागढी गाँउपालिकाले गर्भवती स्वास्थ्य क्षेत्रमा बिभिन्न रचनात्मक कार्यक्रमहरु संचालन गर्दै आएको छ । यो पालिकाले अहिले गर्भवती र महिलालाई अण्डा घरमा हरियो झण्डा कार्यक्रम सञ्चालन गरेको छ । अण्डाले आमा र बच्चालाई पोषण पुरा हुने र घरमा हरियो झण्डाले माथागढी गाँउपालिका भित्र कति घरमा गर्भवती महिला छन् भनेर चिन्न सकिने भएकोले यो कार्यक्रम संचालन गरिएको बताइएको छ ।

गर्भवती महिलालाई अण्डा र घरमा हरियो झण्डा तथा सुत्केरी प्रोत्साहन रकम प्रदान गर्दै आएको गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताउनुभयो । गर्भवतीलाई नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र पोषणयुक्त खानामा ध्यान पुर्याउने भन्दै गाउँपालिकाले नियमित गर्भ जाँच गराउनेलाई अण्डा र सुत्केरी प्रोसाहन रकम वितरण गर्ने अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले स्वास्थ्य क्षेत्र अन्र्तगत गर्भवती र सुत्केरीहरुका लागि बिशेष कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । गर्भ रहेको ३ महिनामा गर्भ जाँचका लागि गर्भवती स्वास्थ्य संस्थामा आउदा अण्डा र झण्डा दिएर पठाउने गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव जिसीले बताउनुभयो । अण्डाले गर्भवतीलाई पोषण दिने र झण्डाले छिमेकीहरुलाई समेत यो घरमा गर्भवती रहिछन् आवश्यक सहियोग गर्नुपर्छ भन्ने भावना जागृत गराउने भएकोले यो अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

संस्थागत सुत्केरी प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले अण्डा र झण्डा अभियानलाई पनि सँगसगै अगाडि बढाएको उहाँले बताउनुभयो । गर्भवती महिलामा गर्भ रहेको सामान्यतया चार महिनादेखि नौ महिनासम्म गर्भ जाँच गर्न आउँदा स्वास्थ्य संस्थामार्फत नै अण्डा वितरण गर्न थालिएको उहाँले बताउनुभयो । आमा सुरक्षा, गर्भवती महिलालाई अण्डा घरमा हरियो झण्डा तथा सुत्केरी प्रोत्साहन रकम हस्तान्तरण कार्यक्रमबाट यहाँका गर्भवतीहरु लाभान्वित भएका छन् ।

गाउँपालिकाले पुर्ण संस्थागत सुत्केरी पालिका घोषणाका लागि बिभिन्न अभियानहरु संचालन गरिरहेको र तथ्यांक संकलनको काम समेत अगाडि बढेको जिसीले बताउनुभयो । माथागढी गाउँपालिकाका बिभिन्न ७ वटा वडामा बर्थिंग सेन्टर सञ्चालनमा रहेको र बर्थिंग सेन्टर मार्फत नै सुरक्षित सुत्केरी सेवा प्रदान गर्दै आएको जिसीले बताउनुभयो ।

संस्थागत सुत्केरी भएका महिलाहरुलाई पालिकाको तर्फबाट रु २ हजार ५ सय बितरण गर्दै आएको जिसीले बताउनुभयो । यसरी रकम हस्तान्तरण गर्दा एकातिर संस्थागत सुत्केरी हुनेहरुको संख्या बढ्ने र अर्कोतर्फ सुत्केरीलाई केही न केही रुपमा भएपनि पोषिलो खानेकुराका लागि सहयोग हुने उहाँले बताउनुभयो ।

Comments
Loading...