मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट सहयोग हस्तान्तरण

0 226

एवत सारु । (रम्भा) पाल्पा
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत रम्भा गाउँपालिकामा विभिन्न सामुदायिक क्रियाकलाप संचालन गरिएको छ । ग्रामीण विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाको वडा नं. १ हुँगीमा रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले शारीरिक अपाङ्गता तथा दृष्टि विहिनहरुको लागि सहयोगी सामग्री हस्तान्तरण गरे ।

गाउँपालिकाले विभिन्न वडामा शारीरिक अपाङ्ग हुनेहरुको लागि ३० वटा ह्वील चियर, दृष्टि विहिनहरुको लागि १० वटा सेतो छडी तथा १० वटा कालो चश्माका साथै १ वटा वैशाखी वितरण गरेको हो । गाउँपालिकाले हुँगीमा २ वटा, फोक्सिङ्गकोटमा ६ वटा, वडा पिपलडाँडामा ७ वटा ह्वील चियर वितरण गरेको हो । यसै गरि हुमीनमा १ वटा, ताहुँमा ९ वटा तथा ५ वटै स्वास्थ्य संस्थामा ५ वटा ह्वील चियर वितरण गरेको छ । यसै गरि दृष्टि विहिनहरुको लागि सेतो छडी तथा कालो चश्मा समेत वितरण गरिएको छ । हुँगीमा २ वटा, फोक्सिङ्गकोटमा ३ वटा, पिपलडाँडामा १ वटा तथा ताहुँमा ४ वटा गरि १० वडा सेतो छडी तथा कालो चश्माका साथै १ वटा वैशाखी वितरण गरिएको छ । वितरण कार्यक्रममा रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले हुँगी निवासी नारायणप्रसाद अर्याललाई ह्वील चियर प्रदान गरे ।

यसै गरि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत किसानहरुको आय आर्जनमा बृद्धि गर्न रम्भा गाउँपालिकाका किसानलाई ८२ वटा प्लाष्टिक टनेल वितरण गरिएको छ । गाउँपालिकाले हुँगी, पिपलडाँडा र ताहुँमा १८÷१८ वटा तथा फोक्सिङ्गकोट र हुमीनमा १४÷१४ वटा प्लाष्टिक टनेल समेत वितरण गरिएको रम्भा गाउँपालिकाका सूचना अधिकारी भक्तुजङ्ग रानाले बताए ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सिफारिस तथा कार्यान्वयन समितिका सदस्य कुविजा बस्यालको अध्यक्षतामा चलेको थियो । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका सहजकर्ता नारायणबहादुर कुमालले स्वागत गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले ग्रामिण विकास कार्यक्रमले रम्भाका वासिन्दा प्रत्यक्ष लाभान्वित भएको र उद्देश्य अनुरुप कार्य गर्न सबैमा आग्रह गरे । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत रम्भा गाउँपालिकामा कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा कार्यक्रम संचालन हुँदै आएको छ ।

Comments
Loading...