यस्तो छ राम्दी सुनगुफाको किंवदन्ती, एक पटक पढ्नैपर्छ

0 75

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–दर्लमडाँडा स्थित ऐतिहासिक एवम् धार्मिक स्थल सुनगुफा क्षेत्र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

कालीगण्डकी किनार रामनदी धाम राम्दी क्षेत्रमा रहेको उक्त गुफाको धार्मिक महत्वबारे उचित प्रसारप्रसार गर्न सके यसलाई देशकै उत्कृष्ट धार्मिक स्थलको रुपमा बिकास गर्न सकिने गुफा क्षेत्र बिकास समितिका व्यवस्थापक बिष्णु प्रसाद न्यौपानेले बताए । उनले भने–“अहिले पनि दैनिक सयौ पर्यटकहरु आउँछन् यसबारे अझ प्रचार हुन सके यहाँ आउने पर्यटकहरुको संख्या अझ बढ्न सक्छ ।”

प्रायः नेपाली धर्मावलम्बीहरु गुफा क्षेत्रमा दर्शन गर्न र आर्शिवाद लिन आउने गरेका छन् । त्यस्तै विदेशी पर्यटकहरु समेत यस क्षेत्रमा आएर फोटो खिच्ने र गुफा परिसरमा रहेका पहराहरुसँगै रमाउँने गरेको पाइन्छ । किंवदन्ती अनुसार बि.सं. १८६५ सालमा तानसेन नजिकैको गोर्खेकोट भन्ने गाउँमा मावलीमा बस्दै आएका केशव भट्टराईले (स्थायी घर छेर्लुङ्ग रहेका उनी बावु आमाको मृत्युपछि मावलीमा बस्दै आएका थिए) पाल्पाका राजा मणिमुकुन्द सेनलाई घोडाको बच्चो दिएवापत राजाले राम्दी क्षेत्रको सुनादी भन्ने ठाउँको जग्गा उनलाई दिएछन् । सुनादी गाउँमै भट्टराईले पशुपालन गर्ने योजना बनाएपछि राजाले गोठ बनाउन समेत सघाई सुनवीर माझी नामक गोठालो राखिदिएछन् ।

गोठालो भने रातको समयमा नजिकैको बगनास गाउँमा भजन गाउँन जादो रहेछ । यो कुरा थाहा पाएपछि केशवले गोठमा निरीक्षण गर्न गएछन् । उनले गाईगोठमा बाघहरुले गाईभैसीलाई पहरा दिएर राखेको देखेछन् । बिहान पख गोठालो फिलिलि गरि उडेर आएछ । त्यसपछि भट्टराईले गोठालोलाई गाली गर्दा म सिद्व हुँ भनी तलतिर गएर त्यही गुफाभित्र पसेछ र त्यही अलप भएछ । पछि गाउँलेहरुले सोही स्थानमा पुजा आजा गर्न थाले । त्यसैको आधारमा सुनसिद्व अर्थात् सुनगुफा नाम रहेको पाइन्छ ।

यसै धारणाका आधारमा बगनासकाली गाउँपालिकाको दलर्मडाँडा, खानीछाँप, पिपलडाँडा, चापपानी लगायतका वडा र स्याङ्गजाका मालुंगा, कृष्णगण्डकी गाविस सहितका स्थानका किसानहरुमा दिउँसोको समयमा दुध दही राख्ने ठेका भाडा छोएमा बिपत्ति आइपर्छ भन्ने मान्यता रहेको छ । गुफामा झण्डै १ सय १० वर्षअघिदेखि निरन्तर अखण्ड धुनी बोल्दै आएको छ । यही स्थानमा पाल्पा, स्याङ्गजा, गुल्मी, अर्घाखाँची जिल्लाका किसानहरुले गाई भैसीको दुध ल्याएर चढाउँदै आएका छन् । यसरी दुध ल्याएर चढाउँदा गाईभैसी निरन्तर ब्याउँछ भन्ने जनबिश्वास रहिआएको छ ।

Comments
Loading...