यस्तो रमाइलो गाउँ जहाँ वर्षमा ४ पटक मारुनी नाचिन्छ

0 78

एवत सारु । (रम्भा) पाल्पा
मगर समुदायमा नाचिने लोपोन्मुख मारुनी नाच रम्भा गाउँपालिका–२, फोक्सिङ्गकोटमा नाचिएको छ । हरिबोधनी एकादशीको अवसर पारेर मारुनी नाचिएको हो । मारुनी नाचमा रानीबास गाउँका युवा, द्धा एवम् महिलाहरुको सहभागिता रहेको थियो । यो नाच यहाँको झर्लेङ रानीबासमा मात्र नाच्ने गरिन्छ ।

सरस्वती देवीको गीत गाएर शुरु गरिने मारुनी नाचमा रामायण, कृष्ण चरित्र, डाँडी, झुमरी, ख्याली गीतहरु दुई समूहमा बाँडिएर गाउने चलन छ । मारुनी नाच्दा एक पटकमा ३ जना देखि १३ जना सम्म मारुनी तथा पुर्छुङ्गेहरु समूहमा नाच्ने गर्छन ।

नाचको मुख्य रौनक नाच नाचिने घरपरिवारलाई दिईने आशिक गित गाउँदा हुन्छ । आयोजक आमा समूह तथा घरमूलीले अक्षेता र दान दिने गरिनुका साथै कन्या केटी तथा आमा समूहका सदस्यहरुले नाच्नेहरुलाई फुल, माला, टिका लगाउने गर्छन ।

भर्खरका युवाहरुलाई फरिया, सारी, चोलीया, कण्ठ, पटुकी आदि परम्परागत भेषभुषाले सजाएर मारुनी तयार गरिनुका साथै धुन, टोपी लगाएर पुरुषलाई पुर्छुङ्गे बनाई नचाउने गरिन्छ । यस पटक गाउँको गाहाटोल माझटोल र तल्लो टोलबाट ५७ हजार ३ सय ३४ रुपियाँ संकलन भएको नाचका रौरा युवा अगुवा देवेन्द्र सारुले बताए । रानीबासमा हरेक वर्ष चार पटक मारुनी नाच गरिने गरिन्छ । यसरी संकलित रकम सामाजिक कार्यमा खर्च गरिदै आएको नाचका रौरा नर बहादुर सिंजालीले बताए ।

Comments
Loading...