यो वर्ष आर्थिक विकासको अभियान वर्ष हो, नेता राना

0 182

पाल्पा । नेपाल कम्युनिष्ट पाटीका केन्द्रीय सदस्य दल बहादुर रानाले आर्थिक विकासको अभियानमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेकपा पाल्पाको क्षेत्रीय समन्वय कमिटी निर्वाचन क्षेत्र नम्बर १ को बैठकमा उनले गएको वर्ष आर्थिक विकासको आधार वर्ष भएको र यो वर्ष अभियान वर्ष भएको बताए । सक्नेले पैसा लैजाने प्रवृत्ति हावी छ उनले भने यसरी लैजाने रकमको दुरुपयोगले जनता निरास छन् । अब जनताको आवश्यकता र मागलाई ख्याल गरेर गाउँगाउँमा विकासका काम गर्न स्थानीय तहका नेता र जनप्रतिनिधिलाई उनको सुझाव छ ।

पूर्वमन्त्री समेत रहेका नेता रानाले संघीयता अझैपनि पूर्ण रुपमा व्यवस्थीत नभएको बताए । मुलुक संघीयतामा गएपछि निर्माण भएको तीन तहको सरकार संचालन प्रक्रिया अभ्यासकै क्रममा छ उनले भने । यो अवस्थामा सरकारबाट अपेक्षित काम हुन नसक्नुलाई अन्यथा लिनु हुदैन् । यसको पूर्णतासँगै जनता अधिकारसम्पन्न भएको महशुस गर्नेछन् उहाँको भनाई छ । यद्यपि विकाससँगै जनतालाई राजनितिक ज्ञान दिनुपर्ने नेता रानाले जोड दिए । विचारले पोख्त नहुँदासम्म विकासले फड्को नमार्ने उनको ठम्याइ छ ।

यस्तै अर्का केन्द्रीय सदस्य तथा नेकपा पाल्पा इन्चार्ज सोम प्रसाद पाण्डेले नेकपा नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार गर्न नसकेको बताउनुभयो । विगतका सरकारले भन्दा अहिलेको सरकारले धेरै राम्रा काम गरेको छ तर प्रचार हुन सकेको छैन् संघीय सांसद समेत रहनुभएका पाण्डेले भन्नुभयो जनताको मर्म बुझेर एक मन एक ढिक्का भएर स्थानीय तहका नेता तथा कार्यकर्ताले काम गर्नुका साथै प्रचार पनि गर्नुपर्छ ।

अर्का केन्द्रीय सदस्य तथा पाल्पा जिल्लाका सह–इन्चार्ज तुलाराम घर्तिमगर बसन्तले संगठन कमजोर भए सत्ता पनि कमजोर हुने बताए । प्रदेश सांसद समेत रहनुभएका घर्तिमगरले पार्टीको नीति र सिद्धान्त सहित विकास निर्माणका काम लिएर जनताको माझमा जान आवश्यक रहेको बताए । जिल्ला अध्यक्ष तथा प्रदेश सांसद नारायण प्रसाद आचार्यले इमान्दार र जिम्मेवार भएर जनताको काममा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

Comments
Loading...