रचनात्मक अभियानले लोकप्रिय बन्दै इन्सेक आवद्ध युवा समूह

0 102

पाल्पा । बगनासकाली गाउपालिका वडा नं. ८ बराङ्दीका १८ वर्षीय जीवन न्यौपानेलाई ३ वर्ष अघिसम्म समूहमा बस्ने, सार्वजनिक समारोहमा आफ्नो कुरा खुलेर राख्ने खासै अभ्यास थिएन । २०७३ सालमा इन्सेकले पाल्पा जिल्लामा सञ्चालन गरेको इएलपि कार्यक्रम अन्र्तगत स्थानीय बेद माध्यमिक बिद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत युवाहरुबीच गठन गरेको बेद युवा समूहमा उनले सचिवको जिम्मेवारी पाए ।

युवा समूहमा आवद्ध भएपछि आफ्नो मात्रै नभएर समूहमा आवद्ध सबै साथीहरुको राम्रो नेतृत्व विकास भएको न्यौपानेले बताए । “युवा समूहमा आवद्ध भएपछि धेरै कार्यक्रमहरुको सञ्चालन गर्ने, कार्यक्रमहरुमा बोल्ने र आफ्नो धारणा राख्ने अवसर प्राप्त भयो । अहिले धेरै नेतृत्व विकास भएको छ ।” उनले भने । इन्सेकले पाल्पा जिल्लामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही कार्यक्रम सुरु हुन भन्दा अगाडि यहाँका युवाहरु यसरी संगठित थिएनन् । कार्यक्रम सुरु भएपछि इन्सेककै पहलमा हामीहरु संकठित भए र रचनात्मक काम गर्न थालेका हौं । न्यौपानेले भने ।

इन्सेकको इएलपि कार्यक्रम अन्र्तगत बेद माध्यमिक विद्यालय बगनासकाली ९ बराङ्दीमा गठन भएको युवा समूहले समुदाय स्तरमा रचनात्मक अभियानमा चलाउदै आएको छ । जसका कारण युवा समूह समुदाय स्तरमा लोकप्रिय भएको छ । समूहका अध्यक्ष बरुण बस्यालले अघिल्लो बर्ष समूहले सामुहिक अदुवाखेती मार्फत अदुवा बिक्रीबाट ५० हजार रुपैया आम्दानी गर्न सफल भएको बताए ।

युवा समूहले बगनासकाली गाउँपालिकाको वडा नं. ८ बराङ्दी न्यौपाने डाडामा ३ रोपनी बारी भाडामा लिई सामुहिक अदुवा खेती गरेको थियो । अदुवा खेतीका लागि आवश्यक तालिम, मल, जग्गा भाडा वापतको रकम र ३ सय केजी अदुवाको बिउ बगनासकाली गाउपालिकाले उपलब्ध गराएको थियो । उक्त बारीमा ८ सय ३४ केजी अदुवा उत्पादन भएको र प्रति केजी ६० रुपैया“का दरले अदुवा बिक्रीबाट आएको रकम ५० हजार बाट युवा समूहले समुदाय स्तरमा रचनात्मक अभियानहरु संचालन गर्दै आएको अध्यक्ष बस्यालले बताए ।

यसबाहेक युवा समूहले समुदाय स्तरमा हरेक बर्ष होली पुर्णिमाको अवसरमा साँस्कृतिक कार्यक्रम तथा चेतनामूलक सडक नाटक प्रदर्शन, बिपन्न परिवारका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । युवा समूहले आगामी कार्यक्रम अन्र्तगत युवा समुहलाई संस्थागत गर्न गाउको बीचमा रहेको सामुदायिक भवनमा वडा कार्यालयसितको समन्वयमा कार्यालय तथा सूचना केन्द्र र पुस्तकालय संचालन गर्ने, युवा सरोकारका विषयमा अन्य सामाजिक अभियानहरु संचालन गर्ने योजना रहेको अध्यक्ष बस्यालले बताए । आगामी दिनमा समेत युवा समूहले कार्ययोजना बनाई समुदाय स्तरमा अझ रचनात्मक अभियानहरु सञ्चालन गर्दै जाने समूहकी उपाध्यक्ष सुकमाया बिकले बताइन् ।

Comments
Loading...