रम्भाको गाउँसभा सम्पन्न, पाल्पा समाचारकर्मी सारु सहित पत्रकार र कर्मचारीहरु पनि सम्मानित

0 72

(रम्भा) पाल्पा
रम्भा गाउँपालिकाको दोश्रो गाउँसभा सम्पन्न भएको छ । गाउँपालिका केन्द्र खोकखोला पिपलडाँडामा रहेको रकमादेवी आधारभूत विद्यालयमा भएको सभामा आगामी आर्थिक वर्ष २०७५।७६ को लागि योजना तथा नीति पारित गर्दै सभा सम्पन्न भएको हो ।

सभामा प्रमुख अतिथि ५ नं. प्रदेश सभासद नारायणप्रसाद आचार्यले मुलुकले नयाँ संघीय संरचना अनुसार केन्द्र, प्रदेश तथा स्थानीय तहको लागि आवश्यक नीति, ऐन, नियम निर्माण गरि विकासका कार्यमा अभ्यास गरिरहेको बताए । रम्भा गाउँपालिकाको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सडक क्षेत्रमा जनप्रतिनिधीको योजना मुताबिक तय गरिएको कार्यक्रमलाई प्रदेश सरकारले समेत सघाउने आचार्यले बताए ।

कार्यक्रममा रम्भा गाउँपालिका उपाध्यक्ष राधादेवी श्रेष्ठले स्वागत मन्तव्य राख्दै गाउँपालिकाले पारित गरेका योजना तथा नीति कार्यान्वयनमा जोड दिईने बताईन । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले चालु वर्षको योजना कार्यान्वयनमा आएका समस्याहरु बताउँदै रम्भा गाउँपालिकामा कर्मचारीको अभाव रहेकोले कर्मचारी व्यवस्थापन गर्नुपर्ने बताए । २ नं वडा फोक्सिङ्गकोटका सचिव भक्तुजङ्ग रानाले कर्मचारी अभावको कारण प्रभावकारी सेवा प्रदानमा समस्या भएको बताए ।

रम्भा गाउँपालिका प्रवक्ता एवम् वडा नं. १ का वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीले रम्भा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सडक, कृषि क्षेत्रमा चालु वर्षमा गरेका कार्यहरुको विवरण प्रस्तुत गर्दै आगामी वर्ष प्राथमिकतामा रहेका कार्यक्रम बारे जानकारी दिए । यसै गरि वडा नं. २ का अध्यक्ष उमानसिं सारु, वडा नं. ३ का अध्यक्ष थमनबहादुर गाहा, वडा नं. ४ का अध्यक्ष भोजबहादुर वि.क तथा वडा नं. ५ का अध्यक्ष खुमकान्त बस्यालले आगामी वर्षका लागि तय गरेको कार्यक्रम बारे जानकारी दिए ।

रम्भा गाउँकार्यपालिका सदस्य भोवीसरा सारु, नानुकुमारी गन्धर्व, विष्णुप्रकाश विश्वकर्मा, ईश्वरीप्रसाद श्रेष्ठ, वडा सदस्य चेतबहादुर सुनारी लगायतले योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिए । कार्यक्रममा शिक्षा शाखा प्रमुख गुनाराम खनाल तथा स्वास्थ्य शाखा प्रमुख महेशप्रसाद आचार्यले विषयगत योजना प्रस्तुत गरे । नेपाल पत्रकार महासंघका प्रतिनिधि मुक्तिप्रसाद न्यौपानेले रम्भा गाउँपालिकाले पत्रकारिता क्षेत्रको विकासको लागि प्राथमिकता दिनुपर्ने बताउँदै नीति तथा योजनामा समीक्षात्मक टिप्पणी प्रस्तुत गरे ।

कार्यक्रममा उत्कृष्ट कर्मचारी सहायक लेखापाल सन्तोष थापा, १ नं. वडा हुँगी स्वास्थ्य चौकीका ईन्चार्ज रेशम पंगेनी, कृष्णगण्डकी माध्यमिक विद्यालयका प्रधानाध्यापक लेखनाथ भण्डारीलाई नगद पुरस्कार, सम्मान पत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको थियो । यसै गरि रम्भा गाउँपालिकामा क्रियाशिल पत्रकारहरु पाल्पा समाचारपत्रका समाचारदाता एवत सारु सहित मुक्तिप्रसाद न्यौपाने, रामप्रसाद भण्डारी, गोपीकृष्ण बस्याल, खुमबहादुर पौडेललाई सम्मान पत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको थियो । शैक्षिक सत्र २०७४ को एसइइ परीक्षामा उत्कृष्ट विद्यार्थी निशान पन्त, अनिता अर्याल कक्षा ८ को परीक्षामा उत्कृष्ट रोशन थापा, आभा श्रेष्ठ तथा स्मृति अर्याललाई समेत नगद, सम्मान पत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रम रम्भा गाउँपालिकाका सूचना अधिकारी रुकलाल भट्टराईको संचालन तथा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीको अध्यक्षतामा चलेको थियो ।

Comments
Loading...