रम्भाले बिदेशबाट फर्कन चाहनेको लिस्ट निकाल्यो, क्वारेन्टाइन ब्यवस्थापन गर्दै

0 169

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिकाले सबै वडामा क्वारान्टाईन निर्माण गरेको छ । गाउँपालिका भित्रका ३ हजार ४३१ जना वैदेशिक रोजगारीमा रहेकाहरु स्वदेश फर्कन चाहेको तथ्याङ्क आएपछि रम्भा गाउँपालिकाले सबै ५ वटै वडामा क्वारान्टाईन स्थापना गरेको हो ।

गाउँपालिकाले वडा नं. ४ हुमीनको जनहित भगवती माविमा ३० शैयाको, वडा नं ३ पिपलडाँडाको अमृत पब्लिक माविमा ३० शैयाको तथा वडा नं. २ फोक्सिङ्गकोटको भवानी प्राविमा २० शैयाको क्वारान्टाईन स्थापना गरेको हो । यस अघि गाउँपालिकाले वडा नं. १ हुँगीको जनकल्याण माविमा १० शैया तथा भृकुटी प्राविमा २० शैयाको एवम् वडा नं. ५ ताहुँको रम्भा माविमा ५० शैयाको क्वारान्टाईन स्थापना गरेको थियो ।

गाउँपालिकाले कोरोना भाईरस सम्बन्धी क्वारान्टाईन संचालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड अनुरुप १६० शैयाको सुरक्षित र सुविधायुक्त क्वारान्टाइन स्थापना गरेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । निर्माण गरिएको क्वारान्टाईनमा भौतिक पूर्वाधार, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको व्यवस्थापन, बासस्थान तथा बन्दोबस्तीको व्यवस्थापन एवम सरसफाई सम्बन्धी व्यवस्थापन गरिएको अध्यक्ष भण्डारीले बताए ।

देशभर कोरोना भाईरसको संक्रमण बढ्दै गएको परिप्रेक्षमा भावि परिस्थितीलाई मध्येनजर गर्दै क्वारान्टाईन स्थापना गरिएको हो । विदेशमा रहेका नागरिकलाई घर फिर्ताल्याउने सरकारको कार्यक्रम कार्यान्वयन भएमा क्वारान्टाईन स्थापनाले महामारी रोकथाम तथा नियन्त्रण गर्न सघाउ पुग्ने छ ।

रम्भा गाउँपालिका भित्रका ३ हजार ४ सय ३१ जना नागरिक स्वदेश फिर्ता आउन चाहेको तथ्याङ्क गाउँपालिकाले निकालेको छ । जसमा १ हजार ५६५ जना भारतबाट र १ हजार ८६६ जना अन्य मुलूकबाट स्वदेश फिर्ता आउन चाहेका छन् । गाउँपालिकाले वडा नं. १ हुँगीका ४२० जना भारतबाट र ८४६ जना अन्य मुलुकबाट गरि १ हजार २६६ जना वडा नं. २ फोक्सिङ्गकोटका ५८२ जना भारतबाट र ९४७ जना अन्य मुलुकबाट गरि १ हजार ५२९ जना तथा वडा न.. ३ पिपलडाँडाका २०८ जना भारतबाट तथा ५८२ जना अन्य मुलुकबाट गरि ७९० जना स्वदेश फर्कन चाहेको जनाएको छ । यसैगरि वडा नं. ४ हुमीनका १४३ जना भारतबाट तथा ३७३ जना अन्य मुलुकबाट गरि ५१६ जना तथा वडा नं. ५ ताहुँका २१३ जना भारतबाट तथा ६८३ जना अन्य मुलुकबाट गरि ८९६ जना स्वदेश फिर्ता हुन चाहेका छन् ।

रम्भा गाउँपालिकाले कोरोना भाईरसको संक्रमणबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन स्वअनशासित भई पूर्णरुपमा ईमान्दारीका साथ लकडाउनको पालना गर्न आग्रह गर्दै आएको छ ।

Comments
Loading...