रम्भा नमूना माध्यमिक विद्यालयको वार्षिकोत्सव सम्पन्न

0 2,290

एवत सारु । (रम्भा) पाल्पा
रम्भा नमूना माध्यमिक विद्यालय रम्भा ५ ताहुँ पाल्पाले ७० औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले सामुदायिक विद्यालयका विद्यालयहरुको गुणस्तर बृद्धिको लागि नीतिगत रुपमा नै सुधार गरि ऐन नियममा सुधार गर्नुपर्ने र समुदायको सक्रिय सहभागीता र चुस्तदुरुस्त प्रशासनले मात्र संभव हुने बताउँदै रम्भा नमूना विद्यालयले पाल्पाकै नाम राखेको बताउनु भयो ।

विशिष्ट अतिथि रम्भा गाउँपालिकाका उपाध्यक्ष राधादेवी श्रेष्ठले गाउँपालिकाले विद्यालयको शैक्षिक क्षेत्र सुधारको लागि रम्भा गाउँपालिकाले दिवा खाजालाई कक्षा ९ सम्मका विद्यार्थीलाई विस्तार गरेको, विद्यार्थी तथा शिक्षक एवम कर्मचारीको दुर्घटना बिमा गरेको, स्थानीय पाठ्यक्रम लागु गरेको बताउनु भयो । अर्का विशिष्ट अतिथि शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रमुख महेन्द्र सुवेदीले शैक्षिक क्षेत्रको सुधारको लागि विद्यालय प्रशासन, विद्यार्थी र अभिभावको उत्तिकै जिम्मेवार रहेको बताउनु भयो । रम्भा गाउँ पालिका शिक्षा शाखा अधिकृत मीनादेवी आचार्यले रम्भा गाउँपालिकाका विद्यालयहरुलाई नमूना बनाउन एक शिक्षक एक ल्यापटप, विद्यार्थी संग करेसा बारी, किशोरी आत्मरक्षा तालिम लगायतका कार्यक्रमले सघाएको बताउनु भयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तुल्सीराम अर्यालले २ करोड ५७ लाख १६ हजार रुपिया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक, आर्थिक तथा भौतिक प्रगति विवरण सुनाउनु भएको थियो । विद्यालयको प्रगतिको कामना गर्दै विद्यालयका भूतपूवर््ा विद्यार्थी हुमबहादुर सुनारी, डा. विकास पन्थी, खुमबहादुर पौडेल, दुर्गा प्रसाद अधिकारी, बसन्त राज श्रेष्ठ लगायतले विद्यालयको प्रगतिको कामना गर्दै शुभकामना दिनु भएको शिक्षक शंकरप्रसाद बस्यालले बताउनु भयो ।

कार्यक्रममा भूतपूर्व प्रधानाध्यापक, शिक्षक, कर्मचारीहरुलाई सम्मान गरिएको थियो । विद्यार्थीहरुले बिचबिचमा रमाईलो साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यार्थीहरु मैना गन्धर्व, विनायक केसी तथा चन्द्रशेखर दर्जीको संचालनमा चलेको कार्यक्रम विद्यालय व्यवस्थपन समितिका कार्य वाहक अध्यक्ष खुमकान्त बस्यालको अध्यक्षतामा चलेको थियो ।

Comments
Loading...